close

ताप्लेजुङमा जिसस उपप्रमुखसहित ९ जनाले रोजे नेकपा एकीकृत समाजवादी

ताप्लेजुङमा जिसस उपप्रमुखसहित ९ जनाले रोजे नेकपा एकीकृत समाजवादी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–ताप्लेजुङमा जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित स्थानीय तहका ९ जनाले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । 

 

सनाखत गर्नेमा अधिकांश मेरिङ्देन गाउँपालिकाका छन् । जिसस उपप्रमुख नेपाली, मेरिङ्देन गाउँपालिका वडा नम्बर ६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, जिल्ला समन्वय समिति सदस्य निमातेञ्जी शेर्पा, मेरिङ्देन गाउँपालिकाका प्रवक्तासमेत रहेका कार्यपालिका सदस्य सूर्यमान बराइलीले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

 

मेरिङ्देनका कार्यपालिका सदस्य दोर्जी शेर्पा, मेरिङ्देन वडा नम्बर ३ खाम्लुङका वडा सदस्य गजेन्द्रकुमार नाल्वो र सोही वडाका दलित महिला सदस्य दिलमाया नेपाली माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएका हुन् ।


यस्तै, मेरिङ्देन गाउँपालिका वडा नम्बर २ का वडा सदस्य पूर्णबहादुर कामी र मेरिङ्देन वडा नम्बर १ का वडासदस्य मानबहादुर लिम्बू पनि नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 


३२१ जना जनप्रतिनिधि निर्वाचित हुने ९ स्थानीय तह रहेको ताप्लेजुङमा २०७४ को स्थानीय तहको निर्वाचनमा ५ प्रमुख, अध्यक्ष र ५ उपाध्यक्षसहित नेकपा एमालेले १७३ पदमा विजय हासिल गरेको थियो ।


स्थानीय तहका प्रमुख र उपप्रमुख, उपाध्यक्षको मताधिकारमार्फत चयन हुने जिल्ला समन्वय समितिमा एमालेले प्रमुख, उपप्रमुखसहित ९ पदमै एकलौटी विजय हासिल गरेको थियो । 

 

एमालेले २९ वडाका वडाध्यक्ष र १३४ सदस्यीय पद जितेको थियो । कांग्रेसले ४ अध्यक्ष, २ उपाध्यक्ष, २६ वडाध्यक्ष र ९५ जना सदस्य गरी कुल १२७ जनप्रतिनिधि निर्वाचित गराएको थियो । 

 

यस्तै, माओवादी केन्द्रले २ उपप्रमुख, उपाध्यक्ष, ५ वडाध्यक्ष र ९ सदस्यसमेत गरी १६ जना जनप्रतिनिधि निर्वाचित गराउँदा तत्कालीन नयाँ शक्ति पार्टीले १ वडाध्यक्ष र २ सदस्य गरी ३ र संघीय लिम्बूवान मञ्च नेपालले २ जना सदस्य जनप्रतिनिधिका रूपमा निर्वाचित भएका थिए ।