close

बिन्दबासिनीमा अझै गठन गरिएन बजार अनुगमन समिति

विकासको कार्यमा छैन स्थानीयको गुनासो

बिन्दबासिनीमा अझै गठन गरिएन बजार अनुगमन समिति

विकासको कार्यमा छैन स्थानीयको गुनासो

Trulli
ADVERTISEMENT

पर्सा  - बिन्दबासिनी गाउँपालिकामा अझै पनि बजार अनुगमन समिति गठन भएको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाइ भएपनि गाउँपालिकामा समिति गठन भएको छैन ।

दोस्रो कार्यकालको लागि निर्वाचित जनप्रतिनिधिको १५ महिने कार्यअवधि सकेपनि बजार अनुगमन समिति गठन नभएको गाउँपालिकाकी उपाध्यक्ष ज्योतिदेवी चौरासियाले बताइन् । उनले गाउँपालिकामा बजार क्षेत्र नभएकोले समितिको आवश्यकता नभएको पालिकाखबरलाई बताइन् । 

टेलिफोनमार्फत सम्पर्कमा आएकी  उपाध्यक्ष चौरासियाका अनुसार पालिकाभित्र ग्रामीण क्षेत्र बढी भएको र बजार क्षेत्र नभएकाले समिति गठन नभएको हो । ‘हाम्रो दोस्रो वर्षको कार्यकाल (हालसम्म) बजार अनुगमन समिति गठन भएको छैन। अर्को वर्ष गठन गरिने छ,’ उनले भनिन्, ‘हाम्रो ठूलो बजार छैन । सामान्य पसल मात्रै हो । ग्रामीण क्षेत्र बढी छ ।’

उनले सामान किनमेलको लागि छिमेकी पालिकाको बजारमा जाने बताइन् । ‘यहाँका स्थानीय बासिन्दा कि त पोखरिया बजार जान्छन् कि त विरगन्ज बजार जान्छन् । अधिकांश विरगन्ज जान्छन्,’ उनले भनिन्, 'यहाँ खासै बजार नभएकाले समिति गठन गरिएन ।' आवश्यकता परेसँगै आगामी वर्ष बजार अनुगमन समिति गठन गरिने उनले पालिकाखबरलाई जानकारी दिइन् । 

 उनले विकास निर्माण कार्यको निगरानीका लागि अनुगमन समिति गठन भएको जानकारी दिइन् । समितिमार्फत पालिका क्षेत्रमा भइरहेको विकास निर्माणको अनुगमन गरी आवश्यक निर्देशन दिने गरेको उनको अनुभव छ । 

‘विकास निर्माण कार्यको अनुगमन गर्न इन्जिनियर र योजना शाखाका कर्मचारीलाई सँगै लिएर जान्छौँ,’ उनले भनिन्, ‘शाखाको कर्मचारीले योजनाको लगानी, मापदण्ड, सम्पन्न मितिसहितको फाइल लिएर जानुहुन्छ ।' सोहीको आधारमा अनुगमन गरिने उनले बताइन् । 

तर हालसम्मको अनुगमनमा कुनै पनि कारबाही नभएको उनले बताइन् ।  ‘अनुगमनमा अहिलेसम्म कसैलाई कारबाही गरेका छैनौँ । काम राम्रो भइरहेको छ । कसैको गुनासो आएको छैन । अनुगमन गर्न गएको ठाउँमा रामै  काम भइरहेको छ ।’ गाउँपालिका क्षेत्रमा उपभोक्ता समिति गठन गरेर नाला, सडक निर्माण तथा मर्मतसम्भारको कार्य भइरहेको छ ।  

विकास निर्माण कार्यमा बदमासी भएमा वा केही गलत भएमा आफूलाई गुनासो गर्न स्थानीय बासिन्दालाई अनुरोध गरेको उनले बताइन् । ‘तरपनि हालसम्म कुनै गुनासो आएको छैन,’ उनले भनिन्, ‘तर कहिलेकहीँ निर्माण कार्य ढिलो भयो छिटो गराउन  अनुरोध भने आउने गरेको छ ।’