close

शिवसताक्षीले ८५ प्रतिशत अनुदानमा तरकारी बीउ वितरण गर्ने, वडा कार्यालयको भवन विद्यालयलाई हस्तान्तरण गर्दै आबुखैरेनी (भिडियसहित)

शिवसताक्षीले ८५ प्रतिशत अनुदानमा तरकारी बीउ वितरण गर्ने, वडा कार्यालयको भवन विद्यालयलाई हस्तान्तरण गर्दै आबुखैरेनी (भिडियसहित)

Trulli
ADVERTISEMENT

शिवसताक्षीले ८५ प्रतिशत अनुदानमा तरकारी बीउ वितरण गर्ने 

झापाको शिवसताक्षी नगरपालिकाले ८५ प्रतिशत अनुदानमा तरकारी बीउ वितरण गर्ने भएको छ । कृषि विकास शाखाको चालु आर्थिक वर्ष २०७९/८० को स्विकृत कार्यक्रम अन्तर्गत नगरपालिकाले बीउमा अनुदान दिन लागेको हो। 

नगरपालिकाले सोमबार एक सुचना जारी गर्दै इच्छुक कृषक, कृषि फर्म, कृषि समुह, कृषि सहकारीलाई आवश्यक कागजात सहित १० दिन भित्र अनुदानको लागि आवेदन पेश गर्न अनुरोध गरेको छ । 

भक्तपुरमा ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण

भक्तपुरको भक्तपुर नगरपालिकाले नगरपालिकाबाट सञ्चालित ख्वप इञ्जिनीयरिङ र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजमा अध्ययनरत विद्यार्थीलाई रु ६१ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ । 

नगरपालिकाका प्रमुख सुनील प्रजापतीले विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्दै गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने उत्साह र अवसर प्रदान गर्न छात्रवृत्ति वितरण गर्दै आएको बताए। नगरपालिकाबाट सञ्चालित विभिन्न आठ कलेजमार्फत वार्षिक रु चार करोड बराबरको छात्रवृत्ति वितरण हुँदै आइरहेको उनले जानकारी दिए।

वडा कार्यालयको भवन विद्यालयलाई हस्तान्तरण गर्दै आबुखैरेनी

तनहुँको आबुखैरेनी गाउँपालिकाले वडा कार्यालयको भवन विद्यालयलाई हस्तान्तरण गर्ने भएको छ । आइतबार दिउँसो बसेको कार्यापालिका बैठकले वडा नम्बर ५ को भवन इन्द्रदेवी आधारभूत विद्यालयलाई हस्तारन्तरण गर्ने निर्णय गरेको हो । 

विद्यालयको भवन जीर्ण हुनुका साथै खेलमैदानको अभाव भएकोले सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनका अनुसार गाउँपालिकाको शैक्षिक सुधार सुधार कार्यक्रम अन्तर्गत सुविधा सम्पन्न भवनमा विद्यालय सार्न लागेको हो । आगामी शैक्षिक सत्र लागू भएसँगै  भवन हस्तान्तरण गरेर विद्यालय सञ्चालन हुने छ। विद्यालय भवनमा वडा कार्यालयको सेवा विस्तार गर्ने उनले जानकारी दिए।

तातोपानीमा औद्योगिक ग्राम स्थापना हुने

जुम्लाको तातोपानी गाउँपालिका–४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ । युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने ध्येयले तातोपानी–४ मा औद्योगिक ग्राम बन्न लागेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए। 

उनले स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारणका गर्न  औद्योगिक ग्रामले सहयोग पुग्ने बताए।  वडा नं ४ को रातेखोलामा रहेको करिब १५ हजार आठ सय ८२ वर्गमिटर क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापना गर्न लागिएके हो।

रामपुरमा उत्कृष्ट कृषक पुरस्कृत

पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको छ। रामपुरमा सञ्चालित कृषि मेला प्रदर्शनी, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा गरिएको प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट कृषक पुरस्कृत भएका छन् । 

तरकारी बाली, फलफूल बाली, मसला बाली, जरे बाली, पुष्प बाली, खाद्यान्न बाली, व्यावसायिक च्याउ खेती, बोकापालन, बाख्राको खोर व्यवस्थापन, बङ्गुरपालन, गाईभैँसीपालन उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको कृषि तथा पशु प्रदर्शनी मेलाका संयोजक सूर्यप्रसाद रेग्मीले बताए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद रु चार हजार, तीन हजार, दुई हजार र एक हजार पाँच सय साथमा प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । 

सिद्धकुमाखमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सल्यानको सिद्धकुमाख गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आइतबारदेखि प्रतियोगिता सुरु भएको हो। 

प्रतियोगितामा पालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको पालिका अध्यक्ष भरत गिरीले बताए । प्रतियोगिता फागुन ९ गतेसम्म तीन दिन सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।  

एक करोड लगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण

म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण भएको छ । मङ्गला–२ बाबियाचौरमा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । 

उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताए ।