close

पाँचखालकाे नगरसभा : २९ दशमलव ३६ प्रतिशत खर्च, चार विधेयक​​​​​​​ पारित र अरु केके भए निर्णय?

पाँचखालकाे नगरसभा : २९ दशमलव ३६ प्रतिशत खर्च, चार विधेयक​​​​​​​ पारित र अरु केके भए निर्णय?

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक - पाँचखाल नगरपालिकाको बिहिबार सम्पन्न १४औँ नगरसभाले चार विधेयक पास गरेको छ । नगरप्रमुख महेश खरेलले पेस गरेको दुई विधेयक संशोधन प्रस्ताव र दुई नयाँ विधेयक नगरसभा सदस्यले सर्वसम्मत पास गरेका हुन् ।

खरेलद्वारा प्रस्तुत दुई नयाँ नगर प्रहरी विधेयक, २०८० र वन विधेयक, २०८० सर्वसम्मतले पास गरिएको हो । यस्तै खरेलद्वारा प्रस्तुत आर्थिक ऐन संशोधन र विनियोजन ऐनमा संशोधन प्रस्ताव पास भएको छ । उपप्रमुख सूर्यमाया दनुवारले चालु आर्थिक वर्षको पुससम्मको समग्र प्रगति र न्यायिक समितिको प्रगति प्रस्तुत गरेका थिए ।

नगरको चालु आव २०८०/८१ का लागि विनियोजित कुल  ७९ करोड ९८ लाख रुपैयाँमध्ये हालसम्म २९ दशमलव ३६ प्रतिशत खर्च भएको छ । चालुतर्फ १५ करोड २४ लाख चार हजार रुपैयाँ र पुँजीगततर्फ २६ दशमलव ९७ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।
 
यस्तै नगरको चालु आवको हालसम्म विषयगत खर्च विवरणानुसार आर्थिक विकासतर्फ तीन करोड ११ लाख ७८ हजार रुपैयाँ विनियोजन भएकामा २५ दशमलव १२ प्रतिशत, सामाजिक विकासतर्फ २९ करोड ५८ लाख चार हजार रुपैयाँ विनियोजन भएकामा ३२ दशमलव ९९ प्रतिशत, पूर्वाधार विकासतर्फ विनियोजित २५ करोड ४९ लाख ८३ हजार रुपैयाँमध्ये २८ दशमलव ९८ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ  दुई करोड १० लाख ६१ हजार ५०० रुपैयाँ विनियोजन भएकामा १० दशमलव ०७ प्रतिशत तथा कार्यालय सञ्चालन र प्रशासनिक विषयतर्फ विनियोजित १९ करोड ६८ लाख एक हजार ५०० रुपैयाँमा २७ दशमलव १७ प्रतिशत खर्च भएको छ ।