close

डाक्टर, ईन्जिनियर र नर्स पढ्नेको ५० प्रतिशत शुल्क गाउँपालिकाले व्यहोर्छ : अध्यक्ष गिरी (भिडियो कुराकानी)

डाक्टर, ईन्जिनियर र नर्स पढ्नेको ५० प्रतिशत शुल्क गाउँपालिकाले व्यहोर्छ : अध्यक्ष गिरी (भिडियो कुराकानी)

ADVERTISEMENT

प्यूठान । गौमुखी गाउँपालिका आर्थिक सम्भाव्यता बोकेको र पर्यटकीय दृष्टिकोणले पनि समृद्ध गाउँपालिका हो । 

दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट यस गाउँपालिकामा दोस्रो कार्यकालका लागि बिष्णुबहादुर गिरी पुनः निर्वाचित भएका छन् । नेपाली काँग्रेस प्युठानका जिल्ला सभापतिसमेत रहेका गिरी विकासप्रेमी अध्यक्षका रुपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । दोस्रो कार्यकालका लागि चुनिँदै गर्दा अध्यक्ष गिरीले पहिलो कार्यकालमा उठाए पनि पूरा हुन नसकेका योजनाहरूलाई पूर्णता दिने अठोट गरेका छन् ।

अध्यक्ष गिरीले आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षमा नै खरको छानामुक्त गाउँपालिका बनाउने अभियान अघि सारेका छन् । ७ वटा वडा रहेको गाउँपालिकाका सबै वडामा प्रशासनिक भवन निर्माण गर्ने गिरीको योजना छ । स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य सामाग्रीहरूलाई सहज रुपमा बजारसम्म पुर्‍याउनका लागि हाटबजार सञ्चालनको योजना उनीसँग छ । 

गाउँपालिकाको नाम नै गौमुखी रहेकाले गौमुखी झरनाको संरक्षण र सम्वर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने गिरीको योजना छ । गौमुखीलाई संघ र प्रदेश सरकारसँगको समन्वयमा पर्यटकीयस्थल घोषणा गर्ने र यहाँ आउने पर्यटकहरूलाई स्थानीय उत्पादन कोसेली दिएर यहाँका उत्पादनको बजारीकरण गर्ने योजनामा गिरी छन् । 

गाउँपालिकामा उच्च शिक्षा अध्ययन/अध्यापनका लागि क्याम्पस स्थापना गर्ने लक्ष्यसहित अध्यक्ष गिरी अघि बढिरहेका छन् । त्यसरी नै यहाँ रहेका सामुदायिक विद्यालयहरूको शैंक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकहरूलाई तालिम तथा प्रशिक्षणको व्यवस्था गरिने अध्यक्ष गिरीले बताए । साथै गाउँपालिकास्तरमा उत्कृष्ट, जेहेन्दार, विपन्न वर्गका विद्यार्थीलाई एमबिबिएस अध्ययन गर्न, ईन्जिनियरीङ्ग तथा स्टाफ नर्स पढ्नका लागि लाग्ने खर्चको ५० प्रतिशत गाउँपालिकाले बेहोर्ने नीति अवलम्बन गरेको छ । यसरी अध्ययन गरेका विद्यार्थीले केही समय गाउँपालिकामै सेवा गर्नुपर्ने शर्त छ । 

गौमुखी गाउँपालिकास्तरीय १५ श्ययाको अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । अति विपन्न परिवारका लागि नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने छ । हाल गाउँपालिकाले दिई आएको स्वास्थ्य सेवालाई निरन्तरता दिइने छ भने एक डाक्टर एक हप्ता एक वडामा कार्यक्रम संचालन गरी वडामा चिकित्सकीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याइने  योजना अध्यक्ष गिरीसँग् छ । 

गाउँपालिकाले २० यूनिटसम्मको विद्युत् नि:शुल्क गरेको छ । यस गाउँपालिकाको उत्तरमा बाग्लुङ, पश्चिमतिर नौबहिनी गाउँपालिका, दक्षिणमा झिमरुक गाउँपालिका र पूर्वमा गुल्मी जिल्ला रहेका छन् । यस गाउँपालिकामा गौमुखी गुफा, झाँक्री ढुङ्गा, दियाल्ना चौर, बाइसमुल झरना, तामाखानी, इश्नादेवीजस्ता धार्मिक, प्राकृतिक तथा पर्यटकीय स्थल रहेका छन् । यी ऐतिहासिक र पर्यटकीयस्थलको विकास र विस्तारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता अध्यक्ष गिरीले व्यक्त गरेका छन् ।