close

वडावडामा पुगेर याेजना संकलन गर्दै पाेखरा सरकार

वडावडामा पुगेर याेजना संकलन गर्दै पाेखरा सरकार

Trulli
ADVERTISEMENT

कास्की ।  पाेखरा महानगरपालिकाकाे वडा नम्बर ६ मा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । 

योजना तर्जुमाको चरणमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार लगायतका सवालहरूमा स्थानीयहरूको सरोकार र सुझावलाई समेत सम्बोधन गर्ने गरी महानगरपालिकाका प्रमुख धनराज आचार्य यसलाई अभियानको रूपमा सुरुवात गरेका हुन् । 

सो क्रममा पोखराको गहना फेवातालको सौन्दर्यीकरण सहित संरक्षण, उज्यालो बदाम अभियान, वसुन्धरा पार्क, कोमागाने पार्क, हिमागृह, वडा भवन, स्वास्थ्य केन्द्र, सिमसार रामसार क्षेत्रको संरक्षण, खानेपानी, फोहोर मैला व्यवस्थापन, पर्यटन सूचना केन्द्र, शिक्षा लगायतका महत्त्वपूर्ण विषयहरूमा गहन छलफल सहित अन्तरक्रिया गरिएको छ । 

महानगरपालिकाका सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि वर्तमान नेतृत्व तत्पर रहेको बताउँदै उनले महानगरमा विभिन्न दातृ निकायहरुको सहयोगमा २३ अर्ब बढीको लगानीमा नयाँ परियोजनाहरू सञ्चालनको तयारीमा रहेको बताए । सुस्त प्रायः बनेको पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगको समन्वयलाई महानगरको नयाँ नेतृत्वले तदारुकताका साथ पुनर्स्थापित गरी अरबौँ रुपैयाँ लगानीको वातावरण तयार गरेको उनले बताए । 

समृद्ध महानगर निर्माणका लागि नयाँ बन्ने योजनाहरू समेत परिणाममुखी बन्न आवश्यक रहेको उनले बताए। उनका अनुसार वडामा हुने योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले वडा वडामा यस्तो प्रकारको कार्यक्रम गर्न लागिएको हो । समग्र पोखराको समुचित विकास नयाँ नेतृत्वको स्वार्थ हुने भन्दै उनले यस अभियानमा हातेमालो गर्न महानगरवासीलाई आग्रह समेत  गरे ।