close

ठाकुरबाबालाई खो–खोको उपाधि, बहिरङग सेवा सञ्चालन गर्ने तयारी

ठाकुरबाबालाई खो–खोको उपाधि, बहिरङग सेवा सञ्चालन गर्ने तयारी

Trulli
ADVERTISEMENT

पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार
भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबीच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको थियो । प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबिपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको हो । सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्षमा रु ७३ हजार नौ सयका दरले रु २४ लाख ३८ हजार बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
 
भैंसीपालनलाई व्यवस्थित गर्न सत्यवतीमा राँगाको गणना

गुल्मीको सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि गाउँपालिकाले राँगाको तथ्याङ्क सङ्कलन गर्न लागेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ । राँगा पाल्ने तीन किसानलाई रु तीन हजारसहित सम्मानसमेत गरिएको खनालले बताए। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका राँगा किसानलाई वितरण गर्दै आएको छ । गाउँपालिकाले यस वर्ष १३ उन्नत जातका राँगा किसानलाई वितरण गर्दैछ । राँगाको तथ्याङ्क सङ्कलन गरी बीमासमेत गाउँपालिकाले गर्ने योजना बनाएको छ । 

ठाकुरबाबालाई खो–खोको उपाधि

भक्तपुरको भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ । स्थानीय सहिद स्मृति खेल मैदानमा मङ्गलबार सम्पन्न प्रतियोगितामा ठाकुरबाबाले उपाधिसहित रु एक लाख ५० हजार पुरस्कार हात पारेको छ । 

उक्त प्रतियोगितामा कीर्तिपुर नगरपालिका दोस्रो हुँदै रु एक लाख तथा कैलालीको धनगढी उपमहानगरपालिकाले रु ५० हजारसहित तेस्रो स्थान हासिल गर्यो । विभिन्न जिल्लाका १३ नगरपालिका उक्त प्रतियोगितामा सहभागी थिए। 

सिद्धकुमाखमा  पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सम्पन्न

सल्यानको सिद्धकुमाख गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारासहित पालिकाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगिता फागुन ७ गतेदेखि ९ गतेसम्म सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनुसार भलिवल, कवड्डी र एथलेटिक्स विधाका ३० वटा खेलमा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुल् सहभागिता जनाएको पालिकाका अध्यक्ष भरत गिरीले जानकारी दिए । 

उनका अनुसार ३० वटा खेल मध्ये १३ स्वर्ण, ३ रजत र ९ कास्य सहित निराजन माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र ३ कास्य सहित फिल्ड प्रयोजन गर्ने नेरा मावि द्धितिय र ३ स्वर्ण, ५ रजत र ४ कास्य सहित शान्ति सुन्दर मावि तृतीय भएको उनले जानकारी दिए  । 

मंगलामा करार सेवामा कर्मचारी माग

म्याग्दीको मंगला गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कृषि स्नातक प्राविधिक पदमा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार कृषि विज्ञानतर्फ मान्यता प्राप्त विद्यालय तथा शैक्षिक संस्थाबाट कृषि स्नातक तह उत्तिर्ण गरेको व्यक्तिले आवेदन दिन सक्ने छन्। इच्छुक पुगेका व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन गाउँपालिकाले स्थानीयलाई अनुरोध गरेको छ । रु एक हजार दस्तुर तिरी फागुन १५ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

फोहोर वर्गीकरण गर्न टोलटोलमा छलफल

कैलालीको धनगढी उपमहानगरपालिकाले फोहोरलाई वर्गीकरण गर्न छलफल गरेको छ । उपमहानगरभित्रको फोहोरको व्यवस्थापन सहज बनाउनको लागि टोलटोलमा छलफल भएको हो । 

उपमहानगर प्रमुख गोपाल हमालका अनुसार मंगलबार वडा नम्बर ३ को गुरुद्धारा टोल र १३ को हिमाली टोलमा छलफल भएको हो । छलफलमा घरघरबाट उत्पादन हुने फोहोरलाई श्रोतमा वर्गीकरण गर्ने तरिकासम्बन्धि जानकारी दिइएको छ। सो कार्यक्रम अन्य वडाका टोलहरुमा पनि सञ्चालन हुने उनले बताए । 

बहिरङग सेवा सञ्चालन गर्ने तयारी

पर्साको वीरगञ्ज महानगपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर बाट विशेषज्ञ डाक्टरसहितको बहिरङग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । महानगरपालिकाले सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गर्दै आएको छ।   उक्त कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो । 

कार्यक्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि बर्थिङ सेन्टरमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिए।

अहिले महानगरको पाँच स्थानमा स्थापना गरिएको  सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग सेवा सञ्चालन गरिने र अर्को वर्ष पुनः अन्य स्थानमा स्थापना भएका बर्थिङ सेन्टरबाट सेवा सञ्चालन गरिने तयारी भएको उनले बताए। यसका लागि महानगरपालिकाले बजेट समेत विनियोजन गरिसकेको जनाएको छ ।