close

फक्ताङलुङमा निःशुल्क आँखा शिविर, गोकर्णेश्वरमा निःशुल्क योग शिविर

फक्ताङलुङमा निःशुल्क आँखा शिविर, गोकर्णेश्वरमा निःशुल्क योग शिविर

Trulli
ADVERTISEMENT

फक्ताङलुङमा निःशुल्क आँखा शिविर

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा नौ दिने आँखा शिविर सञ्चालन गरिएको हो । 

शिविरमा एक सातामा एक हजार छ सय ५२ जनाको आँखा परीक्षण गरिएको छ । सत्तरी जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ । यही फागुन ८ गतेदेखि सुरु भएको शिविर हालसम्म जारी छ । 

नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या

बाँकेको नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । नेपालगञ्ज धम्बोझी चोक नजिकै कृषि विकास बैंकको छेउमा रहेको सार्वजनिक स्वचालित शौचालय सञ्चालनको छ महिना नपुग्दै अस्तव्यस्त बनेपछि समस्या भएको हो। 

स्वचालित शौचालयमा समय समयमा समस्या समाधानका लागि दक्ष प्राविधिकको अभाव रहेको नेपालगञ्ज उमहानगरपालिकाका वातावरण विभागका इन्जिनियर प्रकाश डिसीले बताए। शौचालयलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए। 

गोकर्णेश्वरमा निःशुल्क योग शिविर

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क योग शिविर सुरु गरेको छ । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र नारायणटार जोरपाटीमा नगरस्तरीय योग शिविर सुरु गरिएको हो । 

पतञ्जलि योग समिति नेपालको सहयोगमा सुरु भएको निःशुल्क योग शिविरमा केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिका साथै स्थानीयवासीको पनि सहभागिता  छ । योग शिविरको शुभारम्भ गर्दै गोकर्णेश्वर नगर प्रमुख दीपककुमार रिसालले प्रत्येक वडामा कम्तीमा एउटा योग भवन बनाउने लक्ष्यका साथ काम भइरहेको बताए। 
नगर क्षेत्रमा हाल १५ स्थानमा नियमित योग शिविर सञ्चालन भइरहेको र यसका लागि आवश्यक सहयोग गरिएको उनले जानकारी दिए।

बिर्तामोड नगर अस्पताल भवन सम्पन्न

झापाको बिर्तामोड नगरपालिकामा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ ।संघीय सरकारको रू पाँच करोड ५० लाख सात हजार सात सय ६० लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको हो । 

भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिए। नगर अस्पतालबाट  स्वास्थ्य बिमासहित दैनिक बहिरंग, प्रयोगशाला, भिडियो एक्स–रे, ईसीजी, प्रसुती, एक्स–रे लगायतका २१ ओटा सेवा प्रवाह हुनेछन्। 

पदमार्ग प्रचारप्रसार गर्दै दोर्दी गाउँपालिका

लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ । गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो ।

गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले चार दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए। 
उनका अनुसार दोर्दीको नौथरसेराबाट सुरु भइ इलम पोखरी, लिपेलेक हुँदै दास्राङबाट फेरि नौथरसेरा झर्ने चार दिने पदयात्रा गर्न सकिन्छ । साथै नौथरसेराबाट इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा आठ दिनको यात्रा गर्न सकिन्छ । नौथरसेरा इलम पोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेसी शहरसम्मको ११ दिनको पदयात्रा गर्न सकिन्छ ।

स्वरोजगार बनाउन आधुनिक आरन र उपकरण हस्तान्तरण

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा परम्परागत रुपमा आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएकाहरुलाई आधुनिक आरन र उपकरण दिइएको छ।

आरन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले बुटवलभित्र आरन सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैची, रेती, घनलगायतका उपकरण दिइएको हो । औजार वितरण गर्दै नगर प्रमुख खेलराज पाण्डेयले सीपमार्फत स्वरोजगार बन्नका लागि आधुनिक उपकरणले थप सहज बनाउने बताए। 

लुङ्ग्रीमा कर्मचारी माग

रोल्पाको लुङ्ग्री गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सेवा करारमा रोजगार संयोजकमा एक जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रको लागि कर्मचारी माग गरेको हो । सो पदमा योग्यता पुगेका स्थानीय बासिन्दाले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।