close

बन्दिपुरको न्यायिक कार्यमा युवालाई अवसर

बन्दिपुरको न्यायिक कार्यमा युवालाई अवसर

Trulli
ADVERTISEMENT

तनहुँ– बन्दिपुर गाउँपालिकाले मेलमिलापकर्ताको तालिम सञ्चालन गर्ने भएको छ । वडास्तरमा नै विवाद निरुपण गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र सञ्चालनको लागि गाउँपालिकाले मेलमिलापकर्ताको तालिम दिन लागेको हो । 

गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै यही फागुन १४ गतेभित्र तालिम लिन इच्छुक योग्य स्थानीयलाई आवेदन पेश गर्न अनुरोध गरेको छ । हाल वडाको मेलमिलाप केन्द्रमा पाको उमेर समूहका मेलमिलापकर्ता रहेकाले न्यायिक कार्यमा युवाको संलग्नता बढाउन तालिम दिन लागेको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक पञ्च माया गुरुङले बताइन् । 

पूराना मेलमिलाप कर्तालाई पुनर्ताजगी तालिमसमेत प्रदान गर्न लागेको उनले बताइन् । उनले पालिकाखबरसँग भनिन्, ‘पाको उमेरका मेलमिलापकर्ताबाट त्यत राम्रो कार्य सम्पादन भएन । उहाँहरुको सट्टामा मेलमिलापसम्बन्धी तालिम दिएर युवालाई राख्न खोजेका हौँ ।’

गाउँपालिकाका अधिकांश विवाद वडाका मेलमिलाप केन्द्रबाट नै समाधान हुने गरेको उपाध्यक्ष गुरुङले बताइन् । चालु आर्थिक वर्षमा न्यायिक समितिमा ३ वटा मुद्दा मात्र आइपुगेको उनको भनाइ छ । मेलमिलाप केन्द्र तथा न्यायिक समितिमा सामान्य झैझगडा, गालीगलौज तथा लेनदेनको विवादका मुद्दा आउने गरेको र दर्ता भएका सबै मुद्दाको फछ्र्यौट गर्दै आएको उनले जानकारी दिइन् ।