close

उर्लाबारीले ल्यायो हाउजिङ निर्देशिका, बुटवल उपमहानगर ६४ औं वर्षमा (भिडियाेसहित)

उर्लाबारीले ल्यायो हाउजिङ निर्देशिका, बुटवल उपमहानगर ६४ औं वर्षमा (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

उर्लाबारीले ल्यायो हाउजिङ निर्देशिका

मोरङको उर्लाबारी नगरपालिकाले जग्गा विकास तथा हाउजिङ निर्माण सम्बन्धी निर्देशिका जारी गरेको छ । लामो समयदेखि बन्द रहेको जग्गा कित्ताकाट खुलाएको केही दिन नबित्दै बढ्दो शहरीकरणलाई व्यवस्थित गर्ने उदेश्यले निर्देशिका जारी गरिएको हो।

कार्यपालिकाको बैठकले पूर्व निर्देशिका पारित गरेको उर्लाबारीका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले जानकारी दिए । 
निर्देशिका लागु भएपछि जथाभावी निर्माण हुने घर, सडक पूर्वाधार, संरचना लगायतलाई रोक लगाउँदै व्यवस्थित शहरको विकाशमा सहयोग पुर्याउने उनले बताए।

निर्देशिका जारी भएपछि कुनै ब्यक्ति वा संस्थाले नगरपालिका वा सम्बन्धित निकायबाट जग्गा विकाश तथा हाउजिङ निर्माण गर्न अनुमति लिनुपर्नेछ । यसका लागि ३ लाखदेखी १५ लाखसम्म धरौटी राख्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । 

नगर विकास कोष ३५ औं बर्षमा

नगर विकास कोषको ३५ औं वर्षिकोत्सव सम्पन्न भएको छ। कोषले एभरेष्ट होटल बानेश्वरमा मंगलबार ३५ औँ वार्षिकोत्सव मनाएको हो।

शहरी क्षेत्रको पूर्वाधार निर्माण तथा खानेपानीका क्षेत्रमा २०४५ सालमा १ करोड २९ लाख लगानी गर्दै नगर विकास कोष स्थापना भएको थियो। कोषले गत आर्थिक बर्ष २०७८–०७९ मा मात्रै ७० करोड आम्दानी गरेको छ । 

बुटवल उपमहानगर ६४ औं वर्षमा, स्थापना दिवस मनाउँदै उपमहानगर

रुपन्देहीको  बुटवल उपमहानगर स्थापनाको ६४ बर्ष पुगेको छ । बटौली बजार बिस्तारै शहरीकरण उन्मुख हुँदै गरेको अवस्थामा तत्कालिन विपि कोइराला नेतृत्वको सरकारले बटौली बजारलाई बि।सं २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नामाकरण गरिएका थियो ।  

स्थापना दिवसका अवसरमा उपमहानगरले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ। सप्ताहव्यापी कार्यक्रमअन्तरगत अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, पत्रकार र राजनीतिक दलबीच भलिबल, कर्मचारीहरुका बीचमा भलिबल, टेबुलटेनिस, घैटोफोरलगायतका कार्यक्रम सम्पन्न भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । महानगरले बुधबार मूल समारोह तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। 

वीरगञ्जले अतिक्रमित संरचना हटाउने

पर्साको वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । अतिक्रमित संरचना हटाउन सातदिने सूचना जारी गर्दै तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । 

यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख  छ ।महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरेको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए। 

आँधिखोलामा करार सेवामा कर्मचारी माग

स्याङ्जाको आँधिखोला गाउँपालिकाले करार सेवामा कर्मचारीको माग गरेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित रोजगार सेवा केन्द्रको लागि गाउँपालिकाले प्राविधिक सहायक पदमा एकजना कर्मचारीको माग गरेको हो । गाउँपालिकाले बुधबार एक सुचना जारी गर्दै सुचना प्रकासित भएको १५ दिन भित्र आवेदन दिन तोकिएको योग्यता पुगेका नेपाली नागरिकलाई अनुरोध गरेको छ। 

परशुरामको १२ औँ नगरसभा सम्पन्न

डडेल्धुराको परशुराम नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा मंगलबार नगर प्रमुख भरत बडायर जोशीको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो  ।

नगरसभामा नगरपालिकाको चालू आर्थिक वर्षको हालसम्म भएको आयव्ययको खर्चको विवरणको जानकारी, योजना संसोधन, महालेखापरीक्षकको प्रतिवेदन,  विषयगत समितिबाट प्रस्तावित सिफारिसहरु अनुमोदन गरिएको नगर प्रमुख बडायरले बताए  । उनले नगरपालिकाको सर्वांगिण   विकासका लागि पालिकाले हालसम्म गरेका पहलहरु र उपलब्धिहरुको जानकारी दिए । 

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा

खोटाङको  साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले ७० वर्षभन्दा माथिका चार सय सात ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका २१ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । 

ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका नागरिकलाई स्वास्थ्यसम्बन्धी सेवा तथा सुविधा निःशुल्क उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले टोल र बस्तीमा पुगेर स्वास्थ्य बीमा परिचयपत्र वितरण गरिरहेको छ । स्वास्थ्य बीमा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालबाट रु एक लाखसम्मको औषधि उपचारमा छुट पाउने व्यवस्था छ ।  

जटिल प्रकारका रोग लागेर अन्यत्र उपचारमा जानुपर्ने बिरामीलाई अस्पतालसम्म जाने–आउने र उपचार गर्दा बिरामी तथा कुरुवाको खाने–बस्ने खर्च गाउँपालिकाले व्यहोर्ने व्यवस्थासमेत मिलाइएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए।