close

व्यास नगरपालिकाद्वारा छ करोड राजस्व सङ्कलन, कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउँदै रामेछाप

व्यास नगरपालिकाद्वारा छ करोड राजस्व सङ्कलन, कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउँदै रामेछाप

Trulli
ADVERTISEMENT

व्यास नगरपालिकाद्वारा छ करोड राजस्व सङ्कलन
तनहुँको व्यास नगरपालिकाले छ महिनाको अवधिमा करिब साढे छ करोड राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्म आन्तरिक आयतर्फ रु छ करोड चार लाख ९६ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको हो । 

नगरपालिकाले आन्तरिक स्रोतबाट रु २२ करोड ६० लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा छ महिनामा २८।४५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए। नगरपालिकाले सम्पत्ति कर, मालपोत कर, घरबहाल कर, प्राकृतिक स्रोतसाधनलगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । 

लुङ्ग्रीमा सोमबार स्थानीय विदा

रोल्पाको लुङ्ग्री गाउँपालिकाले स्थानीय विदा दिएको छ । गाउँपालिकाले एक सूचना  जारी गर्दै फागुन १ गते स्थानीय विदा दिएको जनाएको हो ।

पालिकाको आइतबार बसेको कार्यपालिका बैठकले स्थानीय विदा दिने निर्णय गरेको हो । बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विदा दिने निर्णय गरिएको जनाएको छ । सो दिन पालिकाअन्तर्गतका वडा कार्यालय र कार्यालयहरु बन्द रहनेछन्।

पशु बाँझोपन निवारणसम्बन्धि शिविर सञ्चालन

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा बाँझोपन निवारणसम्बन्धि शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको पशु बिकास शाखाको आयोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीको सहयोगमा बाँझोपन निवारण शिविर सम्पन्न गरिएको हो।

विभिन्न कारणले पशुहरूमा गर्भ नरही उत्पादनमूलक पशुहरूमा केवल व्यवस्थापकीय भार परिरहेको अवस्थाको समाधानको लागि शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा अन्तर्गत घर घरमै पुगेर निशुल्क रूपमा पशुको जॉच गर्ने गरेको र औषधि निःशुल्क वितरण गरिएके गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए। 

सिद्धलेकमा आँखा परीक्षण शिविर संचालन हुँदै

धादिङको सिद्धलेक गाउँपालिकामा आँखा परीक्षण शिविर संचालन हुने भएको छ । 

यहि फागुन ७ गते कुम्पुर स्वास्थ्य चौकी तथा ९ गते नलाङ स्वास्थ्य चौकीमा निशुल्क आँखा परीक्षण शिविर संचालन हुने भएको सेवाबाट लाभ लिन गाउँपालिकाले अनुरोध गरेको छ। यस्तै, फागुन १४,१५ र १६ गते गजुरीमा निशुल्क शल्यक्रिया सहितको आँखा शिविर संचालन हुने गाउँपालिकाले जानकारी दिएको छ। 

जैमिनीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

बाग्लुङको जैमिनी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा माघ २६ गतेदेखि २८ गतेसम्म विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो । 

प्रतियोगितामा श्री सर्वोदय जनक माध्यामिक  विद्यालय जैमिनी प्रथम,  शान्ति मावि कुश्मिसेरा दोस्रो र हिमालयन आमावि तेस्रो भएका छन्। 
विजयी विद्यालय तथा विद्यार्थीलाई विभिन्न पदक तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ । 

कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउँदै रामेछाप

रामेछापको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाले पालिका क्षेत्रमा कृषि क्षेत्रको समस्या समाधान गर्नको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । 

नगरपालिकाको अनुसार पालिकाको वडा नम्बर १ देखि ९ सम्मका किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई सहज रुपमा बजार पुर्याउनका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । एम्बुलेन्स सञ्चालनमा आएसँगै कृषि सामग्रीले सहज रुपमा बजार पाउने कृषि शाखा प्रमुख कृष्ण भुजेलले बताए । 

सो क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल तथा अन्य सामग्रीले बजार नपाउँदा बारीमा कुहाउनु पर्ने बाध्यता रहेको र अब त्यस समस्याको अन्त्य हुने उनले बताए । 

कामपाका वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा

काठमाडौं महानगरपालिकाका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गरिने भएको छ । उक्त सेवा महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो ।  

आगामी हप्तादेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट उक्त सेवा प्रवाह हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उनका अनुसार सेवा उपलब्ध गराउन ल क्याम्पसमा अध्ययनरत विद्यार्थी वडा कार्यालयमा रहेको हेल्प डेस्कमा कार्यालय अवधिभरि रहनेछन् । त्यहाँबाट नागरिकले आवश्यकताअनुसार लिखित, मौखिक तथा दुवै किसिमको सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।