close

घरमै स्वास्थ्य सेवा दिँदै नगरपालिका, पात्लेखर्कमा खेलमैदान निर्माण

घरमै स्वास्थ्य सेवा दिँदै नगरपालिका, पात्लेखर्कमा खेलमैदान निर्माण

Trulli
ADVERTISEMENT

घरमै स्वास्थ्य सेवा दिँदै नगरपालिका

चितवनको कालिका नगरपालिकाले घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिका लागि घरघरमा गइ स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीका अनुसार नगरभित्र रहेका छ सय ४८ जनाको प्रत्येक दुई महिनामा एक पटक स्वास्थ्य परीक्षण गरिने छ ।  

मधुमेह, उच्च रक्तचाप, पिसाबमा प्रोटिनको मात्रालगायत स्वास्थ्य परीक्षण हुने छ। उनका अनुसार परीक्षणका क्रममा अन्य समस्या देखिएमा उपचारका लागि समन्वय गर्नुका साथै आवश्यक औषधिहरु निःशुल्क वितरण गरिनेछ ।

नगरबासीलाई निःशुल्क रगत वितरण गर्दै कागेश्वरी मनोहरा

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क रगत वितरण गर्ने भएको छ । नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निःशुल्क रगत वितरण गर्न लागेको हो । 

नगर प्रमुख उपेन्द्र कार्कीका अनुसार रेडक्रससँग सम्झौता भएसँगै पालिकाबासीको लागि आवश्यक रगतसंकलन गर्नका लागि कुनै शुल्क तिर्नुपर्ने छ। 

बेरुजु रकम फर्छ्यौट गर्ने पालिकाको निर्देशन

रोल्पाको लुङ्ग्री गाउँपालिकाले बेरुजु रकम फर्छ्यौट गर्न निर्देशन दिएको छ । गाउँपालिकाको महालेखापरिक्षकको वार्षिक प्रतिवेदन २०७५, २०७७, २०७८, २०७९ अनुसार असुल उपर गर्नुपर्ने भनि उल्लेख भएका बेरुजु रकम फर्छ्यौट गर्न पालिकाले शुक्रबार एक सुचना जारि गर्दै निर्देशन दिएको हो। 

बेरुजु रकम फर्छ्यौट गर्न बाँकी रहेका पालिका सम्बन्धित सम्पुर्ण बेरुजु लगत भएका व्यक्तिलाई आफ्नो नाममा रहेको बेरुजु रकम २१ दिन भित्र दाखिल गरि फर्छ्यौट गर्न भनेको छ। तोकिएको समयमा बेरुजु रकम दाखिल नगरेमा प्रचलित कानुन बमोजिम कारवाही अगाडी बढाउने पालिकाले सुचना मार्फत चेतावनी दिएको छ ।

मन्थलीमा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

रामेछापको मन्थली नगरपालिकामा  पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता माघ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

प्रतियोगितामा नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण माध्यमिक विद्यालयको सहभागिता रहेको नगर प्रमुख लब श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कबड्डी, तेक्वान्दो, उसु र कराँते विधाका खेलहरु संचालन हुनेछन । खेलमा विजेता विद्यार्थी र विद्यालयलाई पदक र प्रमाणपत्रसहित पुरस्कार वितरण गर्ने जनाइएको छ । 

पारच्याङमा अस्पताल निर्माण

रसुवाको नौकुण्ड गाउँपालिकाको सदरमुकाम पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ ।

सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा  ग्रामीण अस्पताल निर्माण हुन थालेको हो । 

स्थानीयलाई नियमित उपचार सेवा प्रदान गर्न सरकारी अनुदानअन्तर्गत बोलपत्र आह्वानको माध्यमबाट रु सात करोड ११ लाखको लागतमा ग्रामीण अस्पताल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो धलेले बताए।

जिल्ला सदरमुकाम धुञ्चेबाट १६ कोष पश्चिमको दूरीमा रहेको पारच्याङ क्षेत्रमा कुनै पनि रोग लाग्दा नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने अवस्था छ । अस्पताल निर्माणपछि स्थानीयलाई सहज हुने भएको छ । 

पात्लेखर्कमा खेलमैदान निर्माण

म्याग्दीको  रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुर्गम बस्ती पात्लेखर्कमा  खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगङ्गा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो । 

चालु आर्थिक वर्ष २०७९र८० मा रघुगङ्गाले विनियोजन गरेको रु १० लाख बजेटमा जनश्रमदानसमेत जुटाएर भलिबल र बास्केटबलको कोर्ट ढलान गरी खेलमैदान निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अङ्कित पुनमगरले जानकारी दिए ।

लघु तथा घरेलु उद्यमीलाई डिजिटल मार्केटिङ तालिम दिँदै कीर्तिपुर

काठमाडौंको कीर्तिपुर नगरपालिकाले स्थानिय उत्पादनलाई बजारिकरणका लागि डिजिटल मार्केटिङ तालिम दिने भएको छ ।

प्रत्येक वडाबाट १० जना लघु तथा घरेलु उद्यमीलाई तीन दिन डिजिटल मार्केटिङ सम्बन्धि तालिम पालिकाले दिन लागेको हो। त्यसको लागि विहिबार एक सुचना जारी गर्दै वडा कार्यालयलाई सात दिनभित्र लघु तथा घरेलु उद्यमी छनौट गर्न निर्देशन दिइएको छ। 

उत्पादित वस्तुहरुको प्रचारप्रसार, ग्राहकहरुको खोजी, विक्रि वितरण, प्रबन्ध, कच्चा पदार्थ, उपकरणहरु स्थानिय बजारमा सहज बनाउनका लागि तालिम दिन लागेको नगरपालिकाले जनाएको छ ।