close

हटियालाई बनाइँदै नमुना उद्यमी गाउँ 

हटियालाई बनाइँदै नमुना उद्यमी गाउँ 

Trulli
ADVERTISEMENT

धादिङ–धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ हटिया गाउँलाई लायन्स नमुना उद्यमी गाउँ बनाइने भएको छ । लायन्स नमुना उद्यमी गाउँ कार्यसमिति धादिङलगायतका लायन्स क्लबले कार्यक्रम आयोजना गरी ४९ घरपरिवार रहेको हटिया गाउँलाई नमुना उद्यमी गाउँ बनाउन सुरु गरेको हो ।

 

गरिबीको रेखामुनि रहेका वर्गलाई लक्षित गरी आयआर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमी परियोजना सुरु गरेको लायन्स क्लबका विश्वेश्वर आचार्यले बताए ।

 

लायन्स क्लबले विभिन्न जिल्लामा उद्यम विकासका लागि काम गर्दै आएकामा धादिङमा पहिलो पटक नीलकण्ठ नगरपालिकाको हटियामा काम सुरु गरेको हो । 

 

स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने अभियान सुरु गरिएको उनी बताउँछन् । पाँच वर्षको अवधिमा हटियालाई नमुना उद्यमी गाउँ बनाउने लक्ष्य राखिएको छ । पहिलो चरणमा कृषि क्षेत्रको विकास गरिनेछ ।

 

कुखुरा, बाख्रा, मौरीपालनलगायत स्थानीय सम्भावनाका आधारमा होमस्टे र उत्पादित सामानलाई बजारीकरण गर्ने कार्य गरिनेछ । भ्युटावर नजिकको हटिया गाउँमा नेवार र गुरुङ जातिको सांस्कृतिक परम्परा रहेकाले पर्यटन विकासबाट आयआर्जन गर्न सकिने उनको भनाइ छ ।

 

कार्यक्रममा नगरप्रमुख भीमप्रसाद ढुंगानाले हटियालाई नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए । क्लबले बाख्रापालन, ट्रयाक्टर, धान झार्ने मेसिनलगायत कृषि औजार र लुगा सिलाउने मेसिन वितरण गरेको छ ।