close

गोरखाको भिमसेनथापाले भन्यो- ‘न्याय नपाए अनलाईनमा आउनु’

गोरखाको भिमसेनथापाले भन्यो- ‘न्याय नपाए अनलाईनमा आउनु’

Trulli
ADVERTISEMENT

गोरखा– भिमसेनथापा गाउँपालिकाका स्थानीयले अनलाइनबाट उजुरी दर्ता गर्न सक्ने भएका छन् । यसका लागि गाउँपालिकाले डिजिटल सफ्टवेयर तयार गरेर सञ्चालनमा ल्याएको छ । 

करिब डेढ महिना अघिदेखि सफ्टवेयर सञ्चालनमा आएको र 'डेमो'को रुपमा सञ्चालन भइरहेको गाउँपालिकाका उजुरी प्रशासक प्रदीप भट्टले बताए । अब भने स्थानीयले अनलाइनमार्फत जुनसुकै स्थानबाट उजुरी दर्ता गर्न सक्ने उनले जानकारी दिए । 

अनलाइनबाट नै उजुरी दर्ता गराएर गाउँपालिकाका न्याय निरुपणका कामलाई थप छिटो छरितो र प्रविधिमैत्री ढंगले सम्पन्न गर्ने उद्देश्य रहेको उनले बताए । पालिकाको उजुरीको लागि सञ्चालनमा ल्याएको वेबसाइट मा गएर अनलाइन फारम भर्न सकिने उनले बताए । वेबसाइटमा गएर अनलाइनको उजुरी दर्तामा गएर उजुरी दर्ता गर्न सक्नेछन् ।

उजुरी दर्ता गर्ने क्रममा निवेदकको विवरण, विपक्षीको विवरण, विवादको प्रकार, विवादको विषयमा विस्तृत जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ । यसका साथै उजुरी दर्ता गर्न कानून व्यवसायी नियुक्त गरेको भएमा सोको विवरण, दाबीलाई पुष्टि गर्ने प्रमाण सम्बन्धित कागजातको प्रतिलिपि आलि पेश गरेर उजुरी गर्दा गर्न सकिने उनले जानकारी दिए । 

उजुरी परेका प्रतिवादीले लिखित जवाफ पनि अनलाइनबाट नै पठाउन सक्नेछन् । अनलाइनमार्फत परेका उजुरी हेरेर सोको टुङ्गो पालिकास्तरीय न्यायिक समितिले गर्ने वा वडास्तरीय मेलमिलाप केन्द्रबाट छिनोफानो गर्ने निर्णय गरिने उनले बताए । 

‘वडाबाट टुङ्गो नलागेका उजुरी छिनोफानोका लागि समितिमा नै ल्याउनुपर्ने हुन्छ । त्यसैले वडाबाट नै छिनोफानो हुने उजुरी वडामा पठाउछौँ । जटिल खालका मुद्दाको सुनुवाई न्यायिक समितिबाट नै गछौँ ।’ मुद्दाको प्रकृतिअनुसार मेलमिलाप केन्द्र तथा न्यायिक समितिबाट छिनोफानो हुने उनले बताए । 

गोरखा जिल्लाको पनि विकट भूभागमा पालिका भएकाले सबैले अनलाइन सेवा लिन सक्ने सम्भावना कम रहेको पालिकाका उजुरी प्रशासक भट्टले स्वीकारे । अनलाइनबाट उजुरी दर्ता गर्ने विषयमा विद्यार्थीहरुलाई शिक्षा दिने उनको भनाइ छ । उनले भने, ‘ विद्यालयमा गएर विद्यार्थीलाई न्यायिक शिक्षा उपलब्ध गराउँछौँ ।’ अनलाइन उजुरी दर्ताका लागि समुदायमा समेत कानुनी परामर्श सेवा उपलब्ध गराउने उनले जानकारी दिए । 

उनका अनुसार हाल गाउँपालिकाको ८ वटै वडामा ४८ घण्टे तालिम दिएर मेलमिलाप केन्द्र सञ्चालन गरिएको छ । मेलमिलाप कर्ताले उजुरी आइसकेपछि उजुरीको फोटो खिचेर पालिकामा पठाउने र सो उजुरीको दर्ता गरेपछि मात्र मेलमिलापको काम अघि बढ्ने गरेको उनले जानकारी दिए । 

उनले पालिकाखबरसँग भने, ‘मेलमिलाप कर्ताले कहिलेकाँहि अदालतमा दर्ता गर्नुपर्ने प्रकृतिका मुद्दाहरू पनि दर्ता गर्नुहुन्छ । त्यस्ता गल्ती नहोस् भनेर दर्ता नम्बर पाएपछि मात्र मेलमिलापको प्रकृया अघि बढाउने गर्नुस् भन्ने गरेका छौँ ।’