close

जनकपुरको मिथिला डिपार्टमेन्टमा भीषण आगलागी

पुगेन उपमहानगरको दमकल

जनकपुरको मिथिला डिपार्टमेन्टमा भीषण आगलागी

पुगेन उपमहानगरको दमकल

ADVERTISEMENT

धनुषा- प्रदेश २ को राजधानी जनकपुरधामको मुटु भनेर चिनिने शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टमा भीषण आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयभन्दा झन्डै डेढ सय मिटरको दूरीमा रहेको डिपार्टमेन्टल स्टोरमा भएको भीषण आगलागीले गर्दा करोडौँ मूल्य बराबरको सामग्री जलेर नष्ट भएको छ ।

 

आगलागी हुनेवित्तिकै निभाउन जनकपुधाम उपमहानगरपालिकालाई तत्काल खबर गरे पनि बारुणयन्त्र भने आउन सकेन । उपमहानगरको बारुणयन्त्र न पुगेपछि स्थानीय पालिकासँग रुष्ट हुँदै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

 

उपमहानगरपालिकासँग भएका दुईवटा बारुणयन्त्र केही दिनदेखि बिग्रेको जवाफ आएपछि अन्य स्थानबाट बारुणयन्त्र मगाइएको थियो । आगो लागेको झन्डै ४० मिनेटपछि जनकपुर विमानस्थलबाट बारुणयन्त्र पुगेको थियो ।

 

धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका र महोत्तरीको जलेश्वर नगरपालिकाबाट बारुणयन्त्र पुग्दासम्म क्षति भने भइसकेको थियो । झन्डै दुई घण्टाभन्दा बढीको मिहिनेतपछि चार बारुणयन्त्रको मद्दतले आगो निभाइएको थियो । आगो नियन्त्रणमा आए पनि अहिले पूर्ण क्षति के कस्तो भएको बारे यकिन भन्न सक्ने अवस्था छैन । 

 

यता, आक्रोशित स्थानीयले जनकपुरधाम उपमहानगरपालिका प्रमुखविरुद्ध प्रदर्शनसमेत गरेको छ । नगरप्रमुखले आफ्नालागि  जनकपुरधाममा करोडौँ रुपैयाँको गाडीको व्यवस्था गरे पनि अतिआवश्यक वस्तुलाई बेवास्ता गरिएको भन्दै आक्रोशित युवा व्यापारीहरू उपमहानगरपालिका कार्यालयको गेटमा गएर नाराबाजीसमेत गरेको छ ।

 

पालिकासँग रहेका दुई बारुणयन्त्र बिग्रेको अवस्थामा रहेकाले अन्य स्थानबाट बारुणयन्त्र ल्याउनुपरेको भन्दै जनप्रतिनिधि स्वयंले दुस्ख व्यक्त गरेका छन् । धनुषाआगो नियन्त्रणमा बारुणयन्त्रसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटेका थिए ।