close

५० प्रतिशत अनुदानमा मकै, कालीमाटीमा स्थानीय पाठ्यक्रम

५० प्रतिशत अनुदानमा मकै, कालीमाटीमा स्थानीय पाठ्यक्रम

Trulli
ADVERTISEMENT

५० प्रतिशत अनुदानमा मकै विउ वितरण गर्दै ककनी
नुवाकोटको ककनी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विउ वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा मकैको विउ वितरण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार पालिकाभित्रका कृषक, कृषि समूह, कृषि सहकारी र फार्मलाई ५० प्रतिशत अनुदानमा विउ वितरण गर्न लागेको हो । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार दोस्रो चौमासिकको मकैको विउ वितरण गर्न लागेको हो । 

इच्छुक कृषकले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवश्यक कागजातसहित फागुन ५ गतेभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।

बेरोजगारी व्यक्तिमा सूचीकृत हुन नौबहिनीको अनुरोध
प्यूठानको नौबहिनी गाउँपालिकाले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन माग गरेको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै निवेदन माग गरेको हो । 

गाउँपालिकाको अनुसार प्रधानमन्त्री रोजगारी कार्यक्रममा सहभागी गराउनका लागि आवेदन माग गरेको हो । सूचीकृत भएका व्यक्तिलाई सो कार्यक्रममार्फत १०० दिन रोजगारी दिने गाउँपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले फागुन १ गतेदेखि ३० गतेभित्र आवेदन दिनुपर्ने गाउँपालिकाले जनाएको छ । आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा आवेदन दिनु पर्ने छ ।

 कालीमाटीमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा 
सल्यानको कालीमाटी गाउँपालिकाले  स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले स्थानीय कला, संस्कृति, साहित्य, भाषा, रीतिरिवाज, धर्म, कृषि, वन समावेश गरि स्थानिय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको हो ।

स्थानीय पर्यटकीय स्थल, भौगोलिक पहिचान, जातीय विविधता पहिचानलगायत पाठ्यक्रममा समेटिएर  ‘कालीमाटी गाउँपालिकाको सेरोफेरो’ नामको स्थानिय पाठ्यक्रम निर्माण गरिएको छ । आगामी शैक्षिक सत्रदेखि आफ्नै पाठ्क्रम पढाउने गाउँपालिकाले जनाएको छ।

 नगर उपप्रमुखको तलबभत्ताबाट सामाजिक क्षेत्रमा 
बागलुङको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको रकम सामाजिक काममा लगाउन थालेका छन्। जनप्रतिनिधिलाई प्राप्त सेवा सुविधा सामाजिक क्षेत्रमा खर्चने गरी घोषणापत्र सार्वजनिक गर्दै स्थानीय निर्वाचनमा होमिएका खड्काले निर्वाचनको आठ महिनापछी घोषणापत्र कार्यान्वयनमा ल्याउन थालेका हुन्।
खड्काले उपप्रमुखको निर्वाचनमा होमिँदा आफूलाई प्राप्त सेवा सुविधा सामाजिक कार्यमा लगाउने घोषणा गरेका थिए। खड्काले गत दशैँमा सहिद, बेपत्ता र घाइतेका परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गरेका थिए।
 

 बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण
दाङको तुलसीपुर उपमहानगरपालिकाले बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको  हो । यस्ता कार्यक्रम १९ वटै वडामा  कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।  उपमहानगरपालिकाका १० वटामा धर्मगुरुलाई सचेत पारिने तथा अन्य वडामा र्याली गरिनेछ ।
 

जेष्ठ नागरिकलाई धुलिखेलको सम्मान
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गरिइएको छ ।

वडा कार्यालयद्वारा शनिबार काभ्रेभञ्ज्याङमा आयोजित कार्यक्रममा सामाजिक सेवाका अग्रज  तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । समाज परिवर्तनमा ज्येष्ठ नागरिकले गरेको योगदानको स्मरण एवं कदर गर्दै उनीहरूलाई सम्मान गरिएको वडाध्यक्ष बद्रीप्रसाद हुमागाईँले बताए।

 बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन सुरु
रूपन्देहीको बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन सुरू भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका ११ उपमहानगरपालिकाहरुका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गरिएको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बताए । 

मेयर पाण्डेयले समान समस्या, मुद्दा र संरचना भएकाहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताए ।