close

फुटपाथकाे रुख काट्नेलाई १५ हजार जरिवाना

फुटपाथकाे रुख काट्नेलाई १५ हजार जरिवाना

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिवाना गरेको छ । महानगरले पोखरा–८ न्यूरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो ।

फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । पसल छेकिएको जनाउँदै अनुमतिबिना रुख नै काटेका उनीहरूलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए ।

महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखको हाँगा अनुमतिबिना कटान गरेमा प्रतिहाँगा पाँच हजार रुपैयाँ र रुख नै काटेमा  १५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै पोखरामा एक घर दुई बिरुवाको नीति लिएको छ । चालु वर्षमा दुई लाख बिरुवा रोप्ने पनि घोषणा गरिएको छ । महानगरले वृक्षरोपण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । 

पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवा रोपेको छ भने त्यति नै सङ्ख्यामा फूलका बिरुवा रोपिएका छन् । ‘पर्यटनका लागि जैविक विविधतायुक्त सहर’को नारासहित हरियाली विकास गर्न महानगरपालिकाका सडक तथा सिमानामा रहेका गाउँपालिका केन्द्र जोड्ने सडकको दायाँबायाँ वृक्षरोपण गर्ने कार्यक्रम महानगरको छ ।

सडक छेउमा लगाइएका बिरुवाको संरक्षण गर्न नगरवासीमा नगरप्रमुख धनराज आचार्यले अनुरोध गरेका छन्। पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने जनाउँदै आफ्ना घर अगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका लागि उनले महानगरवासीमा आग्रह गरेका छन् ।