close

गाउँगाउँमा सेवा, ज्येष्ठ नागरिकलाई स्थानीय सरकारको न्यानो कपडा (भिडियाेसहित)

गाउँगाउँमा सेवा, ज्येष्ठ नागरिकलाई स्थानीय सरकारको न्यानो कपडा (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

छाडा चौपाया व्यवस्थापन गर्न दुई पालिका बीच सहकार्य

छाडा चौपाया व्यवस्थापन गर्नका लागि कञ्चनपुरका दुई पालिकाले सहकार्य गर्ने भएका छन् । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाबीच सोमबार सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको हो।

दुवै पालिकाको सीमा जोडिएका कृष्णपुर नगरपालिका वडा नं ३ र लालझाडी गाउँपालिका वडा नं ५ मा छाडा पशु व्यवस्थापनको कार्य संयुक्तरूपमा गर्नेबारे छलफल भएको छ । छलफलमा दुवै पालिकाका प्रमुखले छाडा चौपाया व्यवस्थापनका लागि संयुक्तरूपमा खर्च व्यहोर्ने प्रतिबद्धता गरेका छन् ।छाडा चौपायासँगै अन्य विकाससँग सम्बन्धित विषयमा सहकार्य गरेर अगाडि बढ्ने छलफलको निष्कर्ष रहेको लालझाडीका अध्यक्ष रानाले बताए।

६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्दै तारकेश्वर

काठमाडौँको तारकेश्वर नगरपालिकाले ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको कार्यक्रमअन्तगर्त अनुदानमा किरा नियन्त्रण गर्ने झुल, गोलभेडाको विउ र आलुको उन्नत विउ वितरण गरिने जनाएको छ ।

सो कार्यक्रममा सहभागी हुनका लागि स्थानीय कृषक, सहकारी संस्था, फार्मले नगरपालिकामा आवेदन दिनु पर्ने छ । कूल खर्चमध्ये नगरपालिकाले ६० प्रतिशत र स्थानीयले ४० प्रतिशत लगानी गर्नुपर्ने पालिकाले जनाएको छ ।

साइलेज उत्पादनको लागि मकै घाँस खेतीको लागि आवेदन माग

नवलपरासीको देवचुली नगरपालिकाले साइलेज उत्पादनको लागि मकै घाँस खेतीको लागि आवेदन माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मकैको विउ र गोबर मल पालिकाले निःशुल्क रुपमा वितरण गर्ने जनाएको छ । सो कार्यक्रममा सहभागी हुनको लागि सूचना प्रकासित भएको एक महिनाभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ।

शिखरको ‘उपमेयर मेरो साथी’ कार्यक्रम

डोटीको शिखर नगरपालिकाले  एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। शिखर नगरपालिकाले नगरपालिकाभित्र रहेका एकल महिलालाई महिना दिन खान पुग्ने गरी सो कार्यक्रम मार्फत खाद्यान्न वितरण गरिएको हो ।

सोमबार नगरभित्रका ९० एकल महिलालाई चामल, दाल, चिनीलगायतका खाद्यान्न उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

कमजोर आर्थिक अवस्था र समाजमा बेसहारा भएका महिलालाई आत्मबल बढाउन तथा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरेको नगरउपप्रमुख सुनिता रावलले बताइन्।

आफ्नै गाउँगाउँमा सेवा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरणदेखि योजना सम्झौतासम्मका सेवा दिने अभियान थालनी गरेको छ ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा वडागत योजना सम्झौता, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, बालिका विकास बचत भौचर हस्तान्तरण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्न नगरपालिकाले अभियान सञ्चालन गरेको हो ।

नगरवासीको सहजताका लागि नगरपालिकाले सुरु गरेको अभियानको पहिलो दिन सोमबार वडा नं ११ राजापानीस्थित वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ । राजापानीको वडा कार्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा १५ वटा योजना सम्झौता भएको छ ।

जेष्ठ नागरिकलाई स्थानीय सरकारको न्यानो कपडा

कपिलवस्तु्को शिवराज नगरपालिकाले जेष्ठ  नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी वडा नम्बर ३ का स्थानीयलाई न्यानो कपडा वितरण गरेको हो ।

नगरपालिकाको अनुसार ८० वर्षभन्दा माथिका ८० जना स्थानीयलाई न्यानो कपडा वितरण गरेको हो । पछिल्लो समय तराई क्षेत्रमा बाक्लो कुहिरो, हुस्सु र शीतलहरका कारण जेष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेकोले कपडा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

चाँगुनारायणको १२ औँ नगरसभा सुरु

भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औँ अधिवेशन सुरु भएको छ । मंगलबार नगरपालिकाको वडा नम्बर ७ स्थित तपादम्फोस्थित सभाहलमा अधिवेशन सुरु भएको हो ।

नगरसभा पुष २६ गतेदेखि २८ गतेसम्म ३ दिन सञ्चालन हुने नगरपालिकाले जनाएको छ । नगरसभामा चालू आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन भइरहेको योजना र विकास निर्माण कार्यबारे छलफल हुने नगरपालिकाले जनाएको छ । नगरसभामा विभिन्न एजेण्डा र ऐनहरुमा छलफल हुने छ ।

नगरपालिकाले नगरसभालाई लक्षित गरी मंगलबार पालिकाबाट दिन सेवाहरु स्थगन गरेको छ । अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदीले बताए ।