close

माइजोगमाईमा करार सेवामा कर्मचारी माग, सडक क्षेत्राधिकारको संरचना हटाउन फुङलिङको निर्देशन (भिडियाेसहित)

माइजोगमाईमा करार सेवामा कर्मचारी माग, सडक क्षेत्राधिकारको संरचना हटाउन फुङलिङको निर्देशन (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

सडक क्षेत्राधिकारको संरचना हटाउन फुङलिङको निर्देशन

ताप्लेजुङको फुङलिङ नगरपालिकाले सडक वरिपरीको संरचना हटाउन निर्देशन गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सडक क्षेत्राधिकारमा पर्ने संरचना आफैं हटाउन अन्तिम सात दिन निर्देशन दिएको हो । 

नगरपालिकाले सडक क्षेत्रको संरचना हटाउनका लागि पटकपटक सूचना दिए पनि अटेर गरेकाले ७ दिने निर्देशन दिएको हो । नगरपालिकाले सडक बीचदेखि दायाँ र वायाँ दुबै क्षेत्रमा साढे ७ मिटर खाली गर्न निर्देशन गरेको हो । 

माइजोगमाईमा करार सेवामा कर्मचारी माग

इलामको माईजोगमाई गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अपांगता सहायता सहजकर्तामा एक जना करार सेवामा कर्मचारी माग गरेको हो ।

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्नेछन्। 

कृषकलाई माछाका भुरा वितरण
म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् ।

विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् । जिल्लाका ४५ कृषकलाई माछाको भुरा वितरण गरिएको हो। 

प्रदेशले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता

बैतडीको  पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले सुदूरपश्चिम प्रदेश सरकारले  उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स तीन वर्षमा फिर्ता गरेका हुन् । 

ग्रामीण सडकमा सञ्चालन गर्न समस्या भएको भन्दै ती एम्बुलेन्स फिर्ता गरिएको पालिकाले जनाएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तीन वर्षअघि प्रदेशका १६ स्वास्थ्य संस्था तथा अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो । 

निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्दै रामपुर

पाल्पाको रामपुर नगरपालिकाले निःशुल्क लोक सेवा कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै लोक सेवा आयोगबाट सञ्चालन हुने नायब सुब्बा र खरिदार तहका तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको छ। 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ । कक्षा ३० दिनसम्म सञ्चालन हुने छ । कक्षा १२ उत्तीर्ण भएका व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

सिंहदरबारलाई समस्याको चाङ देखाउन फोहोर उठेन

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेको बताएका छन् । 

नगरप्रमुख शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत बाध्य भएर फोहोर नउठाउने निर्णय गरेको जनाएका छन् । उनले स्थानीय सरकारसँग सिंहदरबारले असमन्वयकारी भुमिकाले गर्दा फोहोर नउठाएको बताएका छन् । 

छ वर्षपछि बडिगाड गाउँपालिकाको सेवा आफ्नै भवनबाट

बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थापनाको छ वर्षपछि आफ्नै अत्याधुनिक सुविधायुक्त प्रशासनिक भवनबाट सेवा दिन थालेको बडिगाड गाउँपालिकाले जनाएको छ । 

भवन निर्माणपछि गाउँपालिकालाई हस्तान्तरण भएपछि यसै सातादेखि सेवा आफ्नै भवनबाट  सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । भवन निर्माणका लागी स्थानीयले ११ रोपनी जग्गामा निःशुल्क उपलब्ध गराएका थिए ।