close

राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई, भक्तपुर नगरपालिकाका तीनओटा कार्यविधि पारित (भिडियाेसहित)

राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई, भक्तपुर नगरपालिकाका तीनओटा कार्यविधि पारित (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्दै सूर्यविनायक

भक्तपुरको सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ । नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ बमोजिम प्रधानाध्यापक नियुक्ति गर्न लागिएको जनाएको छ।

तोकिएको योग्यता पुगेका व्यक्तिले सुचना प्रकासित भएको १५ दिन भित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद उपशाखामा आफै उपस्थित भइ प्रधानाध्यापक पदमा दरखास्त पेश गर्न सक्ने छन्। 

खार्पुनाथको वडास्तरमै हेलिकप्टरमार्फत नुन ढुवानी

हुम्लाको खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको छ । गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानीका लागि अनुदानको नुन बिक्री–वितरण गरिएको हो । 

सप्लायर्स कम्पनीसँग गाउँपालिकाको समन्वयमा गाउँपालिकाभरि एक हजार एक सय ९७ क्विन्टल नुन ढुवानी गरेर  बिक्री गरिएको हो । पहिलो पटक गाउँपालिकावासीले आफ्नै गाउँमा वा वडामा उक्त नुन पाएका छन् । यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट गाउँवासीले छुटकारा पाएको पालिकाअध्यक्ष कर्णबहादुर रावलले बताए। 

राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई

इलामको फाकफोकथुममा सम्पन्न १३औँ जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । फाकफोकथुम गाउँपालिका–३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा बिहीबार सम्पन्न प्रतियोगितामा इलामले २४ स्वर्ण, सात रजत र १० कास्य प्राप्त गरेको छ। 

नौ स्वर्ण, आठ रजत र पाँच कास्यसहित थुलाथुली गाउँपालिका दोस्रो र छ स्वर्ण, छ रजत र १० कास्य पदकसहित सूर्योदय नगरपालिका तेस्रो भएका छन्। 

व्यासमा कृषकलाई मकैको बीउ वितरण

तनहुँको  व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण  गरेको हो । 

कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिइन्। प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकलाई उनीहरुले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उनले बताइन्।

मोदीमा तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप २०७९ तथा पालिकाको सातौं स्थापना दिवस

पर्वतको मोदी गाउँपालिकाले तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप २०७९ तथा पालिकाको सातौं स्थापना दिवस मनाउने भएको छ । 

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभाको अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यतामा शनिबारदेखि सो कार्यक्रम सुरु हुने जनाएछ । फागुन २७ गतेदेखि ३० गतेसम्म वडा नम्बर १ भुकमा कार्यक्रम सञ्चालन हुने सुचनामा उल्लेख छ। 

लुङग्रीमा मनोसामाजिक तालिम

रोल्पाको लुङ्ग्री गाउँपालिकाले मनोसामाजिक मनोविमर्श तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको समन्वय तथा स्ट्रोम फाउण्डेसन र हुरेक नेपालको साझेदारीमा सञ्चालित दिगो तथा मर्यादित समाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाले एक सुचना जारी गर्दै तालिम करिब ६ महिना सञ्चालन हुने जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने कक्षा १२ उत्तिर्ण भएका महिलाले सूचना प्रकासित भएको ७ दिनभित्र गाउँपालिकामा आवेदन दिन सक्ने छन्। आवेदकहरुमध्येबाट एक जनालाई तालिममा सहभागी गराइने सुचनामा उल्लेख छ । 

भक्तपुर नगरपालिकाका तीनओटा कार्यविधि पारित

भक्तपुर नगरपालिकाले ३ वटा कार्यविधि, ३ वटा निर्देशिका र २ वटा विनियम पारित गरेको छ। नगरपालिकाको नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षता बिहीबार सम्पन्न तेह्रौं नगरसभाले उक्त कानुन पारित गरेको हो।

नगरसभाले घर–जग्गा बहाल व्यवस्था निर्देशिका, २०७९, युवा उद्यमशीलता प्रवद्र्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका २०७९ र जनप्रतिनिधिहरूलाई दिइने पोशाक सुविधासम्बन्धी निर्देशिका २०७९ सर्वसम्मतिले पारित गरेको छ। 

यस्तै नगर कार्यपालिका तथा समितिको बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७९, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि २०७९ पारित भएका छन्। २०७९ माघ २३ गतेबाट सुरु भएको तेह्रौं नगरसभाले ख्वप कलेज अफ लको प्रस्तावित विनियम २०७९, सहकारी नियमावली पारित गरेको नगरपालिकाले जनाएको छ।