close

तरकारी ढुवानी गर्न इच्छाकामनामा कृषि एम्बुलेन्स, सडकको पार्किङ हटाउँदै पोखरा

तरकारी ढुवानी गर्न इच्छाकामनामा कृषि एम्बुलेन्स, सडकको पार्किङ हटाउँदै पोखरा

Trulli
ADVERTISEMENT

तरकारी ढुवानी गर्न इच्छाकामनामा कृषि एम्बुलेन्स

चितवनको  इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि पालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । 

घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो ।

नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी

धनकुटाको महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको होे । 

नगरको सदरमुकाम जितपुर बजारको १६ किमी दक्षिणमा रहेको अरुण नदीबाट साढे सात किमी भर्टिकल लिफ्टिङ गरेर उक्त खानेपानी आयोजना सञ्चालनमा आउन लागेको हो । लिफ्टिङ खानेपानीको पूर्वाधारको काम ९० प्रतिशत र मुख्य पाइप लाइन विस्तारको काम ३५ प्रतिशत सकिएको निर्माणको ठेक्का पाएकोे कम्पनीले जानकारी दिएको छ।

प्रयोग नै नगरी थन्कियो दमकल

खोटाङको  खोटेहाङ गाउँपालिकाको दमकल ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको थियो । 

विराटनगरबाट ल्याएको केही महिनापछि नै ब्याट्री डाउन भएको दमकललाई गाउँपालिकाको केन्द्र खोटाङबजारस्थित इलाका प्रहरी कार्यालयमा थन्क्याएर राखिएको गाउँपालिकाले जनाएको छ । 

आधुनिक सडक वत्ती जडान गर्न महानगर र प्राधिकरण बिच सम्झौता

काठमाडौं महानगर क्षेत्रकामुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता भएको छ ।

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न महानगरका पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले बताए। 

परशुराममा १२ औँ नगरसभा हुँदै

डडेलधुराको परशुराम नगरपालिकाले १२ औँ नगरसभामा गर्ने भएको छ। फागुन २ गते बिहानको ११ बजेबाट जोगबुडा अस्पतालको आइसोलेसन भवनमा नगरपालिकाले नगरसभा सञ्चालन गर्ने भएको छ।

नगरसभामा उपस्थित हुन उपप्रमुख,वडाध्यक्ष, नगर कार्यपालिकाका सदस्य तथा नगर सभाका सदस्यलाई पालिकाले एक सुचना जारी गर्दै आमन्त्रण गरेको छ। 

खरका छाना फेर्दै शुक्लाफाँटा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका घरका खरका छाना विस्थापित गर्ने कार्य अगाडि बढाएको छ । सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले कार्यक्रम अन्तर्गत छाना फेर्नका लागि निवेदन दिएका  दुई सय ७६ मध्ये दुई सय ५७ परिवार छनोट गरेको छ । 

नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराका अनुसार घरको छानामा पराल, खर, स्याउला, टायललगायतका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुनसक्ने परिवार कार्यक्रम अन्तर्गत छनोटमा परेका छन ।

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

कास्कीको पोखरा महानगरपालिकाले को सहरी क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि मुख्य सहरी क्षेत्रको सडकमा पार्किङ हटाउन थालेको छ। 

सडकमा बढिरहेको सवारीको चापसँगै सडक दुर्घटना बढ्ने र सवारी आवागमनमा थप कठिनाइ भएपछि महानगरपालिकाले मुख्य सहरी क्षेत्रका सडकमा पार्किङ निषेधको घोषणा गरेको थियो । 

निजी क्षेत्र, यातायात व्यवसायीलगायतको विरोधपछि सो कार्यान्वयन नभए पनि अबदेखि महानगरले खाली रहेका सार्वजनिक तथा निजी जग्गालाई स–शुल्क पार्किङमा उपयोग गर्दै सडक पार्किङ हटाउने योजना बनाएको छ । यसका लागि पोखरा–९ न्यूरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा स–शुल्क पार्किङ सुरु गरिएको छ ।

महेन्द्रपुल, न्यूरोड, नयाँजबार, पृथ्वीचोक, चिप्लेढुङ्गालगायतका बजार क्षेत्रका खाली जमिनलाई पार्किङमा प्रयोगमा ल्याउने र सडकबाट पार्किङ हटाउने काम सुरु भएको महानगरले जनाएको छ ।