close

चैतमै सकिए ९५ प्रतिशत योजना

चैतमै सकिए ९५ प्रतिशत योजना

Trulli
ADVERTISEMENT

बागलुङ। चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । 

जैमिनीमा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत काम सकिएको छ । बाँकी केही ठूला आयोजनाको काम चलिरहेका छन् । बहुवर्षे कार्यक्रमको भुक्तानी दिन बाँकी छ । नगर र वडास्तरका सबै योजनाको काम चैत मसान्तभित्रै सकिएकाले कर्मचारी र जनप्रतिनिधि फुर्सदिला भएका हुन् । जैमिनीले चालु आवमा विनियोजन भएका कार्यक्रम सम्झौताका लागि मङ्सिर मसान्तको समय तोकेको थियो । 

केही ढिलागरी सम्झौता भएकासमेत चैत मसान्तमा अधिकांश योजनाको भुक्तानी फरफारकको काम सकिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए। ‘नगरस्तरका झण्डै चार सय योजनामध्ये ९५ प्रतिशतको काम सकिएर फरफारक भएको छ’, गिरी भन्छन्, ‘समपुरकका केही योजना बाँकी छन्, बहुबर्षे योजनाको कामबाहेक सबै काम सकेका छौँं ।’

सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भइरहेका तीन सडक र एक खानेपानी आयोजनाको काम चलिरहेको योजना अधिकृत प्रेम सापकोटाले बताए। त्यो बाहेक पाँच वटा झोलुङ्गे पुल बनाउने योजना सञ्चालनमा छन् । गत वर्षका गरी २५ विद्यालय भवन निर्माणाधीन छन् ।

 राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बनिरहेका विद्यालय भवनमध्ये चारवटा भवनको काम सकिएर फरफारक भएका छन् । झोलुङ्गे पुल, विद्यालय भवन र समपुरकका सडक र खानेपानीबाहेक सबै योजना कार्यान्वयन सम्पन्न भएका छन् । असारको मसान्त नजिकिँदै गर्दा भीडभाड हुने नगर कार्यपालिकाको कार्यालयमा यो वर्ष भीड हुने छैन । ‘आगामी वर्षको तयारीका लागि पर्याप्त समय उपलव्ध भएको छ, असारे विकास अन्त्य प्रयास थालेका हौँं, केही हदसम्म सफल भएका छौँ’, नगर उपप्रमुख हरिहर शर्माले भने, ‘मङ्सिर र चैत मसान्तको समयसिमाले काम द्रुत भए ।’ उपभोक्ता समितिबाहेक ठेक्कामा गर्नुपर्ने काममा भने समयसिमा आयोजना सम्झौताकै समयमा तोकिने हुनाले त्यसको प्रभाव नपरेको शर्माले बताए।

जैमिनीका दशवटै वडास्तरका योजनाको काम सकिएको छ । कार्यक्रम सम्झौता नै हुन नसकेका केही योजनाको रकमान्तर गरेर काम भइरहेको गिरी बताउँछन्। ‘वडामा पनि हामी लक्ष्यको नजिक छौँ, रकमान्तर भएकाबाहेक सबै काम सकिए’, उनले भने, ‘उपभोक्ता पनि उत्साहित भएर काममा लाग्नुभएकाले यो सफल भएको हो ।’

नगरपालिकाले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान र नगरको सञ्चितकोष लगायत परिचालन गरेर योजनाको भुक्तानी समयमै दिएको हो । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाट र समानीकरण अनुदान कमी आएमा ठूला योजनामा असर पर्ने प्रमुख प्रशासकीय अधिकृत गिरी बताउँछन्।