close

सन्धिखर्कद्धारा किसानलाई सामग्री वितरण, धनगढीमा स्मार्ट सडक बत्ती जडान

सन्धिखर्कद्धारा किसानलाई सामग्री वितरण, धनगढीमा स्मार्ट सडक बत्ती जडान

Trulli
ADVERTISEMENT

सन्धिखर्कद्धारा किसानलाई सामग्री वितरण

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषकलाई कृषि औजार वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी कलाई डीप फ्रीज, विद्युतीय घास काट्ने मेसिन र भकारो सोहोर्ने हाईप्रेसर क्लीनर मेशिन वितरण गरेको हो।

नगरपालिकाका कृषकलाई कृषि कार्यमा सहज, आधुनिकीकरण र प्रविधीमैत्री बनाउन लागि सो सामग्री वितरण गरेको पालिकाका पशु सेवा शाखाका प्रमुख नारायण खनालले बताए । उनका अनुसार किसानको मागको आधारमा व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा डीप फ्रीज १९ वटा, विद्युतीय घास काट्ने मेशिन ७५ प्रतिशत अनुदानमा ९ वटा र भकारो सोहोर्ने हाईप्रेशर क्लीनर मेशिन ५० प्रतिशत अनुदानमा १८ वटा वितरण गरिएको हो । 

घरधुरी सर्वेक्षणसम्बन्धि दुई दिने तालिम सम्पन्न

पर्वतको मोदी गाउँपालिकामा घरधुरी सर्वेक्षणसम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा बिहिबार सो तालिम सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार बालबालिकाहरुको बस्तुगत विवरण तयारीका लागि घरधुरी सर्वेक्षण सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको हो । तालिम वडा नं ५, ६, ७ र ८ मा सञ्चालन भएको गाउँपालिकाले जनाएको छ । तालिममा सम्बन्धित वडाहरुको विद्यालयबाट प्रतिनिधित्व गरेर शिक्षकहरु उपस्थित भएका थिए। 

सिद्ध कुमाखमा जेहेन्दार विद्यार्थीलाई पुरस्कार प्रदान

सल्यानको सिद्ध कुमाख गाउँपालिकाले जेहेन्दार विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । शैक्षिक वर्ष २०७८ सालको एसईई र कक्षा ८ को वार्षिक परिक्षामा सबैभन्दा बढी जिपिए ल्याउने २–२ जना छात्र–छात्रालाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरेको हो ।

गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड समापन तथा पुरस्कार वितरण समारोहको अवसरमा विध्यार्थीलाई गाउँपालिकाले सम्मान गरेको हो। कक्षा ८ मा उत्कृष्ट छात्ररछात्रालाई रु १०/१० हजार र एसईईमा उत्कृष्ठ छात्ररछात्रालाई रु २५/२५ हजार प्रोत्साहन स्वरुप प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। 

चाँगुनारायणमा गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

भक्तपुरको चाँगुनारायण नगरपालिकाले गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरेको छ।

नगरपालिकाले बिहिबारदेखी उक्त कार्यक्रम अन्तर्गत ८ दिने उद्यमशीलता विकास, व्यवसाय सचेतना, व्यवसाय शुरू र लैंगिक सचेतना तथा सामाजिक समावेशीकरण तालिम सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर ४ मा वडा अध्यक्ष रोजबहादुर तामाङको अध्यक्षतामा उक्त तालिम सुरु गरिएको हो।  

स्थानीय तहको सिफारिसमा कृषकलाई रासायनिक मल वितरण

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले सर्लाहीका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ । 

स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको कार्यालयका प्रमुख दीपक थापामगरले जानकारी दिए । उनका अनुसार २०  स्थानीय तह रहेको जिल्लाका दुई सय वडाबाट एक–एक सहकारीलाई स्थानीय तहको सिरफारिसका आधारमा मल  वितरण  थालिएको हो ।

 कामपाद्धारा तीन कार्यविधि र एक निर्देशिका स्वीकृत

काठमाडौं महानगरपालिकाले तीन वटा कार्यविधि र एउटा निर्देशिका स्वीकृत गरेको छ । बिहिबार महानगरपालिकामा बसेको १३ औं कार्यपालिकाको बैठकले कार्यविधि र निर्देशिका स्वीकृत गरेको हो । 

प्रमुख बालेन्द्र शाहको अध्यक्षतमा बसेको बैठकले, ‘मैतीदेवी मन्दिर व्यवस्थापन कार्यविधि २०७९’, ‘हाँडीगाउँ संस्कृति संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि २०७९’ र ‘सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गरेको  जनाइएको छ  । यस्तै ‘वाह्य विज्ञापन नियमन निर्देशिका २०७९’ स्वीकृत भएको छ । 

धनगढीमा स्मार्ट सडक बत्ती जडान

कैलालीको धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडान गरेको छ । धनगढी चौराहादेखी गेटासम्मको छ लेन सडक क्षेत्रमा स्मार्ट सडक बत्ती जडान सम्पन्न भएको हो।  

६० प्रतिशत उपमहानगरपालिका र ४० प्रतिशत नेपाल विधुत प्राधिकरणको सहयोगमा  स्मार्ट सडक बत्ति जडान गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए। उनको अनुसार २०७९ असार ९ मा उपमहानगर र प्राधिकरणबीच सहमति पत्रमा हस्ताक्षर भएपछी सुर्योदय उर्जा प्रा।लिले बत्ती जडानको काम सुरु गरेको थियो।