रूपन्देही– मुलुकमा स्थानीय तहको अभ्यास सुरु भएपछि सबैभन्दा बढी चर्चामा रहँदै आएको छ, तिलोत्तमा नगरपालिका । स्थानीय सरकारको असल अभ्यासका कारण देशकै उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानितसमेत भयो ।
स्थानीय तहको कानुन आफैं निर्माण गर्ने सन्दर्भमा होस् वा आर्थिक समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्ने पहिलो स्थानीय तहका रूपमा तिलोत्तमाकै नाम अग्र भागमा आउँछ ।
मध्य भागमा रहेको लुम्बिनी प्रदेशका ठूला बजार बुटवल र भैरहवालाई जोड्ने तिलोत्तमा रूपन्देहीका साविक ७ वटा गाविस (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, टिकुलीगढ, माधवलिया र गंगोलिया) मिलेर गठन भएको हो ।
२५ वैशाख २०७१ मा स्थापना भएको तिलोत्तमा रूपन्देहीको बीच भएर बग्ने नदीको नामबाट नामकरण गरिएको हो । तिलोत्तमा समुद्री सतह १६० देखि १७५ मिटरसम्म उचाइमा अवस्थित छ । पूर्वमा रोहणी नदी र देवदह नगरपालिका, पश्चिममा तिनाउ नदी, सियारी र शुद्धोधन गाँउपालिका, उत्तरी सीमामा बुटवल उपमहानगर एवं दक्षिणमा ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको सीमा छोएको छ ।
नगरपालिका स्थापना र स्थानीय तहको निर्वाचन सम्पन्नपछि जनप्रतिनिधिले गर्व गर्न लायक काम गरेका छन् । यसलाई उदाहरण दिँदै अन्यत्रका स्थानीय तहले समेत तिलोत्तमाजस्तो हुनुपर्छ भन्ने गरेका छन् ।
बुटवल, तिलोत्तमा एवं सिद्धार्थनगर गाभेर महानगरपालिका बनाउने र त्यसको नेतृत्व तिलोत्तमाका मेयर वासुदेव घिमिरेलाई दिइनुपर्ने आवाज उठ्न थालेका छ । तिलोत्तमा स्थानीय कानुन निर्माण गर्ने मुलुकको पहिलो स्थानीय तह हो । यहाँ हालसम्म विभिन्न प्रकारका ८१ वटा ऐन, कानुन, नीति, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड जारी भएका छन् ।
तिलोत्तमा नेपालकै पहिलो पूर्ण सरसफाइउन्मुख तथा शून्य खुला पोलिथिन नगर घोषणा भएको छ । स्थानीयको सहयोगकै कारण मुलुकका अन्य स्थानीय तहले प्रशंसा गरेको र गर्व गर्न लायक काम गर्न सकेको नगर प्रमुख घिमिरे दाबी गर्छन् ।
‘समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर सहर सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ नारासहित दीर्घकालीन सोचका साथ ५ वर्षको आवधिक योजना र १५ वर्षको रणनीतिक योजना निर्माण गरिसकेको छ ।
काठमाडौंबाहिर पहिलो पटक तिलोत्तमाले सफलतापूर्वक लगानी सम्मेलन गरेको छ । लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धताअनुसार सरकारी स्तरमार्फत दुग्ध प्रशोधन केन्द्र, कोल्ड स्टोर निर्माणलगायत विभिन्न परियोजना अघि बढाइएको नगर प्रमुख घिमिरेले बताए । उनले भने, ‘आवश्यकता धेरै छन्, बजेट कम छ । सकेसम्मका काम गरेका छाँै ।’
नगरपालिकाले मुख्य प्राथमिकता दिएको क्षेत्र शिक्षा हो । सामुदायिक विद्यालयका बाल विकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका २५६७ विद्यार्थीलाई हरेक दिन २५ रुपैयाँ बराबरको दिवा खाजाको व्यवस्था गरेको छ ।
जंकफुड निरुत्साहित गरी घरमै बनेका स्वास्थ्यवद्र्धक खाजा प्रयोगलाई प्रोत्साहन गर्न कक्षा १ देखि ५ सम्मका सबै बालबालिकालाई टिफिन क्यारी (खाजा राख्ने बक्स) प्रदान गरेको छ ।
सबै सामुदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन प्रयोग, मावि तह सञ्चालन रहेका २० वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी जडान, दरबन्दी कम रहेका विद्यालयमा नगरपालिकाको शिक्षक अनुदान कोटामा १४ जना शिक्षक नियुक्त गरिएको छ ।
बालविकास केन्द्रका सहयोगी कार्यकर्तालाई नगरपालिकाबाट मासिक ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता थप दिइएको छ । साथै, नगरप्रमुख छात्रवृत्ति कोषबाट हरेक वर्ष सबै सामुदायिक विद्यालयका १–१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड व्यवस्था, यातायात सञ्चालनका लागि १० वटा विद्यालयलाई १०–१० लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ । साना बालबालिकालाई विद्यालयमा आकर्षित गर्न कम्तीमा ३२ इञ्चको टिभीसहित सबै विद्यालयमा बाल विकास कक्षा व्यवस्थापन गरेको छ ।
स्थानीय पाठ्यक्रम कार्यान्वयन, तिलोत्तमा सिटी कलेज स्थापना गर्न भवन निर्माण, संघीय सरकारको सहयोगमा १२ वटा विद्यालयमा विद्यालय नर्स नियुक्तलगायत कार्यक्रम सुरु भइसकेका छन् ।
स्वास्थ्य क्षेत्रमा हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने योजनाका साथ हालसम्म १६ वडामा सरकारी स्वास्थ्य संस्था सञ्चालन गरिसकेको छ । आनन्दवन स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा विकास गर्न अस्पताल भवन शिलन्यास गरिसकेको छ ।
बीपीग्राममा सामुदायिक अस्पताल बनाउन भवन शिलान्यासका साथै वडा नम्बर १ र ८ को २०० बिघा क्षेत्रफलमा संघीय सरकारको नीतिअनुसार सरकारी मेडिकल कलेज बनाउन आवश्यक कार्य सुरु भइसकेको नगरप्रमुख घिमिरेले जानकारी दिए ।
गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुल्क क्याल्सियम चक्की वितरण गरिएको छ । गर्भवती महिलालाई हरेक पटक स्वास्थ्य परीक्षण गराउन जाँदा उपहार प्रदान गर्ने गरी गर्भवतीसँग उपमेयर कार्यक्रम कार्यान्वयन सुरु भएको तिलोत्तमा नगरपालिकाका स्वास्थ्य संयोजक मोती पौडेलले बताए ।
बिउबिजन÷कृषि औजारमा अनुदानलाई साना किसानको पहुँचमा पु¥याउन दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दूधमा १ रुपैयाँ अनुदान व्यवस्था र किसानले वर्षभरि जति लिटर दूध सहकारीमार्फत बेच्छन्, सोहीअनुसार अनुदान प्राप्त गर्न सक्ने व्यवस्था छ ।
भारतबाट आयातीत फूल र मालाको प्रयोगलाई निषेध गरी स्थानीय स्तरमा पुष्प खेती प्रवद्र्धन गर्न नगरका पुष्प व्यवसायी किसानलाई अनुदान दिइएको छ भने नगरभित्र खादा प्रयोगमा रोक लगाइएको नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
पशुपालक किसानले बेहोर्नुपर्ने बिमा शुल्कमा ५० प्रतिशत अनुदान व्यवस्था, ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनमा विभिन्न प्रवद्र्धनात्मक काम गरिरहेको छ ।
हरेक महिनाको १ र १५ गते नगरस्तरीय नियमित सरसफाइ अभियान सञ्चालन गरिएको छ भने टोल विकास संस्थामार्फत समुदायमा आधारित नियमित सरसफाइ कार्यक्रम निरन्तर छ । नगरलाई नेपालकै पहिलो पूर्णसरसफाइ उन्मुखनगर घोषणा गरिसकेको छ ।
नगरमा उद्यमशीलता विकासका लागि विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गरिएको छ । युवामा स्वरोजगारी सिर्जना गर्न नेपाल बैंकसँग सम्झौता गरी लघु कर्जा प्रवाह गरिएको छ ।
साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्न वडा नम्बर १० मा तिलोत्तमा औद्योगिक ग्राम निर्माण सुरु भएको नगरप्रमुख घिमिरेले बताए । नगर प्रमुख दायित्व युवा उद्यमी परिचालन कोष स्थापना गरी युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।
सीपमूलक तालिमलाई रोजगारी र स्वरोजगारी सिर्जनामा टेवा पुग्ने गरी स्रोतलाई प्रभावकारी रूपमा परिचालन गरिएको छ । नौला किसिमका कार्यक्रम र योजनाले तिलोत्तमा नमुना बन्दै गएको उपप्रमुख जागेश्वरी चौधरीले दाबी गरिन् ।
प्रमुख प्रशासनिक कार्यालय परिसरमै बैंकको काउन्टर स्थापना गरी नगरपालिकालाई क्यासलेस बनाइएको छ भने अब सबै ठाउँमा क्यासलेस बनाउने उद्देश्यका साथ क्यूआर कोड वितरण गरिँदै छ ।
ठूला विकासे योजनाका लागि प्रदेश, संघीय सरकार, अन्तर्राष्ट्रिय विकास साझेदारसँग सहयोग मागिएकोे छ । नगरको पहिचानलाई उजागर गर्न आफ्नै नगर गीत र लोगो निर्माण भइसकेको छ । यसै कारण भएको हो, तिलोत्तमा देशकै नमुना र उत्कृष्ट नगरपालिका ।