close

सूर्यविनायकमा मीट मार्ट स्थापना हुँदै, खानेपानीमा मापदण्डभन्दा बढी आइरन भेटियो

सूर्यविनायकमा मीट मार्ट स्थापना हुँदै, खानेपानीमा मापदण्डभन्दा बढी आइरन भेटियो

Trulli
ADVERTISEMENT

निर्माणमा लापरवाही: बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा मजदुरको मृत्यु, योजनाबारे पालिका नै बेखबर

बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा पर्साको बहुदरमाई नगरपालिकाका एक स्थानीय मजदुरको मृत्यु र एक जना घाइते भएका छन्।

सामाजिक विकास ईकाई कार्यालयले वडा नं. ४ तिलावे खोला (चाईना पुल)को छेउमा छठिया घाटको भर्यांग निर्माणको सेल्टिींग खोल्ने क्रममा वडा नं. ५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको हो। वडा नं.५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाईते छन् ।  वीरगञ्ज नारायणी अस्पतालमा उपचाररत उनको अवस्था मध्यम छ ।

घटनाले स्थानीय आक्रोशित भइरहँदा बहुदरमाई नगरपालिकाले उक्त योजनामा पालिकाको कुनै संलग्नता नरहेको प्रष्ट्याएको छ । योजनामा नगरपालिकाको कुनै पनि (आर्थिक, प्राविधिक र प्रशासनिक) संलग्नता नरहेको नगरपालिकाका मेयर सिंगाशन साहले बताए । उक्त योजना नगरपालिकालार्य जानकारी नै नदिई सहमति विना प्रदेश सरकारले सञ्चालन गरेको उनको भनाई छ। उनले घट्नाका दोषीलाई आवश्यक छानविन गरी कारवाही गर्न माग समेत गरेका छन् । 

निःशुल्क रेविजविरुद्धको खोप वितरण

काठमाडौँको चन्द्रागिरि नगरपालिकाले स्थानीय बासिन्दालाई निःशुल्क रेविजविरुद्धको खोप वितरण गर्ने भएको छ ।

नगर अस्पताल ‘चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल थानकोट’ बाटनिःशुल्क रेविज खोप उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । नगरप्रमुख घनश्याम गिरीका अनुसार नगरबासीको सुरक्षित स्वास्थ्यको लागि सो सेवा सञ्चालनमा ल्याएको हो । 

जीतपुर सिमराका विद्यालयमा थप ६ दिन विदा

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा विदा थप गरेको छ ।

उपमहानगर क्षेत्रमा बाक्लो हुस्सुसँगै बढेको अत्याधिक चिसोले गर्दा विदा थप गरेको एक सूचना जारी गदै जनाएको छ।  सूचना अनुसार उपमहानगर क्षेत्रमा विद्यालयहरु आगामी पुष २९ गतेसम्म बन्द रहने छन् । 

यसअघि उपमहानगरपालिकाले चिसो बढेकोले विद्यालयको पठनपाठनमा समस्या भएकोले पुष २० देखि २२ गतेसम्म बन्द गर्न निर्देशन दिएको थियो।

सूर्यविनायकमा मीट मार्ट स्थापना हुँदै

भक्तपुरको सूर्यविनायक नगरपालिकाले मीट मार्ट स्थापना गर्ने भएको छ । नगरपालिकाले चालू  आर्थिक वर्षको संघीय सरकारको सहयोगमा मीट मार्ट स्थापना गर्न लागेको हो । 

नगरपालिकाका स्थानीय बासिन्दालई स्वच्छ र स्वस्थकर मासु उपभोग गराउने उदेश्यले मीट मार्ट स्थापना गर्न लागेको नगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलले बताए । उनका अनुसार स्थानीय मासु व्यवसायीको साझेदारीमा पालिकाले मार्ट स्थापना गर्न लागेको हो । 

सो साझेदारीमा सहभागी हुनका लागि स्थानीय मासु व्यवसायीले पालिकामा आवेदन दिनु पर्ने उनले बताए । आवश्यक कागजातसहित आगामी १५ दिनभित्र आवेदन पास गर्न नगरपालिकाले अनुरोध गरेको छ । 

शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा सडक कालोपत्र भएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतितश र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबाट उपभोक्ता समितिमार्फत सडक कालोपत्र सम्पन्न भएको हो। 

कुल रु ७० लाख तीन हजार तीन सय ५६ को लागतमा सम्पन्न सडक कालोपत्र योजनामा नगरपालिकाबाट रु ४९ लाख र स्थानीय उपभोक्ताबाट रु २१ लाख तीन हजार तीन सय ५६ को साझेदारी गरेका छन् । मोटरमार्गको एक किलोमिटर सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको उपभोक्ता समितिका अध्यक्ष घनकुमारी आलेले  बताइन्। 

खानेपानीमा मापदण्डभन्दा बढी आइरन भेटियो

चितवनको माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परीक्षण प्रयोगशालाको टोलीले डिप बोरिङबाट निकालेको पानी परिक्षण गर्दा मापदण्डभन्दा बढी आइरन भेटिएको हो ।टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो । 

गर्दी खानेपानी आयोजना, बघौडा खानेपानी आयोजना, कल्याणपुर खानेपानी आयोजना र खरकट्टा खानेपानी आयोजनामा धमिलोपना र आइरन देखिएको पानी प्रयोगशालाका केमिष्ट योगेन्द्रनारायण देवले बताए । आइरन बढी हुँदा पानीको रङ परिवर्तन हुने, स्वाद परिवर्तन हुने, गन्ध आउने, नुहाउँदा कपाल झर्ने, सेतो कपडामा विस्तारै पहेँलो दाग बस्दै जाने हुन्छ ।

आयोजनाले फिल्टर नै नगरी पानी वितरण गरेकाले उक्त समस्या देखिएको हो । विसं २०७२ को भूकम्पपछि प्राकृतिक पानीको गुणस्तर परिवर्तन भएको केमिष्ट देवले जानकारी दिए। 

तारुकामा २८ हल गोरु जुधाइने

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ ।  हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले बताए।

अघिल्ला वर्ष जस्तै यस वर्ष माघेसङ्क्रान्तिको दिनमा गोरु जुधाउने गरिएपनि यस वर्ष माघ २ गतेसमेत गोरु जुधाउन लागिएको छ ।गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको महोत्सव व्यवस्थापन समितिले जनाएको छ।