close

मनरा शिसवामा मेयर कार्यक्रम, भक्तपुरका खेलाडीको लागि गेम

मनरा शिसवामा मेयर कार्यक्रम, भक्तपुरका खेलाडीको लागि गेम

Trulli
ADVERTISEMENT

काठमाडौं ।महोत्तरीको मनरा शिसवा नगरपालिकाले जनताको समस्या बुझ्न जनतासँग मेयर कार्यक्रम लागू गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरभित्रका जनताको दुःख बुझ्न र जनाताले चाहे अनुसार विकासका कार्यक्रम गर्न जनतासँग मेयर कार्यक्रमको सुरुआत गरेको बताए ।
 
उनले  पालिकाको कार्यालयमा बसेर योजना बनाउँदा जनताको दुःख पीडाको जानकारी नभएको,समस्या सामाधान गर्न नसकेको र आवश्यक विकासको कामसमेत नभइरहेको गुनासो आउन थालेपछि नगरभित्रका प्रत्येक गाउँ टोलमा गएर जनताका समस्या बुझ्दै योजना बनाउन लागेको जानकारी दिए । 

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ ।

गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णयबमोजिम गाउँपालिकाको केन्द्र शान्तिपुर र अर्को मजुवा बजारको सडक छेउछाउका संरचना हटाउन लागिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिए । उनका अनुसार सो कार्यक्रम कार्यान्वयनमा ल्याउनका लागि कार्यपालिका बैठकले सर्वसम्मत निर्णय गरेको हो । 


गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ बमोजिम सम्बन्धित ब्यक्ति, संस्था र निकायलाई सडक छेउछाउका टहरा र संरचना हटाउन अनुरोध गरेको हो ।

 काठमाडौंको टोखा नगरपालिकाले ५० प्रतिशत अनुदानमा काउ म्याट वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै गाईपालक कृषकलाई काउ म्याट वितरण गर्ने जनाएको हो । 

सूचना अनुसार कार्यक्रममा नगरभित्रका गाईपालक कृषकले निवेदन दिन सक्ने छन् ।  सूचना प्रकासित गरेको पन्ध्र दिनभित्र आवश्यक कागजातसहित पशु सेवा शाखामा आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 


इच्छुक व्यक्तिले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको संख्या, गाईको संख्या र दर्ता भएको संस्थामा नविकरणको प्रतिलिपिसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।

नवलपरासीको देवचुली नगरपालिकाले रसायन जन्य आयुर्वेदिक अ‍ौषधी वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना  जेष्ठ नागरिक  स्वास्थ्य  प्रबर्धन गरी सो सामग्री वितरण गरेको हो । 

सो कार्यक्रमबाट  ६८ वर्षभन्दा माथिका १४२ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुुसार सो कार्यक्रम वडा नम्बर १४ मा सञ्चालन गरिएको र विस्तारै अन्य पालिकामा पनि सञ्चालन गरिने छ ।  

 भक्तपुरको भक्तपुर नगरपालिकामा मंगलबारदेखि नगरव्यापी विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा वडा नम्बर ९ स्थित दतात्रयमा सो प्रतियोगिता सुरु भएको हो । 

आजदेखि सुरु भएको सो प्रतियोगिता आगामी पुष ९ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रममा विभिन्न खेलहरुमा प्रतियोगिता हुने र विजेता समूहलाई पुरस्कारको व्यवस्था समेत गरेको नगरपालिकाले जनाएको छ ।

 म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ६ मराङ र ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्षित गरेर सोमबारदेखि घुम्ती शिविर सञ्चालन गरेको छ ।

मराङमा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका १८ वटा योजनाको वडा कार्यालयमा सम्झौता गरिएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए  ।


 मकवानपुरको भीमफेदी नगरपालिकाले स्वास्थ्य विमा कार्यक्रमको लागि सम्पर्क गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्नको लागि पालिकाभित्रका एजेन्टहरुलाई सम्पर्क गर्न अनुरोध गरेको हो । 
 
पालिकामा बसोबास गर्दै आएका चेपाङ समुदाय र स्वास्थ्य स्वयम् सेविकाको स्वास्थ्य विमा गर्नको लागि सम्पर्कमा आउन अनुरोध गरेको नगरपालिकाले जनाएको हो । (भिडियाेसहित)