close

भीमफेदीका ९८ मजदुर सामाजिक सुरक्षा कोषमा आवद्ध

भीमफेदीका ९८ मजदुर सामाजिक सुरक्षा कोषमा आवद्ध

Trulli
ADVERTISEMENT

मकवानपुर- भीमफेदी गाउँपालिकाले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । शनिबार औपचारिक कार्यक्रम गरी संघीय संसदका सभामुख देवराज घिमिरेको प्रमुख उपस्थितीमा पालिकाले अनौपचारिक क्षेत्रका श्रमिकका लागि योगदानमा आधारित सुरक्षा कोष कार्यान्वयनमा ल्याएको हो ।

यससँगै भीमफेदी गाउँपालिकामा योगदानमा आधारित अनौपचारिक क्षेत्रका ९८ श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो । अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् एक हजार १९० रूपैयाँ र भीमफेदी गाउँपालिकाले ९.३७ प्रतिशत अर्थात् एक हजार १४ रूपैयाँ गरी दुई हजार २०४ रूपियाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ । 

गाउँपालिकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा योगदानमा आधारित श्रमिक कोष बजेट शीर्षकमा १३ लाख बजेट विनियोजन गरेको भीमफेदी गाउँपालिकाकी प्रधानमन्त्री रोजगार शाखा संयोजक रविना रुचाल मगरले पालिकाखबरलाई जानकारी दिइन् । 

यो कोषमा आवद्द भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।

गाउँपालिकाले गत साउन ३० गते सो कार्यक्रमका लागि सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार गत कातिक २३ गते श्रमिकहरूको आवेदन माग गरेको थियो । १०० जनाको आवेदनको अपेक्षा राखिएकोमा ९८ जनाले आवेदन दिएका थिए । उनीहरूलाई गाउँपालिकाले शनिबारदेखि औपचारिक रुपमा आवद्ध गराएको गाउँपालिकाले जनाएको छ ।  

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको बचत गर्ने बानीको विकास गर्न, सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न र उनीहरुको आर्थिक तथा सामाजिक जोखिम न्यूनीकरण गर्न योजना कार्यान्वयनमा ल्याइएको शनिबारको कार्यक्रममा बोल्दै अध्यक्ष हिदम लामाले बताए । 

भीमफेदी सामाजिक सुरक्षा कोष कार्यान्वयनमा ल्याउने दोस्रो गाउँपालिका बनेको छ । यस अघि स्याङजाको फेदीखोला गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेको थियो ।

तस्बिर: रविना रुचाल मगर/गाउँपालिकाकी रोजगार संयोजक