close

गाउँपालिका अध्यक्षको श्रमदानबाट बन्यो एकल महिलाको घर

गाउँपालिका अध्यक्षको श्रमदानबाट बन्यो एकल महिलाको घर

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा वर्षाका कारण घर चर्किएपछि विस्थापित भएकी एकल महिलाका लागि अस्थायी आवासको व्यवस्था मिलाइएको छ ।

गत ४ असोज ७ गतेसम्म परेको अविरल वर्षाका कारण घर चर्किएर बस्नै नहुने भएपछि विस्थापित भएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुकी एकल महिला दहलकुमारी राईका लागि अस्थायी आवास निर्माण गरिएको हो ।

दहलकुमारीको बसोबासका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईको संयोजनमा शनिबार श्रमदानबाट बाँसको टाँटीले बारेर त्रिपालको छाना हालेर अस्थायी टहरा बनाइएको वडा सदस्य अमृत गिरीले बताए ।

एकल महिलाको अस्थायी आवास निर्माणका लागि गाउँपालिका अध्यक्ष, वडाध्यक्ष पूर्णबहादुर खड्का, वडा सदस्य गिरी, तुलसकुमार राई लगायतले श्रमदान गरेका छन् ।

घर चर्किएर बस्नै नमिल्नेगरी कोल्टिएपछि हाल देवरको घरमा बसिरहेकी राईलाई गाउँपालिकाले गत बिहीबार राहत स्वरुप ३० हजार प्रदान गरेको थियो ।

श्रीमानको मृत्यु भइसकेको र भएकी एक्ली छोरीको विवाह भएपछि दहलकुमारी एक्लै बस्दै आएकी छन् । वर्षाका कारण जमिन गलेर भासिदा दहलकुमारीको घरको बीचभागबाट एक भित्ता फाटेको छ । जमिन भासिएका कारण घरको थाम बांगिनुका साथै घर कोल्टिएको छ । ‘घरको पर्खाल करिब एक वित्ता फाटेको छ, फर्किएर त्यही घरमा बस्न सकिने अवस्था छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अलि वर्षा भए जुनसुकैबेला घर ढल्ने खतरा छ । त्यही भएर अस्थायी आवासको व्यवस्थापन गरिदिएका हौँ ।’