close

गोदावरीको भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

गोदावरीको भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

Trulli
ADVERTISEMENT

ललितपुर। राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिकाको वडा नं ७ मा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आज आइतबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको उपस्थितिमा आयोग जिल्ला समिति ललितपुरले १४ भूमिहीन परिवारलाई निस्सा वितरण गरेको हो । 

भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार उपत्यकामै पहिलो पटक गोदावरी नगरपालिकाको वडा नं ७ देविचौरमा तीन जना भूमिहीन दलित सहित १४ परिवार भूमिहीनलाई निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले यसअघि जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेको थियो ।

‘हामीले आवश्यक प्रक्रिया सम्पन्न गरी ललितपुरमा बागमती गाउँपालिका र गोदावरी नगरपालिका वडा नं ७ का समेत गरी एक सय आठ भूमिहीनलाई निस्सा वितरण गरेका छौँ । निस्सा उपलब्ध भएपछि पुर्जा वितरणका लागि आधा काम सम्पन्न भएको मानिन्छ’, संयोजक महर्जनले भने। 

त्यस अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए। 

‘आज यस नगरपालिकाको वडा नं ७ मा निस्सा वितरणको काम सम्पन्न भएको छ, भूमि आयोगसँगको समन्वयमा हामी दुई महिनाभित्र नगरका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्छौं । काम द्रुत गतिमा अगाडि बढ्छ, सम्भव भएसम्म दसँैअगावै पुर्जा वितरणको कामलाई अगाडि बढाउने छौँ’, नगरप्रमुख महर्जनले भने।