close

नीति तथा कार्यक्रमको खाका कोर्न विज्ञसँग सुझाव लिँदै गोरखाका स्थानीय तह

नीति तथा कार्यक्रमको खाका कोर्न विज्ञसँग सुझाव लिँदै गोरखाका स्थानीय तह

Trulli
ADVERTISEMENT

गोरखा। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट ल्याउने समय नजिकिँदै गर्दा जिल्लाभित्रका स्थानीय तहले विषयगत विज्ञसँग छलफल र अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्न थालेका छन् । 

पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र धार्चे गाउँपालिकाले आगामी आर्थिक वर्षको कार्यक्रम निर्माण गर्न विज्ञहरुसँग छलफल गरिसकेका छन् भने गोरखा नगरपालिकाले विज्ञसम्मेलनका लागि  तयारी गरिरहेको छ ।

उक्त नीति तथा कार्यक्रमलाई अझै कसरी जनमुखी र प्रभावकारी बनाउन सकिन्छ भनेर सबैपक्षसँग सुझाव लिन थालिएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए। काठमाडौंमा विज्ञहरुको भेला बोलाएर आगामी नीति तथा कार्यक्रम निर्माण गर्दा कुन क्षेत्रलाई प्राथामिकता दिने र कस्तो खालको कार्यक्रम ल्याउँदा विकास र सम्बृद्धिलाई तीव्र गतिमा अगाडि लैजान सकिन्छ भनेर सुझाव सङ्कलन गरिएकोे उनको भनाइ थियो । 

‘नीति तथा कार्यक्रमलाई सकेसम्म जनमुखी र प्रगतीशील बनाउनुपर्छ भन्ने हाम्रो सोच रहेको छ,’ अध्यक्ष बन्जराले भने, ‘त्यसका लागि विषयगत विज्ञहरुको सुझाव लिँदा उपयुक्त हुन्छ भन्ने लागेर काठमाडौंमा भेला गरी सुझाव सङ्कलन गरेका हौँ थुप्रै राम्रा सुझावहरु आएका छन् त्यसलाई गहनरुपले अध्ययन गरेर सम्भावित र प्राथामिकताका आधारमा कार्यान्वयन गर्ने हाम्रो योजना छ ।’

छलफलका क्रममा विज्ञबाट नीति तथा कार्यक्रम निर्माण गर्दा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासमा प्राथामिकता दिएर कार्यक्रम निर्माण गर्न सुझाव आएको उल्लेख गर्दै अध्यक्ष बन्जराले अझै वडा–वडाबाट पालिकावासीसँगसमेत सुझाव लिएर आगामी आर्थिक वर्षमा थप प्रभावकारी नीति तथा कार्यक्रम ल्याउने तयारीमा गाउँपालिका रहेको बताए। 
पालुङटार नगरपालिकाका प्रमुख विवस चिन्तनले विज्ञहरुसँग छलफल गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि नगरपालिकाभित्र रहेको थुप्रै सम्भावनाबारे खोजी गरिएको बताए। 

छलफलमा सहभागी विज्ञहरुको भूगोलको अवस्था हेरेर कहाँ के गर्न सकिन्छ भन्ने टुङ्गो लगाएर मात्र जग्गा वर्गीकरणको थालनी गर्नु उपयुक्त हुने सुझावसमेत आएको उनको भनाइ थियो  । विज्ञहरुबाट किसानलाई व्यावसायिक कृषि पेसामा प्रेरित गर्ने कार्यक्रम ल्याउन तथा स्थानीय उत्पादनलाई सजिलै बजारसम्म पु¥याउन सक्ने खालका कार्यक्रम निर्माण गर्न सुझाव दिइएकाले प्राप्त सुझावलाई कार्यान्वयन गर्दै लैजाने नगरप्रमुख चिन्तनले बताए। 

धार्चे गाउँपालिकाले पनि नीति तथा कार्यक्रम निर्माणका लागि विज्ञसहित  काठमाडौंमा बस्दै रहेका धार्चेवासीसँग रायसुझाव सङ्कलन गरेको गाउँपालिकाको उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन्। धार्चेको विकासको सम्भावनाको खोजी गर्न र आगामी अर्थिक वर्षको कार्यक्रममा समेट्नुपर्नेमा सुझाव लिइएको उनले  बताइन्। 
त्यस्तै हाइड्रोपावरको विकास पनि धार्चेको आर्थिक सम्बृद्धिको एउटा सम्भावना भएकाले त्यसतर्फ जोडदिनुपर्नेमा विज्ञहरुको सुझाव थियो  । 
गोरखा नगरपालिकाले पनि नीति तथा कार्यक्रम निर्माणका लागि विज्ञ सम्मेलन गर्ने लागि तयारी गरिरहेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय सरकारले आगामी आर्थिक वर्षको अनुमानित आयव्याय प्रस्तुत गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।