close

स्नातकोत्तर उत्तिर्ण महिला सम्मानित, दिक्तेल रुपाकोट मझुवागढीमा बालविवाह रोकियो

स्नातकोत्तर उत्तिर्ण महिला सम्मानित, दिक्तेल रुपाकोट मझुवागढीमा बालविवाह रोकियो

Trulli
ADVERTISEMENT

जग्गा खोजी गर्दै तुलसीपुर उपमहानगर

दाङको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो नाममा रहेको जग्गा खोजी गरेको छ । केही समयअघि सूचना प्रकाशन गरेर उपमहानगरले आफ्नो नाममा भएको जग्गामा बनेका घर हटाउने जानकारी गराएको थियो। 

त्यसका लागि जग्गाको विस्तृत विवरण तयार गर्न अध्ययन गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताए।कोही जानाजान बसेको, केहीले  २०५३ सालमा जग्गा बेचेको र केही जग्गा उपमहानगरपालिकाको भएको भन्ने थाहा नभएर बसेको पाइएको उनको भनाइ छ।  जानाजान उपमहानगरपालिकाको जग्गामा बनेका घरलाई हटाउने र अञ्जानमा बसेकालाई सामाजिक न्यायका आधारमा प्रक्रिया अघि बढाउने उनले बताए। 

दिक्तेल रुपाकोट मझुवागढीमा बालविवाह रोकियो

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १० पाथेकाकी १७ वर्षीय किशोरी र सोही नगरपालिकाको वडा नं ६ नेर्पाका २२ वर्षीय युवकबीच हुन लागेको विवाह रोकिएको छ । 

किशोरीको उमेर २० वर्ष नपुग्दै मंगलबार विवाह हुन लागेको स्थानीय बाल क्लबले नगरपालिकालाई जानकारी गराएको थियो। बालविवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए।

निस्दी गाउँपालिकामा स्नातकोत्तर उत्तिर्ण महिला सम्मानित

पाल्पाको निस्दी गाउँपालिकाले स्नातकोत्तर तह उत्तिर्ण महिलालाई सम्मान गरेको छ । पालिकाले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पालिकाभित्रका स्नातकोत्तर तह उत्तिर्ण दश जना महिलालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको हो ।

पालिकाभित्रका महिलालाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न र बीचमै कक्षा छाड्ने दर घटाउन सम्मान गरिएको गाउँपालिकाकी उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताइन्। 

विवाह गर्नुअघि वडा कार्यालयको सिफारिस अनिवार्य

दैलेखको गुराँस गाउँपालिकाको वडा नम्बर ८ मा विवाह गर्नुअघि अनिवार्य रुपमा सिफारिस लिनुपर्ने भएको छ । वडा कार्यालयले फागुन २३ गतेदेखि लागू हुने गरी सो निर्णय गरेको हो । 

वडाध्यक्ष दिपेन्द्र वलीका अनुसार फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुपरेमा वडा कार्यालयबाट पूर्व अनुमति  लिनु पर्ने निर्णय गरेको थियो। वडा कार्यालयले कानुनविपरित विवाह गर्न निषेध गरेपनि लुकिछिपी बालविवाह हुने गरेको पाइएकाले सो निर्णय गरिएको उनले बताए । 

शुक्लाफाँटामा बडघर–भलमन्सा ऐन कार्यान्वयन
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बडघर–भलमन्सा प्रथाजन्य ऐनलाई कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाको दशौँ नगरसभाले बडघर संस्था परिचालन ऐन परित गरेको हो। 

ऐन कार्यान्वयनमा आएसँगै नगरपालिकाको वडावडामा बडघर–भलमन्सा चयनको कार्य गरिएको छ । वडामा चयन भएका वडघर–भलमन्साको भेलाले नगरस्तरीय समितिलाई पूर्णता दिएका छन् ।  नगरस्तरीय समितिले बडघर–भलमन्सा प्रथाको संस्थागत विकास, क्षमता अभिवृद्धिलगायतलाई अगाडि बढाउनका लागि कार्ययोजना तयार गरेको बडघर–भलमन्सा समितिको सचिवालय व्यवस्थापन संयोजक हवलदार चौधरीले बताए। 

तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो । 

नगरपालिकामा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न त्यस्तो घोषणा गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी गराए। 

लमहीमा धानको वीउ सिफारिस

दाङको लमही नगरपालिकाले उन्नत जातको धानको वीउ सिफारिस गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै उन्नत जातको धानको वीउ सिफारिस गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ५० प्रतिशत अनुदानमा धान वितरण गर्नको लागि वीउ सिफारिस गरिएको हो । राधा, हर्दिनाथ १, सुख्खा २, राम धान, साभा मन्सुली, अराइज ६४४४ र अराइज आइडिया धानको वीउ वितरणका लागि सिफारिस गरिएको नगरपालिकाले जनाएको छ ।