close

छांगरुवासी इन्टरनेट चलाउन अब भारत जानै पर्दैन, टिंकरवासी अझै रुखकै टुप्पामा

छांगरुवासी इन्टरनेट चलाउन अब भारत जानै पर्दैन, टिंकरवासी अझै रुखकै टुप्पामा

Trulli
ADVERTISEMENT

दार्चुला- कालपानी क्षेत्रको व्यास गाउँपालिका– १ छांगरुका नागरिकका लागि अहिले पनि आफन्त वा कसैसँग मोबाइलमा कुरा गर्नु परे मोबाइल नेटवर्कले राम्रो काम गर्दैन । स्काई फोनको टावर भए पनि प्रस्ट आवाज सुन्न सकिँदैन ।

 

तर, अहिले चोला फेरियो । यो ठाउँका नागरिक मोबाइल फोनले नभई इन्टरनेटका कारण आफन्त र विश्वको खबर क्षणभरमै जानकारी लिन सक्ने भएका छन्

 

पछिल्लो समय निजी इन्टरनेटप्रदायक भायनेटले व्यासको छांगरुमा निःशुल्क इन्टरेनट जडान गरेपछि ग्रामीण भेगका नागरिकले विश्व चियाउने मौका पाएका हुन् ।

टेलिफोन तथा मोबाइल प्रयोग गर्न नपाए पनि अहिले यहाँका नागरिकले इन्टरनेट सेवामार्फत सहज रुपमा सेवा पाएका छन् ।
इन्टरनेटको पहुँच भएपछि व्यासको छांगरुका सर्वसाधारण, सुरक्षाकर्मी वाईफाईमा रमाइरहेका छन् ।

व्यासको छांगरुमा भायनेटमार्फत वाईफाई जोडेको दुई वर्ष भयो । गत वर्षसम्म भारतका आइटिबी, एसएसबी र आफन्तजनहरू छांगरु आएर वाईफाई चलाउँथे ।

‘भारततिर फोन इन्टरनेट नहुँदा त्यहाँका सुरक्षाकर्मीदेखि सर्वसाधारण छांगरुमा आएर इन्टरनेट प्रयोग गर्थे’, स्थानीय दोर्जी लामाले भने, ‘अहिले सीता पुल गत ११ चैतदेखि बन्द भएपछि वाईफाई प्रयोग गर्न आएका छैनन् ।’

उनीहरू नेपाल आएर वाईफाई चलाउँदा दुवै देशबीचको सम्बन्ध पनि राम्रो थियो । अहिले सीमा विवादले भारतीय सुरक्षाकर्मी र सर्वसाधारण पनि छांगरु आउन छाडेको छाडेको लामा सुनाउँछन् ।

इन्टरनेटको पहुँच भएपछि आफन्तसँग भिडियोमा कुरा गर्न छांगरुका वासिन्दा बेलुकी दुई ठाउँमा जम्मा भएर रमाउने गर्छन् ।

‘भायनेटले स्वास्थ्य चौकी छांगरु र सामुदायिक मिलन केन्द्रमा निःशुल्क वाईफाई जडान गरेको छ’, कम्पनीका प्रतिनिधि दीपेश ऐतवालले भने ।

स्वास्थ्य चौकीमा सरकारी कार्यक्रमअनुसार निःशुल्क इन्टरनेट जडान गरिएको हो । भायनेट सञ्चालक छांगरुकै भएका कारण एउटा लाइन गाउँमा दिइएको छ ।

दीपेशले भने, ‘वाईफाई चलाउन भारततिरका सुरक्षाकर्मी मात्र होइन, छायालेक, गव्र्याङ, नपल्चु, रोङकाङ गुञ्जी, नाभी, कुटीबाटसमेत आउने गरेका थिए ।’

भारतमा फोन सुविधा नभएपछि उनीहरूले नेपाली फोन प्रयोग गर्थे । छांगरुमा रहेको स्काई टावरले भारतका यी गाउँमा काम गर्छ ।

‘अहिले भिडियो र म्यासेन्जरमा आफन्तसँग कुरा गर्न वाईफाईले सहज बनाएको छ’, स्थानीय जगदीशप्रताप ऐतवाल भन्छन्, ‘अहिले बालबालिकादेखि बुढापाकासम्म सामुदायिक मिलन केन्द्रमा राती अबेरसम्म बसेर वाईफाईमा रमाउँछन् ।’

छांगरुमा स्काई फोन प्रभावकारी नभएपछि ज्याक्ती डाँडामा नेपाल टेलिकमको नमस्ते टावर राख्ने तयारी छ । ज्याक्ती डाँडामा टेलिकमको टावर राखे छांगरुका साथै, भारतद्वारा अतिक्रमित कालापानी, नाभी, गुन्जी, कुटी गाउँसम्मै सहजै नेपाली सञ्चारको पहुँच पुग्नेछ ।

केही दिनअघि व्यास भ्रमणमा आएका गृहमन्त्री रामबहादुर थापा नेतृत्वको टोलीले पनि व्यासमा छिट्ट टेलिफोन टावर राखिने बताएका थिए । सामरिक महत्व बोकेको क्षेत्रमा सञ्चार सेवा प्रभावकारी नभएको पाइएकाले टेलिफोन विस्तार गरिने उनको भनाइ थियो ।

टिंकरबासी सञ्चारबाट वञ्चित

व्यास गाउँपालिका– १ छांगरुको एक गाउँमा स्काई टेलिफोन र भायनेटमार्फत वाईफाईको सुविधा हुँदा टिंकर गाउँ भने सञ्चारविहीन छ ।

टिंकरमा फोनले काम नगर्ने भएपछि स्थानीयलाई फोन गर्न डाँडा र रुखका टुप्पो चाहर्नु परेको सीमा प्रहरी टिंकर चौकीका इन्चार्ज हरकसिंह महताले बताए ।