close

गढवामा तीन महिने निःशुल्क कम्प्युटर तालिम, शुक्लाफाँटामा सार्वजनिक शौचालय  निर्माण हुने (भिडियाेसहित)

गढवामा तीन महिने निःशुल्क कम्प्युटर तालिम, शुक्लाफाँटामा सार्वजनिक शौचालय  निर्माण हुने (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

सुनसरीमा तीन जनामा दादुरा पुष्टि

सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो । बर्जुमा दादुराको आशङ्कामा अन्यको नमूना सङकलन गरेर परीक्षणका लागि पठाइएको छ । 

गाउँपालिकासँगको समन्वयमा सबै विद्यालयमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गरिएको उनले जानकारी दिए। बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ ।

छत्रदेवमा आँखा र दाँतको शिविर

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा आँखा तथा दाँतको शिविर सञ्चालन हुने भएको छ । 

एक सुचना जारी गर्दै शिविर फागुन ५ गते सञ्चालन हुने पालिकाले जनाएको छ। गाउँपालिकाको अनुसार अर्घाखाँची दीगो विकास केन्द्रको र रोटरी क्लब अफ महाराजगञ्जको आयोजना तथा   गाउँपालिकाको सहयोगमा शिविर सञ्चालन गर्न लागेको हो ।  पालिकाको वडा नम्बर २ को बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा बिहान १० बजेदेखि शिविर सुरु हुने गाउँपालिकाले जनाएको छ । 

गढवामा तीन महिने निःशुल्क कम्प्युटर तालिम

दाङको गढवा गाउँपालिकाले तीन महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको छ। पालिकाको रोजगार सेवा केन्द्रले वडा नं २ स्थित पचहियामा बुधबारदेखि तालिम सञ्चालन गरेको हो। 

आर्थिक वर्ष २०७९र०८०को कार्यक्रम अनुसार वडा नम्बर २ मा तीन महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन भएको गढवा गाउँपालिका रोजगार शाखा प्रमुख अशोक कुमार यादवले जानकारी दिए।

तालिममा गढवा गाउँपालिकाका वडा १,२ र ३ का विद्यार्थी, शिक्षक, सहकारीका कर्मचारी, महिलालाई लक्षित गरेर सञ्चालन गरिएको हो। तालिममा २३ महिला ,१७ पुरुषको सहभागी रहेको पालिकाले जनाएको छ। जसमा ३ जना शारीरिक रुपमा अशक्त व्यक्ति समेत रहेका छन्।

निसीखोलामा आठ झोलुङ्गे पुल थपिँदै

बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९र८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै पालिकाका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । 

सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए। वडा नं १ को सेलाखेतघाट र आठबारेघाट, वडा नं ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नं ४ र ५ जोड्ने कारीखोला, वडा नं ५ को यारीखोला, वडा नं ६ मगरघाटखोला, वडा नं ३ को गतारेघाट तथा वडा नं २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण गरिँदै छ । 

गर्भवती महिलालाई वाटर फिल्टर वितरण गर्दै धनपालथान

मोरङको धनपालथान गाउँपालिकाले गर्भवती महिलालाई वाटर फिल्टर वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी वडा नम्बर २ का गर्भवती महिलालाई वाटर फिल्टर वितरण गरेको हो । 

गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छादारका अनुसार पोषणमैत्री नमुना टोल र पोषणमैत्री स्थानीय तह घोषणा कार्यक्रम बमोजिम वाटर फिल्टर वितरण गरिएको हो । गाउँपालिकाले पालिकाभित्रका ७ वटै वडामा सो कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए। 

गर्भवती महिलालाई शुद्ध खानेपानीको ग्यारेन्टी गर्नको लागि सो  कार्यक्रम सञ्चालन गरिएको उनको धारणा छ ।

६४औं स्थापना दिवसको अवसरमा बुटवलका उत्कृष्ट कर्मचारी पुरस्कृत

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका  विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारी पुरस्कृत भएका  छन् ।  ६४औं स्थापना उपमहानगरपालिकाका  विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारी पुरस्कृत र सम्मानित भएका हुन् ।

स्थापना दिवसको अवसरमा पर्यटन प्रवद्र्धन पुरस्कार, विपद सचेतना पुरस्कार, उत्कृष्ट टोल विकास संस्था र उपभोक्ता समितिलगायतलाई पुरस्कृत गरिएको हो । यस्तै उत्कृष्ट कर्मचारीहरु महाशाखा प्रमुख मित्रमणि खनाल, तुलसा अर्याल, कर्मचारीहरु रामप्रसाद अर्याल,  संगीता अर्याल, गुनाकर खनाल, रुक्मागत बस्याल, गंगाधर सापकोटा, कमला भुसाल, गोविन्द पंगेनी, प्रसान्त भट्टराई, टंक आचार्य, सुजाता पन्थी, मीन खनाल, मनिसा रोकाया, हरिकला बेल्बासे, कमल पुरी, विरबहादुर थापालगायत २५ जनालाई सम्मान गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

शुक्लाफाँटामा सार्वजनिक शौचालय  निर्माण हुने

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले दुई ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।

पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने वनसमिति बजार र झलारी बजारको खुला मञ्चमा शौचालय निर्माण हुन लागेको हो । खुला मञ्चमा निर्माण हुने शौचालयका लागि रु १६ लाख र वनसमिति बजारमा निर्माण हुने शौचालयका लागि रु सात लाख बजेट विनियोजन गरेको छ ।

यसका लागि जग्गा पहिचान गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख रणबहादुर महराले बताए।