close

१० वर्ष रित्तिएको घर फर्केर व्यावसायिक बर्खापालन गर्दै कुशल 

१० वर्ष रित्तिएको घर फर्केर व्यावसायिक बर्खापालन गर्दै कुशल 

Trulli
ADVERTISEMENT

बागलुङ– गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौँ बस्थे । भविष्य खोज्दै १० वर्षअघि सहर पसेका थिए उनी । काठमाडौँ छँदै राना कतार पुगे । त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे । त्यसपछि भने रानाले जागिरे मनस्थिति त्यागे ।

 

जैमिनी नगरपालिका–७ जैदी बोरका रानाले गाउँ फर्कने निधो गरे । १० वर्षपछि थातथलो फिर्दा घर बस्न लायक थिएन । बारी घाँस र झाडीले ढाकिएको थियो । तैपनि रानाको मन मरेन । आफ्नै जन्मथलोमा केही गरि छाड्ने हुटहुटीले रानालाई घच्घचाइरह्यो । जीर्ण बनेको घरगोठ सिँगारे । बाँझो पल्टिएको बारीलाई हराभरा पारे । अब कतै नभौँतारिई गाउँमै आयआर्जनको बाटो समात्ने अठोट उनले लिए । त्यसको पहिलो पाइला रानाले बाख्रापालनबाट चाले । ३७ वर्षीय रानाले व्यावसायिक रुपमा बाख्रापालन थालेको वर्ष दिन बित्यो । उनले चलाएको ‘राना कृषि तथा पशुपछी फार्म’ मा अहिले २२ वटा बोयर जातका बाख्रा छन् ।

 

तीन लाख पर्ने ९० किलोको बोका पनि रानाको फार्ममा छ । १६ महिने त्यो बोकालाई अर्को वर्षसम्म पालेर  चार लाखसम्म पार्ने योजनामा उनी छन् । रानाले उक्त बोका रायडाँडाका किसान चिरञ्जीवी केसीकोबाट गतवर्ष किनेर ल्याएका हुन् । प्रजनन र नश्ल सुधारका लागि बोका पालेको उनको भनाइ छ । फार्ममा बोयर बोका र स्थानीय खरी जातका पाठीबाट नश्ल सुधार गर्ने गरिएको छ । बाहिरका किसानले पाठीलाई प्रजननका लागि बोकासँग ल्याउँदा  एक हजार ५०० सम्म शुल्क तिर्छन् ।

 

खोर निर्माणदेखि फार्मको संरचना तयार पार्दा अहिलेसम्म रु १० लाख लगानी भइसकेको रानाले बताए । ‘अहिले लगानीकै चरणमा छु, ऋणधन गरेर भएपनि फार्मलाई अझ विस्तार गर्ने सोचमा छु’, उनले भने, ‘आउँदो वर्षदेखि बल्ल आम्दानी आउन सुरु होला ।’ बोयर बाख्राको बजार माग र मूल्य बढी छ । व्यावसायिक पालनका लागि पाठापाठीको पनि उत्तिकै खोजी हुन्छ ।

 

रानाले बोयरपालनमा जिल्लाकै ‘नमूना फार्म’ बनाउने लक्ष्य लिएको बताए । घर वरपरको बारी र खाली जग्गामा उनले बाख्रपालनलाई चाहिने उन्नत घाँस खेती गरेका छन् । ‘बाली लगाउन छाडेपछि बाँझो भएको बारीमा अहिले सुपर नेपियर, राई खनियो, बडहरलगायत उन्नत जातका घाँस खेती भइरहेको छ’, उनले भने  । बोयर बाख्रालाई उच्च प्रोटिनयुक्त घाँस चाहिने भएकाले २५ रोपनी क्षेत्रफलमा उन्नत जातको घाँसखेती गरेको उनको भनाइ छ । 

 

जैमिनी नगरपालिकाका पशु प्राविधिक नेत्र आचार्यका अनुसार बोयरको तौल र शारीरिक वृद्धि छिटो हुन्छ । ‘बोयर बाख्रा दिनमा एक सय ५० देखि दुई सय ग्रामसम्म बढ्छ, दुई वर्षमा एक सय २० किलोसम्म हुन्छ’, उनले भने । पशु प्राविधिक आचार्यले पहाडी हावापानीमा बोयर जातको बाख्रापालन फस्टाउने गरेको बताए । बाख्रापालक किसानलाई खोर सुधार, घाँस, औषधिलगायतमा अनुदान दिएर नगरपालिकाले सघाउँदै आएको उनको भनाइ छ । 

 

जैदीको धवलागिरि कृषि सहकारीमार्फत व्यावसायिक बाख्रापालनमा किसानले सहायता पाउँदै आएका छन् । सहकारीले गत वर्ष तीनवटा बोयर जातका बोका गाउँमा वितरण गरेको थियो । रानाको फार्मले पनि यो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु एक लाख अनुदान पाएको छ । धन कमाउने आशमा धैरेतिर हण्डर खाएपछि घर फर्केर आफैँ उद्यम गर्न कस्सिनुभएका रानाको मेहेनत देखेर छरछिमेकी पनि दङ्ग छन् । सहर पसेका उनी यसरी गाउँ फर्केलान र झण्डै बिर्सिसकेको घरबारी सम्हाल्नान भनेर धेरैले पत्याएका थिएनन् । रानाका लागि भने सहरको सङ्घर्ष त्यति सजिलो थिएन । 

 

श्रीमती माया र दुई छोरालाई काठमाडौँमै छाडेर गाउँ फर्कनु अर्को चुनौती थियो, रानालाई । आखिर, आँट र सपनाले डोर्‍याएर उनलाई आफ्नै जन्मथलो ल्याइपुर्‍यायो । गाउँको घरमा अहिले राना एक्लै बस्छन् । ‘बुवाआमा बितिसक्नुभयो, एउटा दाइ उहाँ पनि काठमाडौँ हुनुहुन्छ, श्रीमती, छोराहरु उतै बसेर पढ्छन्’, उनले भने । घरधन्दादेखि बाख्राको स्याहारसुसार उनी एक्लैले भ्याउँछन् । ‘कामले गर्दा खासै फुर्सद हुन्न, यसमै खुसी छु, आफ्नै गाउँठाउँमा रमाएको छु’, रानाले भने ।