close

दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, धवलागिरीमा मरेनी र बुल आलु पकेट क्षेत्र (भिडियाेसहित)

दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, धवलागिरीमा मरेनी र बुल आलु पकेट क्षेत्र (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा

धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । 

हालसम्म पालिकाले एक सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखाप्रमुख गणेशकुमार यादवले जानकारी दिए। दश वडा भएको पालिकाको वडा नं ८ बाहेक सबै वडाका दलित परवारको बीमा गरिएको उनको भनाइ छ। 

केपिलासगढी गाउँपालिका र टेम्केमैयुङ गाउँपालिका जोड्ने सडक निर्माण

खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको उदघाटन गरिएको छ । सोमबार एक समारोहमा केपिलासढीका अध्यक्ष समीर राई र उपाध्यक्ष गुरुराज राईको संयुक्त उपस्थितीमा सडकको उदघाटन गरिएको हो । 

उक्त सडकले केपिलासगढी गाउँपालिका वडा नम्बर १ फेदी र भोजपुरको टेम्के मैयुंङ गाउँपालिका वडा नम्बर १ टिममा जोडिने गाउँपालिकाका अध्यक्ष राईले बताए । उनले सो सडक निर्माण भएसँगै दुई पालिकाबासीलाई आवातजावत गर्नको लागि सहज हुने विश्वास व्यक्त गरे । 

धवलागिरीमा मरेनी र बुल आलु पकेट क्षेत्र

म्याग्दीको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम सुरु भएको छ । 

व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा कार्यक्रम सञ्चालन गरेको हो । शाखाका प्रमुख आश्विन खत्रीले कार्यक्रममार्फत दुई ठाउँका ५८ घरधुरी कृषकले एक सय १४ रोपनी बारीमा आलुखेती गरेका जानकारी दिए  ।

विदुर नगरपालिकाद्वारा गत आवको भुक्तानी

नुवाकोटको विदुर नगरपालिकाको गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रम एवं सामग्री खरिदवापतको रकम भुक्तानी दिन थालेको छ । गत वर्षको बाँकी रहेको रु १४ करोडभन्दा बढी रकमको भुक्तानी चालु आर्थिक वर्षको बजेटबाट दिन थालिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गत आवमा बजेटको स्रोत सुनिश्चित नभई सम्झौता गरेर गरिएका योजना तथा कार्यक्रमको उपभोक्ता समिति, सामान आपूर्तिकर्तासहित भुक्तानी पाउन बाँकी सरोकारवालाको खर्च दायित्वको भुक्तानी चालु आवको बजेटबाट कटौती गरेर दिन थालिएको हो ।

राष्ट्रपति रनिङ शिल्डः पाँचखाल प्रथम

काभ्रेपलाञ्चोककाे चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ मा पाँचखाल नगरपालिका प्रथम भएको छ । काभ्रेको पनौती क्षेत्रीय रङ्गशालामा सोमबार प्रतियोगिताको समापन कार्यक्रममा १३ स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । 

प्रतियोगितामा पाँचखाल नगरले १२ स्वर्ण, छ रजत र १० काश्य पदकमा विजयी भई प्रथम भएको हो । नौ स्वर्ण, १० रजत जितेको पनौती नगर दोस्रो भएको छ भने सात स्वर्ण र छ रजत जितेको चौँरीदेउराली गाउँपालिकाले तेस्रो स्थान हासिल गर्यो ।

सुनवलमा  १५ शय्याको अस्पताल बनाईँदै

नवलपरासीको सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । सुनवल– ५ र  ८ मा अस्पताल निर्माण हुन लागेको नगरप्रमुख विमला अर्यालले जानकारी दिए । 

उनले  पाँच वर्षभित्रमा सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरिने बताए । सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा जानुपर्ने बाध्यता छ ।  

सुनौलो परिवार नेपाललाई महानगरद्धारा ५० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले सुनौलो परिवार नेपाल नामक संस्थालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

उक्त संस्थाले सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर मिसाएको भन्दै महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको हो । महानगरपालिकाको वडा ५ स्थित सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्‍याएको थियो ।

महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले बर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि महानगरपालिकाले कारबाही गर्दै जाने चेतावनी दिए।