close

संक्रमितको स्याहार गर्दै आँधीखोला (भिडियो खबर)

संक्रमितको स्याहार गर्दै आँधीखोला (भिडियो खबर)

ADVERTISEMENT

स्याङ्जा- संकटमा सहयोग कति अपरिहार्य हुन्छ ? होइन र ? अझ, महामारीको समयमा त झन् सहयोग र समन्वयले नै यसलाई रोक्न सकिन्छ । अहिले यस्तै, सहकार्य, समन्वय मात्रै होइन अपनत्व लिएर महामारी रोक्न स्थानीय सरकार लागिपरेका छन् ।

 

कोरोना भाइरसले मुलुक आक्रान्त पारिरहँदा कोरोना संक्रमित देख्दा पनि कोसौँ पर भाग्ने समाजको भीडमा स्थानीय तहका जनप्रतिनिधिले भने आफै संक्रमितको स्याहारमा खटिएका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिकाका जनप्रतिनिधिले पनि संक्रमितकाे घरमै पुगेर  स्वास्थ्य अवस्था बुझ्ने, औषधि वितरण गर्ने र स्याहार गर्ने गरेका छन् । 


स्याङ्जाको आँधीखोला गाउँपालिकाले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर औषधि वितरण गरिरहेकाे छ । गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका पंचमुल, चिलाउनेबास, सेतिदोभान र फापरथुमका संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण सुरु गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष आफै बिरामीको घरमा पुगेर प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण र बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिने गर्छन। संक्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क सेनिटाइजर र भिटामिन युक्त औषधि वितरण गर्दा उनीहरूमा रोगलाई जित्ने आत्मबल बढ्ने पालिकाको विश्वास छ । 

 

कोरोनालाई नै लक्षित गरेर सेति दोभानमा २० शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माणको तयारी गरिरहेको र आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च पनि गाउँपालिकाले ब्यहोरेको छ । यसरी गाउँपालिको अध्यक्ष सहितको टोली गाउँमै आएर संक्रमितलाई भेट्दा संक्रमितको समेत आत्मविश्वास बढ्दै गएको छ । 

 

औषधि वितरण सँगै बिरामीको अवस्था बुझ्ने, उनीहरूको खानपानमा परिवारलाई सचेत गराउँदै सरसफाइमा ध्यान दिन अनुरोध गरिएको छ । यसले गर्दा कोरोना संक्रमितलाई हौसला र सकरात्मक प्रभाव परेको स्थानीय बताउँछन् । 

 

यसअघि पनि सङ्क्रमितको घरमै गएर उनीहरूको नियमित स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको गाउँपालिकाले बताएको छ । पालिकाले ८० जना कोरोना संक्रमितलाई अश्वगन्धा चूर्ण र आमलकी, जेठीमधु मिश्रण गरी दुई किसिमको आयुर्वेदिक औषधि वितरण गरिसकेकाे छ।