close

पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय, विपन्न परिवारलाई घर

पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय, विपन्न परिवारलाई घर

Trulli
ADVERTISEMENT

चेपाङ बालबालिकाका लागि  पोषण कार्यक्रम
चितवनको कालिका नगरपालिकाले चेपाङ बालबालिकाका लागि पोषणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुने छ ।
प्रदेश सरकारको रु १६ लाख र पालिकाको रु चार लाखको बजेटमा कार्यक्रम गर्न लागिएको हो । अहिले पालिकाले स्थलगत तथ्याङ्क सङ्कलनको काम गरिरहेको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए ।

उनका अनुसार यस कार्यक्रम अन्तर्गत एक हजार सुनौला दिनमा गर्भवती  र बच्चालाई लक्षित गरी कार्यक्रम अघि वढाउन लागिएको हो ।  आमा र बच्चा दुबैलाई पोषण, स्वास्थ्य र सरसफाइमा ध्यान दिइने छ ।

जेहेन्दार विद्यार्थीलाई पदमसिंह विश्वकर्मा  छात्रवृत्ती

बागलुङको बागलुङ नगरपालिकाले छात्रवृत्तीको लागि आवेदन माग गरेको छ । नगरपालिकाले पदमसिंह विश्वकर्मा  छात्रवृत्तीको लागि आवेदन माग गरेको हो ।  

नगरपालिकाको अनुसार कक्षा १० उत्तीर्ण भई उच्च शिक्षा अध्ययन गर्न चाहने स्थानीयलाई सो छात्रवृत्ती दिन लागेको हो । पालिकामा स्थायी रुपमा बसोबास गर्ने विपन्न, दलित, तथा जेहेन्दार विद्यार्थीले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।  

पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय

पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय, चमेनागृह जस्ता आधारभूत सहरी पूर्वाधार निर्माणका हुने भएको छ। जसकालागि पोखरा महानगरपालिका र गैरआवसीय नेपाली सङ्घ (एनआरएन) बीच सहकार्य अघि बढेको छ ।

पर्यटक र सर्वसाधारणको सुविधालाई हेरेर पोखरा–९ महेन्द्रपुलमा आधुनिक शौचालय निर्माणका लागि महानगर र एनआरएनबीच सम्झौता भएको छ । शौचालयसहित चमेनागृह र स्तनपान कक्षका लागि रु एक करोड खर्च लाग्ने जनाइएको छ । जसमा ६० प्रतिशत लगानी एनआरएन र ४० प्रतिशत महानगरको रहनेछ । महानगरप्रमुख धनराज आचार्यले तीन महिनाभित्रैमा काम सक्ने लक्ष्यसहित निर्माण अघि बढ्ने बताए।

विपन्न परिवारलाई घर 

सिरहाको लहान नगरपालिकाले वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर हस्तान्तरण गर्ने भएको छ । 

सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ को भवानी एकीकृत विकास केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको हो । घर बनाउन नगरपालिकाले नगरसभाबाट रु एक करोड विनियोजन गरेको नगर प्रमुख महेश चौधरीले बताए।  

सम्झौताअनुसार हिल्टी फाउण्डेशनको लगानी हयाबिटयाटमार्फत भवानी एकीकृत विकास केन्द्रको साझेदारीमा प्रतिघर बराबर रु दुई लाख संस्थाले दिने भएको छ । काम गर्दा अझै अपुग भए नगरपालिकाले थप बजेट दिने सहमति भएको छ ।

जेष्ठ नागरिकलाई उपमेयरको फाइबरको सिरक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ।

महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब्ध गराइएको हो ।  जिल्लामा अत्यधिक चिसो बढेकाले जाडो छल्न वृद्धवृद्धालाई फाइबरको सिरक प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताए।

महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजार बराबरको सिरक प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

काठमाडौँ राजस्वमा बृद्धि

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए ।

बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका छन्। बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।  

गुणस्तरीय सेवाको लागि विद्युतीय हाजिरी

सिन्धुलीको सुनकोसी गाउँपालिकाले सामुदायिक विद्यालय र कार्यालयमा  विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । गाउँपालिकाको सेवामा गुणस्तरीयता कायम गर्नका लागि विद्युतीय हाजिरी मेसिन जडान गरिएको हो । 

विद्यालय  तथा कार्यालयमा कर्मचारी नियमित उपस्थिति नहुने, उपस्थिति भए पनि निर्धारित समय भन्दा अगाडि नै जाने गुनासो आएपछि गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय र मातहतका कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले ‘फेस रिडएबल’ विद्युतीय हाजिरी मेसिन जडान गरिएको हो ।