close

गोदावरीका दलित महिलालाई दिइँदै सीपमूलक तालिम

गोदावरीका दलित महिलालाई दिइँदै सीपमूलक तालिम

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीको गोदावरी नगरपालिकाका दलित महिलाले सीपमूलक व्यवसायमा लागेर आम्दानी गर्न थालेका छन् । चुल्हो–चौकोमै सीमित रहने उनीहरू बचेको समयको सदुपयोग गरेर विभिन्न किसिमका सीपमूलक व्यवसायमा आकर्षित हुन थालेका हुन् ।


वडा र नगरमार्फत दलित महिला लक्षित तालिम आयोजना हुन थालेपछि उनीहरूले कार्यक्रममा सहभागिता जनाउन थालेका हुन् । गोदावरी नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा सञ्चालन भएको डल तथा कुसन तालिम लिएकी विजयनगरकी सुशीलाकुमारी चुनारा विकले सीप सिकेर आयाआर्जन गर्न घरमै बसेर डल तथा कुसन बनाउँदै आएको बताइन् । ‘पहिले घरमा चुल्होचौकाको काममै सीमित थिएँ,’ उनले भनिन्, ‘अब तालिम लिएपछि घरमै बसेर डल बनाउँछु । बजारका लागि तालिममा जानकारी पाएकी छु ।’ 

 

स्थानीय देवी विकले तालिमबाट ५ किसिमका डल तथा कुसन बनाउन सिकेको बताइन् । ‘अझै राम्रोसँग विभिन्न किसिमका डल र कुसन बनाउन सिकेपछि दलित महिला यसरी काम गर्न सक्छन् भन्ने देखाउने सक्ने भएका छौँ,’ उनले भनिन् । बाँसघारी टोलकी बिस्ना विकले अब तालिम पाएपछि डल तथा कुसनको व्यापार गर्ने बताइन् ।

 

‘अब म बजारबाट डल, कुसन बनाउने सामान घरमा लगेर जान्छु,’ उनले भनिन्, ‘घरमा डल, कुसन बनाएर बेच्नेछु ।’ स्थानीय खेमा विकले पहिले महिला लक्षित कार्यक्रम आए पनि थाहा नहुने गरेकामा अहिले दलित महिलाकै लागि कार्यक्रम आउँदा सहभागी हुने अवसर जुटेको बताइन् । ‘पहिले महिलाका लागि के कार्यक्रम आएका छन् भन्ने थाहा हुन्थेन,’ उनले भनिन्, ‘पहिले हामी चुल्होचौकामै सीमित थियाँै । फुर्सद भए पनि खाली बस्थ्यौँ । अब केही गर्न सक्छौ भन्ने लागेको छ ।’

 

वडास्तरीय दलित महिला उपभोक्ता समितिकी अध्यक्ष राजुदेवी विकले वडाभरिका दलित महिलामध्ये २० जनालाई सीपमूलक डल तथा कुसन बनाउने तालिम दिएको जानकारी दिइन् । उनले स्थानीय सरकार आएपछि वडाबाट विगत ३ वर्षमा दलित महिलाका लागि ३ वटा सीपमूलक तालिम सञ्चालन गरिएको बताइन् ।

 

‘अहिले तालिमबाटै सीप सिकेका धेरै दलित महिला आत्मनिर्भर भएका छन् । यस्ता तालिमले अहिले धेरैजसो महिला घरमै बसेर आफ्नो र बच्चाको जीविकोपार्जन गर्न सक्ने भएका छन्,’ उनले भनिन्, ‘म पनि ०६३ देखि महिलाका हकहितका लागि काम गरिरहेकी छु । मैले यो अवधिमा महिलाका लागि विभिन्न कार्यक्रम आए पनि त्यसमा दलित महिला नसमेटिएको देखेँ । त्यसैले अहिले दलित महिलाकै लागि भनेर छुट्टै कार्यक्रम आयोजना गर्ने गरेका छौँ ।’ दलित महिला लक्षित कार्यक्रम आयोजना गर्न थालिएपछि दलित महिला पनि व्यवसाय उन्मुख हुँदै गएको बताइन् ।