close

दुहुँ गाउँको विकासः झोलुंगे पुलमा बम्जीजम्पको आनन्द, अपि हिमाल हेर्न भ्यू टावर

दुहुँ गाउँको विकासः झोलुंगे पुलमा बम्जीजम्पको आनन्द, अपि हिमाल हेर्न भ्यू टावर

Trulli
ADVERTISEMENT

दार्चुला-  भूगोलको हिसाबले सबैभन्दा सानो तर पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ रहेको दार्चुलाको दुहुँ गाउँपालिकाले साहसिक पर्यटक भित्र्याउन बम्जी जम्पसहितको झोलुंगे पुल निर्माणदेखि सुदूरपश्चिमकै अग्लो अपिहिमाल, ओम पर्वत र तराईको चुरे हिमालका ऋखंला देखिने गरी भ्यू टावर निर्माण गरेको छ ।


दुहुँ गाउँपालिकाको वडा नम्बर २ हिकिला र वडा नम्बर ५ गरमौरा जोड्ने झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुर्याइएको छ । दुुहुँका दुई वटा वडा जोड्न ३ सय ९० मिटर लामो र १ सय १० मिटर उचाईमा बम्जीजम्पीसहितको झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुर्याएको हो ।


अहिले झोलुंगे पुल निर्माणको काम मंसिर अन्तिमसम्म सक्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए । पुलको फाण्डेसनको काम सकाएर लठ्ठा तान्ने काम भइरहेको छ ।


पुलको लागत २ करोड १७ लाख रुपैयाँ छ । झालुंगे पुल निर्माणपछि साहसिक पर्यटनका रुपमा रहेको बञ्जीजम्पको सम्भावनासहित सुदुरपश्चिम प्रदेश सरकारको वन वातावरण तथा पर्यटन मन्त्रालयमा योजनाको विस्तृत प्रतिवेदन (डिपीआर) तयार गरेर पेश गरिएको छ ।


जिल्ला सदरमुकामबाट गाडीमा एक घण्टाको दुरीमा रहेको उक्त क्षेत्रमा पुल निर्माण भइ बञ्जी जम्प सञ्चालनमा आएपछि दार्चुलाको पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।


झोलुङ्गे पुललाई पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । मंसिर अन्तिमसम्ममा निर्माण सम्पन्न गरी झोलुङ्गे पुलमुनि स्वीमिङ पुल, पार्कलगायतका संरचना बनाउने योजना रहेको अध्यक्ष कार्कीले बताए ।


दुहुँ पर्यटकीय क्षेत्र अन्तर्गत पर्छ । यो क्षेत्रमा ब्रह्व मन्दिर देखि सिद्ध टोपी पर्दछ । सिद्ध टोपीमा निर्माण गरिएको भ्यू टावरमार्फत दार्चुला र धार्चुलाका विभिन्न पर्यटकीय गन्तव्यहरु देख्न सकिन्छ ।

भ्यु टावर बन्यो

गाउँपालिकाले समुद्रीसतहबाट झण्डै ४ हजार मिटर उचाईमा रहेको सिद्धटोपीमा जिल्लाकै अग्लो भ्यू टावर निर्माण गरेको छ । सुदूरपश्चिमकै अग्लो ७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपी हिमालदेखि तराईको चुरे पर्वतसम्म देखिने भ्यु टावर निर्माण गरिएको छ ।

 
संघीय सरकार र दुहुँ गाउँपालिकाको समपूरक अनुदानमा भ्यु टावर निर्माण गरिएको गाउँपालिका अध्यक्ष कार्कीको भनाइ छ । भ्यू टावर निर्माणको काम अन्तिम चरणमा छ ।


चार हजार मिटर उचाइको सिद्ध टोपीमा ५ तले भ्यू टावर निर्माण गरिएको छ । ‘शुरुमा ४ तालाको भ्यू टावर निर्माण गर्ने गरि डिजाइन बनाइएको थियो’, अध्यक्ष कार्कीले भने, ‘चार तलाबाट सबै दृष्य देख्न नसकिने देखिएपछि एक तला थप गरिएको हो ।’ भ्यू टावर निर्माणमा झण्डै ५० लाख रुपैयाँ हाराहारीमा खर्च हुँदै छ ।

 
पासा दह अर्थात पार्वती कुण्ड र ब्रह्म दहभन्दा माथिल्लो क्षेत्रमा भ्यू टावर निर्माण गरिएको छ । सुदूरपश्चिमका विभिन्न क्षेत्र तथा भारत पिथौरागढ क्षेत्रसम्मका उच्च हिमऋखंलाहरु देख्न सकिन्छ ।


पर्यटक आकर्षण गराउने उद्देश्यले दुहुँ गाउँपालिकाले बम्जीजम्पिसहितको झोलुंगे पुल र सिद्ध टोपीमा भ्यू टावर निर्माणको काम सँगसँगै अघि बढाएको कार्कीको भनाई छ । भ्यू टावरसम्म पुग्न दुहुँ सदरमुकाम हिकिलाबाट २ वटा रुट प्रयोग गरेर पुग्न सकिन्छ । जसअनुसार सिमखोला र सुत्खोला बाटो भएर भ्यू टावर पुग्न पाँच देखि ६ घण्टा लाग्ने गरेको छ ।


यो क्षेत्रसम्म पुग्न पुरानो गोरेटो बाटो छ । गाउँपालिकाले सिद्ध टोपी र भ्यूटावरसम्म पुग्न पर्यटकीय पदमार्ग निर्माणको लागि डिपिआर निर्माण गरेर पर्यटन मन्त्रालयमा पेश गरिसकेको छ ।


पदमार्ग निर्माण, भ्यू टावर र सिद्ध पोखरी भएको क्षेत्रमा पर्यटकीय आवास गृह, शौचालय, लगायत विभिन्न संरचना निर्माण गर्न झण्डै ४ करोड बजेट लाग्ने छ ।


यो बजेट गाउँपालिकाले मात्र खर्च गर्न सक्ने अवस्था छैन । अध्यक्ष कार्कीका अनुसार संघ र प्रदेशबाट सहयोग पाउन सक्यो भने यो क्षेत्रको धार्मिक पर्यटनमा गज्जवको टेवा पुग्नेछ । गाउँपालिकाले भ्यू टावरको संरक्षण तथा सिद्ध पोखरीसम्म घुम्न आउने पर्यटकहरुको लागि व्यवस्थापन तथा पर्यावरण संरक्षण गर्न पर्यटन प्रवद्र्धन समिति बनाउने तयारी पनि गरेको छ ।

अब गाउँमै होमस्टे

गाउँपालिकाले हिकिलामा आन्तरिक पर्यटक तथा बाह्य पर्यटक लक्षित गर्दै होमस्टे निर्माण गर्ने तयारी गरेको गाउँपालिका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष गोविन्द डडालले बताए । बम्जीजम्पिसहितको झोलुंगे पुल हेर्न आउने र सिद्ध ब्रह्म दहसम्म पुग्ने पर्यटकलाई बस्न समस्या हुन नदिन एक दर्जन होमस्टे बनाउने तयारी थालेको हो ।


सिद्ध टोपीसम्म पर्यटकको भारी बोक्ने तथा उनीहरुलाई भूगोलबारे जानकारी गराउन गाईड तालिम दिने गाउँपालिकाको योजना छ । सिद्ध टोपी ब्रह्मदह धार्मिक रुपले अति महत्वको क्षेत्र हो । सिद्ध देउताको प्रमुख बासस्थानको रुपमा सिद्ध टोपी रहेको पाइन्छ । यो क्षेत्रमा गएर बरदान मागे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।