close

कानुनी परामर्श दिन घुम्ती शिविर

कानुनी परामर्श दिन घुम्ती शिविर

Trulli
ADVERTISEMENT

भोजपुर - पौवादुङमा गाउँपालिकाले कानुनी घुम्ती शिविर सञ्चालन गरिएको छ ।  स्थानीय नागरिकलाई कानुनी विषयमा जानकारी दिनको लागि गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेको हो । 

गाउँपालिकाको अनुसार ग्रामीण भेगका विपन्न, गरिब, सिमान्तकृत, अल्पसङ्ख्यक नागरिकमा न्यायको पहुँच विस्तार गर्न शिविर सञ्चालन गरिएको हो । 

शिविरमार्फत राज्यकातर्फबाट पाउने निःशुल्क कानुनी सेवा तथा कानुनको अज्ञानताका कारण आइपर्ने समस्याका विषयमा जनस्तरसम्म जानकारी दिएको छ । कानुनी सेवालाई सहजरुपमा ग्रामीण भेगसम्म पु¥याउने लक्ष्यले घुम्ती शिविर सञ्चालन गरिएको गरिबी निवारण तथा ग्रामीण विकास कार्यक्रम (पर्डेप) नेपाल धनकुटाका परियोजना संयोजक खिन्द्र अधिकारीले जानकारी दिए । यो परियोजनाअन्तर्गत भोजपुरको पौवादुङमा र धनकुटाको सहिदभूमि गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

'जनस्तरसम्म कानुनी सेवाका विषयमा जानकारी दिन शिविर सञ्चालन गरिरहेका छौँ', उनले भने, 'शिविरमार्फत सर्वसाधारणलाई कानुनी सेवासँगै उनीहरुको समस्या समाधनमा हामीले आवश्यक सहयोग गरिरहेका छौँ । जनस्तरमा कानुनको अज्ञानता कारण धेरै खालका समस्या देखिएका छन् ।'

गाउँपालिकाका सबै छ वडामा रहेका स्थानीयको कानुनी समस्या पहिचान गरेर शिविर सञ्चालन भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । स्थानीयमा कानुनी जटिलताका कारण देखिएका विभिन्न समस्याको समाधनमा विभिन्न निकायसँग समन्वय तथा सहकार्य गरिरहेको उनको भनाइ छ ।

'कानुनी ज्ञानको अभावले स्थानीयले समस्या भोगेको अवस्था पनि छ', अध्यक्ष राईले भने, 'नागरिकका त्यस्ता समस्याको पहिचानसँगै समाधानमा पहल गरिरहेका छौँ । यो कानुनी घुम्ती शिविर यसैमा केन्द्रित छ ।'

कानुनी घुम्ती शिविरलाई वडास्तर तथा टोलस्तरसम्म सञ्चालन गर्दा ८८ वटा समस्या पहिचान भएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक ज्योत्सना राईले बताए । फेला परेका ८८ वटा समस्यामध्ये ११ वटाको फट्र्योट गरिएको उनको भनाइ छ ।

'पर्डेप नेपालसँगको सहकार्यमा हामीले सञ्चालन गरेको शिविरमार्फत ८८ समस्या फेला परेको अवस्था छ', उपाध्यक्ष राईले भने, '११ वटाको समाधन भएका छन् । कानुनी सेवाको अभावको कारण जनस्तरमा धेरै जटिल समस्या पनि फेला परेको अवस्था छ ।'

स्थानीयस्तरमा बढीमात्रामा पञ्जीकरणसम्बन्धी समस्या देखिएको अधिवक्ता तथा नेपाल बार एशोसियसन भोजपुरका सचिव तीर्थकुमार राईले बताए । स्थानीयमा कानुनको अज्ञानताका कारण आइपरेका समस्याको समाधानका विषयमा शिविरमार्फत पहल गरिएको उनको भनाइ छ ।

'कानुनको अज्ञानता कसैका लागि क्षम्य हुँदैन', उनले भने, 'तर कानुनका बारेमा केही जानकारी नहुँदा स्थानीयमा समस्या छ । हामीले घुम्ती शिविरबाट उनीहरुलाई आवश्यक जानकारीसमेत प्रदान गरेका छौँ ।'

गाउँपालिकावासी नागरिकलाई न्यायमा पहुँच विस्तार गर्न कानुनी घुम्ती शिविरमार्फत सेवा दिइएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । कानुनी परामर्शपछि जिल्लामा गएर मुद्दा दर्ता तथा अन्य आवश्यक कामसँगै आवतजावतका लागि खर्चसमेत दिइने उनको भनाइ छ । 'सुशासनको एउटा पाटो नागरिकमा न्यायमा पहुँच पनि हो', उनले भने, 'नागरिकमा न्यायको पहुँच विस्तार गर्न शिविरमार्फत आवश्यक सहयोग गर्दै आएका छौँ ।' 

कानुनका विषयमा सामान्य जानकारी नहुँदा आइपर्ने समस्याको पहिचानसँगै आवश्यक सहयोग गर्दै आएको पर्डेप नेपालका कार्यकारी निर्देशक मिनप्रसाद सुवेदीले जानकारी दिए । यो कार्यक्रममार्फत कानुनी सेवा लिनका लागि आवश्यक सहयोग गरिएको उनको भनाइ छ । 

'यहाँ सर्वसाधारण नागरिकले भोगेका कानुनी समस्या पहिचान गरेर त्यसको समाधानमा लागेका छौँ', उनले भने, 'धेरै जनाको कानुनी समस्या समाधानमा पहल गरेका छौँ ।' उनीहरुलाई आवश्यक परामर्शसँगै अन्य सहयोग गर्दै आएको अवस्था पनि छ । यो कार्यक्रम भोजपुर र धनकुटाका दुई स्थानीय तहमा युएनडिपीको आर्थिक सहयोग र कानुन, न्याय तथा संसदीय मन्त्रालयसँगको सहकार्यमा सञ्चालन भइरहेको परियोजना सञ्चालक संस्था पर्डेप नेपालले जनाएको छ ।