close

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड सुरु, सुत्केरीलाई  भेट्न लोकल भाले सहित घ्यू र अण्डा

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड सुरु, सुत्केरीलाई  भेट्न लोकल भाले सहित घ्यू र अण्डा

Trulli
ADVERTISEMENT

दुई स्वास्थ्य केन्द्र गाभेर सञ्चालन गर्दै भानु

तनहुँको भानु नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र भानु सामुदायिक स्वास्थ्य केन्द्र गाभिने भएका छन् । नगरपालिकाको एघारौँ नगरसभाले दुवै स्वास्थ्य संस्थालाई गाभेर एकै स्थानबाट सेवा प्रवाह गर्ने निर्णय गरेको हो । 

दुवै स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई एकै ठाउँमा परिचालन गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । नगरसभाले योजना कार्यक्रमको संशोधन तथा सोका लागि बजेट रकम रकमान्तर गर्ने विषयलाई पारित गरेको नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले जानकारी दिए । 

सडकको क्षेत्राधिकार खाली गर्न निर्देशन

बर्दियाको बढैयाताल गाउँपालिकाले सडकको क्षेत्राधिकार खाली गर्न निर्देशन दिएको छ । पालिकाले माघ २८ मा एक सुचना जारी गर्दै १५ दिन भित्र सडक क्षेत्राधिकारमा पर्ने संरचना तथा सामाग्री हटाउन  निर्देशन दिएको थियो। 

हुलाकी राजमार्गको नेपालगञ्जदेखि गुलरिया सडक खण्ड सडकको केन्द्रबिन्दुबाट दाँया र बाँया १५ मिटरभित्र रहेका संरचना तथा अन्य सामाग्री हटाउन पालिकाले सुचना मार्फत निर्देशन दिएको छ। 

सुत्केरीलाई  भेट्न लोकल भाले सहित घ्यू र अण्डा

बागलुङको बडिगाड गाउँपालिकाले सुत्केरीलाई एउटा लोकल भाले, एक माना घ्यू र एक क्रेट अण्डा वितरण गर्दै आएको छ ।  जसलाई वितरण गर्न पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी अथवा कर्मचारी सुत्केरीकै घरमा पुग्छन्।

सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। सुत्केरी अवस्थामा आमाले पौष्टिकयुक्त खाना खान नपाउँदा आमा, नवजात शिशु स्वस्थ नहुने र शारीरिक समस्या आउने हुँदा चालू आर्थिक वर्षदेखि यो कार्यक्रमको सुरुआत गरेको उनको भनाइ छ। 

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड सुरु

रुपन्देहीको  बुटवल उपमहानगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९  सुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गरेका हुन् । 

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले खेलकुदका माध्यमबाट बुटवलबाट राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने गरी लाग्ने बताए  । उनले खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै सुरुवात गर्नको लागि उपमहानगरपालिका तयार रहने बताए । 

सामुदायिक पशुको नियन्त्रण गर्दै वीरेन्द्रनगर नगरपालिका

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मुख्य सडक तथा चोकमा रहेका सामुदायिक पशुको नियन्त्रण गर्ने भएको छ। सामुदायिक पशुहरुले सडक अवरुद्ध गरेको र स्थानिय कृषकको खेतबालीमा नोक्सान गरेको गुनासो बढेपछी नियन्त्रण गर्ने निर्णय गरेको हो। 

नगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै तीन दिन पछि सामुदायिक पशुलाई विभिन्न जिल्लाका पशुपालन फार्ममा पठाउने जनाएको छ। नगरपालिकाले पठाएका पशुमा कसैले पनि हकदाबी गर्न नपाउने सुचनामा उल्लेख छ। त्यसैले आफ्नो पशुहरुलाई छाडा नछाड्न स्थानियलाई पालिकाले सुचित गरेको छ । 

महिलाको लागि नौमती बाजा बजाउने सिपमुलक तालिम

झापाको भद्रपुर नगरपालिकाले महिलाको लागि नौमती बाजा बजाउने सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ। पालिकाले विपन्न तथा असहाय महिलाहरुका लागि नौमती बाजा बजाउने सात दिने तालिम सञ्चालन गर्न लागेको हो। 

पालिकाले बुधबार एक सुचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक महिलाले यही फागुन १७ गते भित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न अनुरोध गरेको छ। नगरपालिकाले दुईवटा समुहलाई तालिम दिने र प्रत्यक समुहमा २० जना हुनुपर्ने जनाएको छ। 

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गर्दै विहादी

पर्वतको विहादी गाउँपालिकाले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

जसअन्तर्गत चालु आर्थिक वर्ष २०७९र०८० मा हात्तीपाईले रोग विरुद्धको आम औषधी खुवाउने कार्यक्रम रहेको पालिकाले एक सुचना जारी गर्दै जनाएको छ।

फागुन ११ गतेदेखि १७ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुने छ।घरमा आउने स्वास्थ्य स्वयमसेविका तथा चिकित्सकको रहोवरमा औषधी सेवन गर्न पालिकाले स्थानियवासीलाई अनुरोध गरेको छ ।