close

असलाको हब गल्कोट : अण्डा पार्ने अवधि ३ महिनाका लागि मार्न निषेध

असलाको हब गल्कोट : अण्डा पार्ने अवधि ३ महिनाका लागि मार्न निषेध

Trulli
ADVERTISEMENT

बागलुङ– गल्कोट नगरपालिकाले खोलामा पाइने ‘लोकप्रिय माछा’ असलाको संरक्षणमा जोड दिन थालेको छ । नगरपालिकाले तीन महिनासम्म खोलामा माछा मार्न निषेध गरेको प्रथम चौमासिक प्रतिवेदनमा उल्लेख गरेको छ । 

आर्थिक वर्ष २०८०/८१ को प्रथम चौमासिकको कार्यप्रगति विवरण सार्वजनिक गर्दै नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गर्दै भदौ १ देखिकात्तिक मसान्तसम्म माछा मार्न निषेध गरेको जनाएको हो । 

माछाको संरक्षणको लागि तीन महिनासम्म माछा मार्न निषेध गरेको बारे गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा पालिकाखबरसँग भने, ‘भदौ, असोज र कात्तिक महिना असला माछाको अण्डा पार्ने समय हो । यो समयमा माछा मार्दा भुरा पनि मर्न सक्छन् र अण्डा पनि कम हुन्छ ।’

खोलामा माछाको मात्रा बढाउने उद्देश्यले तीन महिनाका लागि माछा मार्नमा प्रतिबन्ध लगाइएको उनले बताए । नगरपालिकाको सो निर्णयले असला माछाको संरक्षणसमेत हुने उनको भनाइ छ । खोलामा माछा धेरै हुँदा स्थानीयले धेरै माछा बिक्री गर्न सक्ने र उनीहरुको जीविकोपार्जनमा समेत सहज हुने नगरप्रमुख शर्माले बताए । 

जलचर संरक्षण ऐन, २०१७ को दफा ३ ले कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने वा मार्ने अभिप्रायले जानी जानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै किसिमको विद्युतीय धार (करेण्ट) विष्फोट पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न बन्देज लगाएको छ । सोहि ऐनअनुसार गल्कोट नगरपालिकामा समेत खोलामा करेन्ट राखेर, विषादी प्रयोग गरेर माछा मार्नमा समेत निषेध गरिएको छ ।

खोलाका छालमा बल्छी थापेर भने नगरपालिकाले निषेध गरेको ३ महिना बाहेकका समयमा माछा मार्न सकिने नगरप्रमुख शर्माले बताए । चालु आर्थिक वर्षमा जस्तै आगामी आर्थिक वर्षमा पनि असला माछाले अण्डा पार्ने समयमा माछा मार्न निषेध गरिने उनले जानकारी दिए । 

दरमखोलाको माछा गल्कोटका साथै अन्य स्थानसम्म निकै प्रख्यात रहेको नगरप्रमुख शर्माले बताए । उनले भने, ‘यहाँको माछा निकै स्वादिलो हुने भएकाले स्थानीय बजार तथा होटलहरूमा नै बिक्री हुन्छ ।’

दरमखोलाको माछा पोखरा, काठमाडौं हुँदै नेपाल बाहिरसम्म प्रख्यात रहेको उनले बताए । उनले भने, ‘यहाँका माछा सुकुटी बनाएर कोसेली पठाउने पनि चलन छ । काठमाडौंदेखि नेपाल बाहिरसम्म कोसेलीको रुपमा सुकुटी पठाइन्छ ।’