close

६० किलोमिटर बाटोमा सडक बत्ती राख्दै काठमाडौं महानगर

६० किलोमिटर बाटोमा सडक बत्ती राख्दै काठमाडौं महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करिब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्ने भएको छ ।

 

गत २५ मंसिरमा काठमाडौं महानगर, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएसँगै महानगरले बत्ती जडान प्रक्रिया अघि बढाएको हो ।

 

उज्यालो महानगर बनाउन, उज्यालो संघीय राजधानीको चिनारी दिन र मेयर उज्यालो अभियानअन्तर्गत आधुनिक सडक बत्ती जडान अघि बढाइएको काठमाडौं महानगरप्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

 

‘काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायत महत्त्वपूर्ण कामलाई दु्रत गतिमा अघि बढाउने कार्य गरिरहेको छ,’ नगर कार्यपालिकाको ५५ औँ बैठकलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै प्रमुख शाक्यले भने, ‘यातायात व्यवस्थापन, शान्ति–सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायत सेवा–सुविधालाई चुस्त राख्न र सहरी सौन्दर्य अभिवृद्धि गर्न महानगरका मुख्य–मुख्य सडकमा करिब साढे १७ सय आधुनिक बत्ती जडान गर्न टेन्डर प्रक्रियामा छिट्टै जाँदै छ ।’

 
महानगरभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीमा काठमाडौं महानगर र विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने छ । ‘सहमतिअनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरको ६० प्रतिशत र विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ,’ शाक्यले भने, ‘सँगै हामी महानगर क्षेत्रभित्रका अन्य ठाउँमा पनि बत्ती जडानलाई अघि बढाउँदै आएका छौँ ।’


काठमाडौं महानगरका सहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिनेछ ।

 

‘पुतलीसडकदेखि बालुवाटारसम्म र त्रिभुवन विमानस्थलदेखि हायात होटलसम्म पनि पहिलो चरणमै बत्ती जडान गर्छौं,’ थापाले भने, ‘पहिलो चरणमा ६० किलोमिटर क्षेत्रमा करिब १७ सय ५० वटा बत्ती जडान गर्ने तयारी भएको छ ।’

 

थापाले नयाँ बानेश्वर, माइतीघरलगगायत स्थानमा अहिलेकै पोल प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने जानकारी दिए । ‘ती स्थानमा अहिले भइरहेका सोलार प्यानलको पुनप्र्रयोगका लागि स्थान पहिचान गरिरहेका छौँ,’ थापाले भने, ‘पहिलो चरणको बत्ती जडानका लागि ११ करोड रुपैयाँ खर्च हुने भएको छ । अब छिट्टै हामी टेन्डर प्रक्रियामा जाँदै छौँ ।’


सहमतिपत्रमा काठमाडौं महानगर र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरको ६० प्रतिशत र विद्युत् प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ ।

 

त्यसैगरी चालू आवमा विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानीका लागि आवश्यक रकम काठमाडौं महानगरले उपलब्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा विद्युत् प्राधिकरणले गर्ने लगानीमा समायोजन गरिने सहमतिमा उल्लेख छ ।

 

उक्त कार्यका लागि लागत अनुमान तयार गर्ने, प्राविधिक छनोट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षणलगायत कार्य विद्युत् प्राधिकरणले गर्नेछ ।


नयाँ पोल थप्नुपर्ने स्थानमा स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायत संरचनाको निर्माण सडक विभागले गर्ने पनि सहमति भएको थापाले जानकारी दिए ।

 

सहमतिपत्रमा काठमाडौं महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, विद्युत् प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका थिए ।