close

ढुंगेधारा र भूमिगत पानीको पुनस्थापना गर्दै महानगर, ऋणमुक्त हुन विदुरले ल्यायो विनियोजन विधेयक

ढुंगेधारा र भूमिगत पानीको पुनस्थापना गर्दै महानगर, ऋणमुक्त हुन विदुरले ल्यायो विनियोजन विधेयक

Trulli
ADVERTISEMENT

७ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकियो उपमहानगर सम्मेलनस् छुट्टै ऐनको माग

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन ७ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनले महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेको छ । 

बुटवलमा माघ २१ र २२ गते भएको सम्मेलनले उपमहानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै उपमहानगरपालिका र महानगरपालिकाकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेको हो।

ढुंगेधारा र भूमिगत पानीको पुनस्थापना गर्दै महानगर

काठमाडौँ महानगरपालिकाले  ढुंगेधारा र भूमिगत पानी पुनस्थापना गर्ने भएको छ । महानगरपालिकाले इञ्जिनियरिङ् अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्यमा पुनस्थापना गर्न लागेको हो । 

महानगरभित्र मानव बसोबास योग्य बनाइ राख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनभरणको रैथाने विधिलाई बैज्ञानिक कोणबाट अध्ययन गर्नु पर्ने आवश्यकता महसुस गरेर इञ्जिनियरिङ् अध्ययन संस्थानसँग सम्झौता गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको भनाइ छ ।

बेदकोटमा पन्ध्र शय्याको नगर अस्पताल निर्माण हुँदै

बेदकोट नगरपालिकाले १५ शय्याको नगर अस्पताल निर्माण सुरु गरेको छ । बेदकोट ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनति गरी नगर अस्पताल निर्माण गर्न लागेको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७८ वैशाख २२ मा सम्झौता गरे पनि ढिलो गरी निर्माण सुरु भएको हो ।

सम्झौताअनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए।

गोकर्णेश्वरमा मायाको चिनो वितरण गर्न रोक

गोकर्णेश्वर नगरपालिकाले कार्यक्रममा मायाको चिनो वितरण गर्न रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मायाको चिनो वितरण गर्दा धेरै खर्च भएकोले पालिका र पालिका अन्तर्गतको कार्यक्रममा मायाको चिनो वितरण रोक लगाएको हो । 

पालिकाको निर्णय बमोजिम मायाको चिनो वितरण गरेमा र पर्छयौट गर्दा सोको विल पेश भएमा कार्यक्रमको पर्छयौट नगर्ने नगरपालिकाले जनाएको छ । 

खनियाबासमा निःशुल्क वितरण गरिने औषधि अभाव

खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ ।
दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोललगायतका औषधि स्वास्थ्य संस्थामा नहुँदा उपचारमा समस्या भएको छ।

झार्लाङ स्वास्थ्यचौकी, झार्लाङ सामुदायिक स्वास्थ्य इकाइ, कुरी आधारभूत स्वास्थ्य केन्द्र, भोक्टेनी स्वास्थ्य चौकी, र खनियाबास ग्रामीण अस्पतालमा आधारभूत औषधिसमेत नभएको सेवाग्राही र स्वस्थ्यकर्मीले बताएका छन् ।

खर्चमा मितव्ययिता कायम गर्न परशुरामको निर्देशन

डडेलधुराको परशुराम नगरपालिकाले सबै वडा कार्यालयलाई मितव्ययिता कायम गरी खर्च गर्न अनुरोध गरेको छ । 

नगरपालिकाले अर्थतन्त्रमा सुधार ल्याउनका लागि पालिकाअन्तर्गत र वडा अन्तर्गत हुने खर्चमा मितव्ययिता कायम गर्न अनुरोध गरिएको जनाएको छ । कोरोना महामारी र बैदेशिक सहायतामा कमी आएका लक्ष्यभन्दा न्यून राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ । पालिकाको आयस्रोतमा कमी भएकोले विनियोजित बजेटमध्ये सतप्रतिशत कार्य गर्न असम्भव हुने  जनाइएको छ । 

अर्थ मन्त्रालयले बजेट कटौती र रोक्का गर्न पत्र पठाएकोले सोही बमोजिम पालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई अनुरोध गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिए ।

ऋणमुक्त हुन विदुरले ल्यायो विनियोजन विधेयक

विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट  रकमान्तर गर्दै बजेट घटबढ गरेको छ ।

नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न १२औँ नगरसभामा चालु आर्थिक वर्षको योजना तथा बजेटको ‘कार्यक्रम तथा बजेटको संशोधन तथा रकमान्तर विधेयक’ सर्वसम्मत पारित गरेसँगै तीनसय ३७ योजनामा  बजेटको आकार परिवर्तन गरिएको हो ।

सो  विधेयकमा यसअघि कार्यान्वयनका लागि पेस गरिएकामध्ये दुईसय ३० योजनाको बजेट  रकमान्तर गर्दै बजेटको दायरा घटाइएको र एक सय सात योजनाको बजेटको दायरा बढाइएको उपप्रमुख बोगटीले जानकारी दिइन्। उनका अनुसार अघिल्लो आर्थिक वर्षको ऋण तिर्न बाँकी रहेको रु १४ करोड हाराहारी बजेट सुनिश्चित गर्दै चालु आर्थिक वर्षमा ऋण भुक्तानी गर्न बजेटको आकार घटबढ गरिएको हो ।