close

गाउँसभाबाट नगर प्रहरी ऐन पारित

गाउँसभाबाट नगर प्रहरी ऐन पारित

Trulli
ADVERTISEMENT

तनहुँ- म्याग्दे गाउँपालिकाको १५औं गाउँसभाले चारवटा ऐन पारित गरेको छ । गाउँसभाबाट नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन (पहिलो संशोधन) पारित भएको हो । 

गाउँसभाबाट ऐन पारित भएसँगै नगर प्रहरी नियुक्तिका लागि बाटो खुलेको छ । गाउँपालिकामा हालसम्म नगर प्रहरीको व्यवस्था भएको थिएन । गाउँसभामा संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समितिका संयोजक चिनीमाया थापाले पालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०८० पेस गरेकी थिइन् । त्यसैगरी वातावरण समितिका संयोजक शिवबहादुर आलेले पालिकाको वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन गर्न बनेको विधेयक, २०८० पेस गरेका थिए । 

नगर प्रहरी व्यवस्थापन गर्न बनेको विधेयक, २०८० संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समिति संयोजक चिनीमाया थापाले पेस गरेकी थिइन् । गाउँसभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक बालकृष्ण घिमिरे, सार्वजनिक लेखा समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक शिवबहादुर क्षेत्री, सुशासन समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीले पेस गरेका थिए ।