close

जुम्ला कांग्रेसको वडा तहमै युवा नेतृत्वको दबदबा

जुम्ला कांग्रेसको वडा तहमै युवा नेतृत्वको दबदबा

Trulli
ADVERTISEMENT

जुम्ला– पटक–पटक तिथिमिति सर्दै आएको सत्तारुढ नेपाली कांग्रेसको हाल नेपालभरका स्थानीय तहमा नेतृत्व छनोटका लागि चुनाव भइरहेको छ । कांग्रेसको आगामी १४औँ महाधिवेशनमा केन्द्रीय, प्रदेश र स्थानीय नेतृत्व छान्नका लागि वडा तहमा भइरहेको चुनावमा युवा पंक्तिले बाजी मारिरहेको छ ।


जुम्लाको पालिकामा रहेका ६० वटा वडामै कांग्रेसको वडा तहको महाधिवेशन सम्पन्न भइसकेको छ । चन्दननाथ नगरपालिका ४ नम्बर वडाका क्रियाशील सदस्य ३३ वर्षीय दीपेन्द्रविक्रम हमाल वडा सभापतिमा चयन भएका छन् ।


नेविसंघमा क्रियाशील हमाल १४औँ महाधिवेशनमा वडा सभापतिमा चयन भएका हुन् । यसअघि उनी कांग्रेसको जुम्ला–काठमाडौं सम्पर्क समितिको उपसभापति रहँदै आएका थिए । यस्तै, चन्दननाथ नगरपालिका १० नम्बर वडामा पनि युवा नेता दुर्लभ खत्री वडा सभापतिमा चयन भएका छन् ।


कनकासुन्दरी गाउँपालका वडा नम्बर ८ को वडा सभापतिमा मात्रिका उपाध्याय चुनिएका छन् । यी पनि युवा नै हुन् । अहिले कांग्रेसको वडा तहको नेतृत्वमा युवा सक्रियता देखिएको नवनिर्वाचित वडा सभापति हमालले बताए । उनले भने, ‘सबैको साथ, सहयोगले वडाको नेतृत्व लिन सफल भएँ । अब स्थानीय, प्रदेश र केन्द्रसम्मै कांग्रेसमा पुस्तान्तरण हुनुपर्छ ।’


तीला गाउँपालिका वडा नम्बर २ को वडा सभापतिमा पनि युवा नेतृ चयन भएकी छन् । पहिलो पटक कांग्रेसले महिला वडा सभापति चयन गरेको हो । शुक्रबार सम्पन्न वडा अधिवेशनबाट कांग्रेस नेता÷ कार्यकर्ताले २६ वर्षीया सीता रावतलाई निर्विरोध वडा सभापतिमा चयन गरे ।


रावत जुम्लाको ६० वटा वडाको एक मात्र महिला वडासभापति बनेकी हुन् । सानै उमेरमा नेविसंघको राजनीतिमा लागेकी रावत पछिल्लो समय निस्क्रिय भए पनि दुई वर्षदेखि सक्रिय हुँदै आएकी थिइन् । ‘१२ कक्षासम्म पढेर खेतीपाती गर्दै आएकी छु’, उनले भनिन्’, यो पटक सबै नेता÷कार्यकर्ताले पत्याएपछि वडा सभापतिको जिम्मेवारीमा पुगेँ । अब वडाबाटै माथिसम्म कांग्रेसको भविष्य बनाउने जिम्मेवारी युवा पुस्तामा जानुपर्छ ।’ 


माइतीघर हिमा पालिकाकी उनी हाल पराई घर तिला गाउँपालिकाको वडा नम्बर २ लर्मी गाउँमा बस्दै आएकी छिन् । नेविसंघको राजनीतिमा उनी वडास्तरीय समितिको कोषाध्यक्षसम्म पुगेकी थिइन् । उनले भनिन्, ‘नेता÷कार्यकर्ता साथीहरूले पत्याएर सभापतिको जिम्मेवारी दिएका छन् । कांग्रेसलाई आप्mनै बलबुँतामा उँभो लैजान केन्द्रको नेतृत्वलाई दबाब दिनुपर्छ ।’


महिलालाई राजनीतिमा ल्याएर जागरुक बनाउन र असल राजीतिक चरित्रबारे नागरिकमा जागरण फैलाउन पहल गर्ने उनले सुनाइन् । वडा सभापतिमा उठेको २ मध्ये अर्का आकांक्षी मानबहादुर बोहरालाई हराएर उनले बाजी मारेकी हुन् । बोहरा वडाको तदर्थ समितिको सभापति हुन् । सीताले वडा सभापतिको उम्मेदवारी दिएपछि बोहराले छाडेसँगै निर्विरोध भइन् । जुम्लामा रहेका ६० वटामध्ये सीता एक्लो वडा सभापति हुन् ।


कांग्रेस तिलाको वडा नम्बर २ ले सीताको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति र १७ सदस्यीय क्षेत्रीय प्रतिनिधि गठन गरेको छ । कांग्रेस क्षेत्रीय प्रतिनिधि कल्से रावतले तिलाको वडा नम्बर २ ले महिला वडा सभापति बनाएर उदाहरण प्रस्तुत गरेको बताए । उनले भने, ‘विकट बस्ती जुम्लामा राजनीति गर्ने महिला कमै भेटिन्छन् । सीता एक उदाहरण हुन् । उनको पार्टीप्रतिको लगनशीलता र अठोटका कारण वडा सभापति बन्न सकेकी हुन् । यसले कांग्रेसको जुम्ली राजनीतिमा नयाँ तरंग आउने आशा पलाएको छ ।’