close

कोरोना कहरमा के गर्दैछन् काठमाडौंका स्थानीय सरकार ?

कोरोना कहरमा के गर्दैछन् काठमाडौंका स्थानीय सरकार ?

Trulli
ADVERTISEMENT

काठमाडौं– देशभर कारोेना संक्रमितको संख्या घटिरहँदा काठमाडांैमा भने दैनिकजसो बढ्दै गएको छ ।  मंगलबार  देशभर १ हजार ५ सय १३ जना संक्रमित थपिँदा काठमाडांैमा मात्रै ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबारको तथ्यांकअनुसार काठमाडौंमा संक्रमितका संख्या १८ हजार  १ सय ३० पुगेको छ, जहाँ कोभिड संक्रमित ८ हजार ४ सय ६४ उपचाररत छन् भने ९ हजार ५ सय ७३ जना डिस्चार्ज भइसकेका छन् । हालसम्म काठमाडौंमा मात्र ९२ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं जिल्लाका स्थानीय सरकारहरूले पहल गरिरहेका छन् । आइसोलेसन वार्ड निर्माण गर्नेदेखि पोषण भत्तासमेतको व्यवस्था गर्दै आएका छन् ।

टोखा नगरपालिकाको पोषण भत्ता

टोखा नगरपालिकाकले संक्रमितलाई होम आइसोलेसनमा बस्न प्रेरित गर्नका लागि पोषण भत्ताका व्यवस्था गरेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीका अनुसार गत भदौ ३ गतेको नगर कार्यपालिकाको बैठकले  आइसोलेसन बनाउने निर्णय गरेको थियो । सोहीअनुसार १७ बेडको आइसोलेसन तयार भयो ।

होम आइसोलेसन बस्न समस्या हुनेहरूका लागि आइसोलेसनमा पहिलो प्राथमिकता दिइयो । होम आइसोलेसन बस्नेहरूका लागि  टोखा नगरपालिकाले प्रतिव्यक्ति ३ सय ५० का दरले पोषण भत्ता दिने निर्णण गरेको थियो ।

हालसम्म ९० जनालाई पोषण भत्ता दिइएको छ । अधिकारी भन्छन्, ‘कतिपय अवस्थामा आफंैले रकम पु¥याएका छौं ।

टोखामा हालसम्म ४ हजार ५ सयको पीसीआर परीक्षण गरिएकामा ८ सय २५ जना संक्रमित फेला परेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

कीर्तिपुरले बनायो क्वारेन्टाइनलाई आइसोलेसन

कीर्तिपुर नगरपालिकाले जनस्वास्थ्य कार्यालयमा रहेको २ सय बेडको क्वारेन्टाइनलाई आइसोलेसन बनाएको छ । नगरप्रमुख रमेश महर्जनका अनुसार  त्रिभुवन विश्वविद्यालयको रिसर्च सेन्टरलाई समेत २ सय बेडको आइसोलेसन बनाइएको छ ।

नगरपालिकाभित्रै पीसीआर ल्याब सञ्चालनको तयारीमा रहेको महर्जनले जानकारी दिए ।  सो नगरपालिकामा ६५ जनामा कोरोना संक्रमण देखिएको छ ।   नगरको होम आइसोलेसनमा ६० जना रहेको महर्जनले बताए ।

कोरोना मुक्त बन्यो दक्षिणकाली

दक्षिणकाली यतिबेला कोरोना मुक्त नगरपालिका बनेको छ । केही दिनअघि नगरपालिकाभित्र ३३ जना कोरोना संक्रमित  रहेका  थिए । नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा बसेर संक्रमित निको भई घर फर्केको नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए ।

त्यसपछि नयाँ संक्रमित भने फेला परेका छैनन् ।  नगरपालिकाले ३ बेडको आइसोलेसन निर्माण गरेको छ ।

कागेश्वरी मनोहराद्वारा साताको दुई पटक कोरोना टेस्ट

कागेश्वरी मनोहरा नगरपालिकाले सातको दुई दिन कोरोना परीक्षण गरिरहेको छ । संक्रमणलाई समुदायमा फैलिन नदिन नगरपालिकाले सो कार्य गरेको नगरकी उपप्रमुख बिन्दु सिम्खडाले जानकारी दिइन् ।

उनका अनुसार  ६० बेडको आइसोलेसन तयारी अवस्थामा छ । साथै, २५ बेडको क्वारेन्टाइन तयारी अवस्थामो छ ।  कागेश्वरी मनोहरा नगरपालिकामा ३ सय २२ जना संक्रमित छन्, जसमध्धे २ सय २१ होम आइसोलेसनमा रहेका छन् भने ३४ जना अस्पतालमा छन् । उनका अनसार होम आइसोलेसनमा बसेकाहरूको पुनः स्वाब परीक्षणका लागि स्वास्थ्यकर्मी खटाइएको छ ।  

गोकर्णेश्वर नगरपालिकाले बनायो ७१ शैयाको आइसोलेसन

गोकर्णेश्वर नगरपालिकाले ७१ शैयाको आसोलेसन तयार पारेको उपप्रमुख शान्ति नेपालले जानकारी दिइन् । उनका अनुसार  नगरपालिकामा ४ सय ५८ जनामा कोरोना देखिएको थियो  । हाल ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

चन्द्रगिरि नगरपालिकाले बनायो बाहिरबाट आउनेलाई क्वारेन्टाइन

यो नगरपालिकाले काठमाडौं बाहिरबाट आएकालाई लकडाउनको सुरु अवस्थादेखि क्वारेन्टाइनमा राख्दै आएको छ । नगरपालिकाले  जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी, १० वटा एम्बुलेन्स चालकको १० लाखको बिमा  गरेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएका बिरामीलाई होम आइसोलेसन र घर बस्ने सुविधा नभएकालाई  नगरले बनाएका आइसोलेसनमा रााखिएको छ ।  

तारकेश्वर नगरपालिकाले दियो होम आइसोलेसनमा बस्नेलाई ५ हजार

तारकेश्वर नगरपालिकाले संक्रमितलाई होम आइसोलेसनमा बस्न प्रेरित गर्नका लागि प्रतिव्यक्ति ५ हजार  पोषण भत्ताको व्यवस्था गरेको छ । नगरपालिकाका उपप्रमुख भवानी डोटेल धितालका अनुसार सो रकम र स्वास्थ्य सामग्री १ सयलाई वितरण गरिएको  छ । ५० बेडको क्वारेन्टाइनका साथै २५ बेडको आइसोलेसन तयार पारिएको छ । हालसम्म ४ सय ९४ जना संक्रमित छन् ।

नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, शंखरापुर नगरपालिकाले पनि संक्रमण नियन्त्रणका लागि आइसोलेसन निर्माण गरेका छन्  । परीक्षणको दायरा बढाउँदै लगेका छन् ।