close

अभिमुखीकरणपछि कर्मचारी र जनप्रतिनिधिको कार्यशैली फेरियो

अभिमुखीकरणपछि कर्मचारी र जनप्रतिनिधिको कार्यशैली फेरियो

Trulli
ADVERTISEMENT

सिन्धुली - स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध अधिकांश स्थानमा राम्रो छैन । सम्बन्धलाई सुमधुर बनाउनका लागि कुनै प्रयास पनि गरिँदैन । 

तर, सिन्धुलीको फिक्कल गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्धलाई कसरी सुमधुर बनाउने भन्नेबारे  अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिलाई सकारात्मक सोच र एक आपसको सुमधुर सम्बन्ध स्थापित  गर्न तथा आ-आफ्ना काम कर्तव्य र अधिकारको विषयमा एक दिने अन्तरक्रिया  गरेको हो ।

गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध कायम गरी सेवा प्रवाहमा सहजता ल्याउनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । 

गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारका अनुसार पालिकाको कर्मचारी र जनप्रतिनिधिको कार्यदक्षता अभिवृद्धि गर्न, कुशलता र सुशासन कायम गर्नको लागि सो कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाले सो कार्यक्रम समयसमयमा गर्दै आएको उनले बताइन् । 

पालिकाभित्र कार्यरत कर्मचारी र जनप्रतिनिधिलाई आफ्नो काम कर्तव्य, हौसला प्रदान तथा कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध सुधार गर्नको लागि सो कार्यक्रम गरिएको उनले पालिकाखबरलाई सुनाइन् ।  

‘जनताको समस्या आएपछि जनप्रतिनिधिलाई कसरी हुन्छ चाँडै काम सकाउ भन्ने हुन्छ । तर कर्मचारीले कानुन बमोजिम गरी ढिला सुस्ती गर्ने हुन्छ,’ उनले भनिन्, ‘काम ढिला भएपछि सेवाग्राही जनप्रतिनिधि र कर्मचारीसँग आक्रोसित हुन्छन् । त्यसको समाधान कसरी गर्ने भन्ने हो ।’ सोही विषयमा विवाद उत्पन्न हुन नदिनको लागि कार्यक्रमको आइवजन गरिएको उनले बताइन् । 

उनले कर्मचारी र जनप्रतिनिधि सबैजना सेवक हौँ भन्ने मानसिकता विकास गर्नको लागि सो तालिम गरेको बताइन् । जनतालाई सेवा दिनको लागि सहयोगी हुनुपर्ने, छिटो सेवा दिने, पदीय भूमिका अनुरुप काम गर्नुपर्नेबारे जानकारी दिनको लागि कार्यक्रम सक्षम भएको उनले सुनाइन् । 

अभिमुखीकरणमार्फत दुवै पक्षलाई काम र कर्तव्यबारे जानकारी हुने भएकोले कर्मचारी र जनप्रतिनिधिको सामान्य मनमुटावसमेत हट्ने उनले बताइन् । 

कार्यक्रम गरेसँगै पालिकाभित्रको कर्मचारी र जनप्रतिनिधिको कार्यशैलीमा परिवर्तन आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताए । उनले कार्यक्रममार्फत पदीय मर्यादाभित्र रहेर सेवाग्राहीको अपेक्षाबारे समेत जानकारी भएको बताए । 

‘कर्मचारीलाई कार्यपालिकीय कानुनको बारेमा जानकारी दिनको लागि हो,’ उनले भने । उनले पालिकाभित्रका कर्मचारी र जनप्रतिनिधिबीच  असमझदारी नभएको बताए । 

‘हाम्रोमा असमझदारी छैन । मेलमिलाप नभएको पनि देखिदैँन । यहाँ प्रक्रियागत ग्यापिङ, कुन काम कतिसम्म कर्मचारीले गर्ने, कुन काम कतिसम्म जनप्रतिनिधिले गर्ने? सेवा प्रवाह गर्दा फ्रन्टलाइनमा को हुने कसरी सेवा प्रवाह गर्ने नैतिक रुपमा कसरी अगाडि बढ्ने भन्ने कुरा हो,’ उनले भने ।  

उनले जनप्रतिनिधि र कर्मचारीले गर्दै आएको कार्यशैलीको स्वमूल्यांकन पनि भएको बताए । ‘स्थानीय तहका जनप्रतिनिधिले बजेटिङमा कस्तो काम गर्नुभयो । कस्तो काम गर्नुपर्ने रहेछ । कस्तो गर्नुहुदैन थियो,’ उनले भने, ‘कार्यक्रम पछि कर्मचारीले कसरी बोल्ने, के गर्ने अतिथिलाई कसरी सम्पर्क गर्ने, कसरी विदाई गर्ने कस्तो भाषा प्रयोग गर्ने, कस्तो लुगा लगाउने भन्ने कुरामा एडभान्स भएको छ ।’

जनप्रतिनिधि र कर्मचारीलाई पूर्वसचिव कृष्णहरी बास्कोटाले अभिमुखीकरण गरेको उनले बताए । बजेटले भ्याएसम्म आगामी दिनमा पनि वडाको कर्मचारी, शाखागत कर्मचारी तथा जनप्रतिनिधिलाई सो कार्यक्रम गरिने उनले बताए ।