close

स्थानीय न्यायिक समितिलाई पत्राचार : दोहोरो सुविधा लिने २ हजार ४६६ जनालाई कारबाही गर्नु

स्थानीय न्यायिक समितिलाई पत्राचार : दोहोरो सुविधा लिने २ हजार ४६६ जनालाई कारबाही गर्नु

Trulli
ADVERTISEMENT

काठमाडौं- देशभरका ७५३ स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता लिनेको नाम दोहोरो देखिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले छानबिन थालेको छ । 

सबै स्थानीय तहबाट चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षाभत्ता परिचयपत्र नवीकरण हुने क्रममा करिब एक हजार ८०० जनाको नाम दोहोरो देखिएको विभागका निर्देशक नवराज जैसीले बताए । उनका अनुसार छानबिनको काम नसकिएको हुँदा यसभन्दा थप बोल्न नमिल्ने पालिकाखबरलाई बताए तर छिटै छानबिन निष्कर्षमा पुग्ने उनको भनाइ छ । 

निर्देशक जैसीका अनुसार कतिपय स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता हिनामिना भएको आशंकामा छानबिन भइरहेको हो । छानबिन गर्नका लागि विभागले प्रमुख जिल्ला अधिकारी र स्थानीय तहलाई पत्राचारसमेत गरिसकेको छ । 

साथै पेन्सनलगायत राज्यबाट अन्य सुविधा र सामाजिक सुरक्षा भत्ता पनि लिनेहरूमाथि पनि विभागले छानबिन तीव्र बनाएको छ । गत आर्थिक वर्षभित्र २ हजार ४६६ जनाले दोहोरो सुविधा लिएको पुष्टि भएपछि विभागले आवश्यक असुलउपर तथा कारबाहीका लागि स्थानीय न्यायिक समितिलाई पत्राचार गरिसकेको विभागले पालिकाखबरलाई जनाएको छ । विभागले छानबिन गरे पनि कारबाही गर्ने अधिकार स्थानीय न्यायिक समितिसँगमात्र रहेको निर्देशक जैसीले बताए ।