close

अमेरिका हुइँकिने सपना त्यागेर भैंसीपालन

अमेरिका हुइँकिने सपना त्यागेर भैंसीपालन

Trulli
ADVERTISEMENT

बाग्लुङ - स्वदेशमा रोजगारी नपाएको भन्दै विदेश हानिने नेपाली युवाहरूको लर्को लामै छ । कोरोना महामारीको कारण स्वदेश फर्किएका र गाउँमै रहेकाहरू पनि अवस्था सहज बनेपछि रोजगारीका लागि विदेश जाने तयारीमा छन् ।


तर, कोरोनालाई छल्न गाउँ भित्रिएका तथा विदेशमा रोजगारी गुमाएर फर्किएकाहरू पनि आफ्नै थातथलोमा बसेर कृषि कर्ममा रमाएका धेरै उदाहरण बग्रेल्ती छन् । जागिर नपाएका कारण आफूलाई विदेश जानुको विकल्प नरहेको बताउने युवाका लागि बाग्लुङ नगरपालिका–१४ नारायणस्थानस्थित कैयाका प्रदीप साहनी उदाहरणीय पात्र बनेका छन् ।


अमेरिका जाने चक्करमा लागेर एक सातासम्म काठमाडौं चहारेर फर्किएका सहानीले पैसा कमाउनैका लागि विदेशिनुपर्छ भन्ने मानसिकता त्यागिसकेका छन् । कुनै बेला परिवारको सुखका लागि विदेशिने सोच बनाएका साहनीको दैनिकी अहिले गाईभैंसीको स्याहार र दूध बिक्रीमै अडिएको छ । 


‘मलेसिया र दुबईमा त काम गरेरै आएको हुँ । धेरै कमाइ हुने सोचले अमेरिकामा जान काठमाडौंमै एक साता बसें । काम भएन । त्यसपछि गाउँ फर्किएर गाईभैंसीपालनमा लागें,’ उनले भने ।  गाईभैंसीको दूध बेचेरे अहिले घरमै श्रीमती, छोराछोरीसँग बस्दा अमेरिका पुगेभन्दा बढी खुसी लागेको उनी सुनाउँछन् । सात महिना अघिदेखि गाईभैंसीपालनमा लागेका साहनी छोटो समयमै आर्थिक रूपमा बलियो भएका छन् । गाउँमै बसेर केही गर्न सकेकामा उनी खुसी देखिन्छन् । 


उनको गोठमा अहिले दूध दिने र ब्याउने बेलाका गरेर ३  गाई र ६ भैंसी छन् । व्यावसायिक रूपमा दूध उत्पादन गरेर बिक्री गर्ने सोच बनाएका उनले एउटै भैंसीलाई डेढ लाख रुपैयाँसम्म हाले । गाईभैंसी खरिद तथा घाँसपरालको व्यवस्थापनमा  अहिलेसम्म २० लाख रुपैयाँ खर्च भइसकेको साहनी सुनाउँछन् । 


उनले अहिले एक दिनमै ७० लिटरसम्म बिक्री गर्ने लक्ष्य राखेका छन् । साहनीले दैनिक ३० लिटरभन्दा बढी दूध पर्वत सदरमुकाम कुस्मा बजार र केही घरबाटै बेचिरहेका छन् । ७ महिनाको अवधिमा सबैभन्दा बढी एक महिनामा १ लाख २० हजारको दूधको कारोबार गरेकामा ६० हजार खर्च कटाउँदा ६० हजार रुपैयाँ बचाउन सकेको उनले जानकारी दिए ।


‘विदेशमा महिनाभर पसिना बगाएर मार्केटिङको काम गर्दा ४० हजार पाइन्थ्यो । त्यो पनि के–के पाइयो भनेर खुसी हुनुपथ्र्यो’, साहनी भन्छन्, ‘अहिले परिवारको साथमा बसेर आम्दानी र सन्तुष्टि दुवै मिलेको छ । 


लकडाउनका बेला स्वदेश फर्किएका धेरै तन्नेरीहरूले कृषि कर्ममा लाग्छु भने पनि र स्थानीय तहले उनीहरूलाई कृषिमा लाग्न प्रेरणा दिए पनि त्यसअनुसार नभएको देख्दा सहानीको मन कुँडिन्छ ।


विदेशमा दुःख भोगेर आएका युवाहरूमा काम गर्ने जोश, जाँगर र सीप बढी हुने भएकाले स्थानीय सरकारले उनीहरूलाई कृषिमा लाग्न प्रेरणा र सहयोग गरिदिनुपर्ने उनको सुझाव छ ।